पोखरा, १० वैशाख– माधव नेपाल–झलनाथ खनाल नेतृत्वमा रहेको एमाले कास्कीले नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसमा ५ जना पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वेगनासतालका ९९ वर्षीय देविदत्त तिवारी, हंसपुरका ८४ वर्षीय तेजबहादुर गुरुङ, बुढीबजारका ८१ वर्षीय रुद्रमोहन भट्टराई, पुरञ्चौरका ७७ वर्षीय मीनराज पौडेल र निर्मलपोखरीका ७६वर्षीय लेखनाथ पोखरेल रहेका छन् । आफ्नो सिंगो जीवन नै कम्युनिष्ट आन्दोलनमा बिताएका, सम्मानित जीवन बाँचेका तथा कहिल्यै कुनै दाग नलागेकाले उनीहरुलाई सम्मानित गरिएको कास्की अध्यक्ष धनराज आचार्यले बताए । पुरुञ्चौरका मीनराजले त २० वर्ष तत्कालीन मालेमा लागेर भूमिगत जीवन नै बिताएका थिए ।
भर्चुअल माध्यमबाट सम्मान कार्यक्रममा सहभागिता जनाएका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दक्षिणपन्थी धार समात्नेहरुले पार्टी नै ध्वस्त बनाउन खोजेको चर्चा गर्दै अहिले प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी धारको नेतृत्व गरेको आरोप लगाए ।
‘अहिले हामी कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थीहरुबाट बचाउन लागिरहेका छौँ’, समानान्तर गतिविधि चलाइरहेका उनले भने,‘बाहिरबाट हेर्दा यो लडाईं पद र प्रतिष्ठाको लागि भनिए पनि खासमा हामी कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन चाहन्छौं ।’
नेपाली कम्युनिष्ट आन्दोलनमा धेरैपटक उतार–चढाव आएको र पार्टी टुक्रिएको प्रसंग झिक्दै उनले भने, ‘अहिले हामीले नेतृत्व गरेको धारले मात्रै पार्टी बच्छ, कम्युनिष्ट आन्दोलन सशक्त बन्छ ।
कार्यक्रममा बोल्दै एमाले कास्कीका अध्यक्ष धनराज आचार्यले कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिन आफूहरु सही विचार र सही टिमसहित अघि बढेको बताए । विशेष परिस्थितिमा नचाहँदा– नचाहँदै एउटै जिल्लामा एमालेकै नाममा दुईवटा संस्था बनाउन आफूहरुलाई बाध्य पारिएको पनि उनको जिकिर थियो ।





