बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी कार्यालय बन्द गरेर मुस्ताङ भ्रमणमा

अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी कार्यालय बन्द गरेर मुस्ताङ भ्रमणमा

अहिलेसम्म ९ प्रतिशत विकास बजेट खर्च ।


  • हरिकृष्ण गौतम
  • बैशाख ९ २०७८, बिहिबार
मुस्ताङ भ्रमणमा रहेका जनप्रतिनिधि सहितको टोली ।

बेनी, ९ बैशाख– नेपाली समाजमा एउटा उखान लोकप्रिय छ, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर । गर्नुपर्ने काम एउटा छ, अर्कै काम गर्नेलाई त्यस्तो उखानले सम्बोधन गर्ने चलन छ । त्यस्तै भएको छ म्याग्दीको एक गाउँपालिकामा । चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई बन्द गरेर विना उदेश्य घुमघाममा निस्किएका छन् ।

गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको दश लाख बिनियोजन भएको स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न छिमेकी जिल्ला मुस्ताङका स्थानीय तहहरुसँग अन्तरक्रिया गर्ने निर्णय कार्यान्वयनको बिाहनामा मुक्तिनाथ तिर्थयात्रा र कोरला नाकाको भ्रमणमा निस्किएका हुन् । मुस्ताङका स्थानीय तह भ्रमण बाहना मात्रै बनेको छ । मुस्ताङका स्थानीय तहले सिक्ने नयाँ र नौलो कुनै अभ्यास गरेको पाइदैन् । राजनीतिक रुपमा अनुभव कम तथा नियमित विकासका योजनामा समेत कर्मचारीमा निर्भर हुनुपर्ने बाध्यतामा रहेका स्थानीय तहको भ्रमण भन्दै ठूलो रकम विनियोजन गर्नु नै गाउँपालिकाको नितिगत भ्रष्टचार भएको जानकारहरु बताउँछन् ।

बुधबार कार्यालयमा अति आवश्यक पर्ने प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले उपल्लो मुस्ताङ स्थित कोरला नाकासम्म पुगेर बैशाख ११ गते फर्कने कार्यक्रम बनाएका छन् । महिनौ अघि काम सकेका उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई भुक्तानी गर्न नसकेको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको मुस्ताङ यात्रालाई बजेट सक्ने भ्रमण वडास्तरमै आलोचना भएको छ । गत फागुनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदी सरुवा भएर गएपछि डेढ महिनासम्म प्रशासनिक नेतृत्व बिहिन बनेको थियो ।

गत चैत २० गते मुख्यमन्त्रीको कार्यालय पोखराबाट सुरुण शर्मा पौडेल अन्नपूर्णमा प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन आएका थिए । पौडेलले कार्यालयमा बसेर नियमित काम गर्न नसक्दा गाउँपालिकाका पदाधीकारी, जनप्रतिनिधि देखि राजनीतिकर्मी र सरोकारवालाहरुले उनको कार्यशैलीप्रति टिप्पणीसँगै बिरोध गर्न थालेका छन् । राजनीतिक पहुँच देखाउँदै आउने प्रशासकीय अधिकृतले जनप्रतिनिधिको भावना अनुसार काम गर्न आनकानी गरेको बताएका छन् ।

उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका अध्यक्ष सहित कार्यपालिकाका १२ जना सदस्य सहभागि भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेलसँगै करिब दुई हप्ता अघि मात्रै मुस्ताङ घुमेर फर्कनुभएका लेखा अधिकृत जय सुबेदी, शिक्षा शाखाका भरत पुन र अन्य दुई जना कर्मचारी पनि सहभागी छन् । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका अध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा सहभागी छैनन् ।

यता प्रमुख प्रशासकीय शर्माले वार्षिक कार्यक्रम र स्विकृत बजेट अनुसार कार्यापालिकाको बैठकले निर्णय गरेर मुस्ताङका सबै स्थानीय तहमा अन्तरक्रिया गर्न आएको बताए ।उनले आएपछि पनि आएका उपभोक्ता समिति, निर्माण ब्यवसायी र आपुर्तिकर्तालाई भुक्तानी गरेका गरेको दावी गरेका छन् । गाउँपालिकाका अधिकांस उपभोक्ता समितिका पदाधीकारीले दुई महिनाअघिनै काम सकेपनि कहिले प्रशासकीय अधिकृत नहुने र आएपछि पनि बैठक, गोष्ठि, तालिमको बाहनामा कार्यालयमा नबसेकाले भुक्तानी नपाउँदा निर्माण सामग्री बिक्रेता र मजदुरलाई ज्याला दिन नसकेको गुनासो गर्ने गरेका छन् । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्रशासकीय र लेखा अधिकृतलाई कामको चाप भएको बेला भ्रमणमा नजान अनुरोध गरेको बताए । वडा अध्यक्षहरुले भने कार्यवाहकलाई जिम्मा दिएर आएकाले वडाको नियमित काममा असर नपर्ने प्रतिक्रिया दिदै उपभोक्ता समितिहरुलाई सम्बन्धित वडाका अध्यक्षहरुले ब्यवस्थापन गरेको बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा पछिल्लो समय कर्मचारीहरुको अराजकता र लापरबाही बढेको गुनासो बढेको छ । बिदा हुनुभन्दा एक दिन अघिनै कार्यालयबाट निस्कने केही कर्मचारीहरु बिदा सकिएको भोलीपल्ट दिउँसो दुई बजेतिर कार्यालयमा हाजिर हुने गरेको स्रोतले बताएको छ । यसैगरी एकै जना कर्मचारीले एकै महिनामा २४ दिनसम्मको भ्रमण भत्ता खाएको महालेखा परिक्षकको टोलीले औल्याएको छ । विभिन्न बाहनामा स्थानीय तहलाई बजेट मागेर, बिल भुक्तानी गर्न दवाव दिने र लगाएर लाचार बन्दै गएको जिल्ला प्रशासन कार्यालय, म्याग्दी पालिकाका कर्मचारीहरुको बेतिथि नियन्त्रणमा निरिह र मुखदर्शक भएर बसेको टिप्पणी हुन थालेको छ । मुस्ताङका स्थानीय तहमा भ्रमण तथा अवलोकन गर्ने बाहना भएपनि टोली सिधै कोरला नाकामा जाने तयारीमा रहेको टोलीका एक सदस्यले बताए ।

विकास खर्च जम्मा १५ प्रतिशत

चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको छ ।बैशाखको सुरुमा प्राप्त विवरण अनुसार पुजिगत (बिकास बजेट) तर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको अन्नपूर्णले जम्मा दुई करोड ३५ लाख १६ हजार ४०० रुपैयाँ अर्थात १५ प्रतिशत बजेट खर्च गरेको छ ।

जुन खर्चको अवस्थालाई लाजमर्दो मानिएको छ । त्यसैगरी नौ महिनाको अबधीमा चालु तर्फ २९ करोड ५६ लाख ७५ हजार ६३० रुपैयाँ बजेट बिनियोजन गरेकोमा नौ करोड ५० लाख २६ हजार ५६ अर्थात ३२ प्रतिशत खर्च गरेको छ । अन्य स्थानीय तहहरुले पुँजिगत तर्फ सरदर तीस प्रतिशत बजेट खर्च गर्दा सबैभन्दा कम बिकास बजेट परिचालन गर्नेमा अन्नपूर्ण गाउँपालिका पहिलो नम्बरमा आउँछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->