पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । नयाँ प्रजातिका भाइरस देखिएपछि संक्रमण झनै बढ्ने जोखिम स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले औँल्याएको छ ।महाशाखाले देशभर कोरोना संक्रमणको अवस्थाबारे नियमित तथ्यांकीय विश्लेषण, रोग पहिचान, कन्ट्याक्ट ट्रेसिङलगायत काम गरिरहेको छ । संक्रमणको विद्यमान अवस्था र जोखिमबारे महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल के भन्छन् त ?
कोरोना महामारीको अहिलेको अवस्था कस्तो छ ?
अहिले दैनिक संक्रमितको संख्या बढ्दो छ। परीक्षणको १० प्रतिशतभन्दा बढीमा संक्रमण देखिन थालेको छ । हामीले गरेको नियमित निगरानीमा नयाँ भेरियन्टहरु पनि देखिएको छ । नयाँ भेरियन्ट बढ्दो क्रममा देखिएको छ। यो चुनौतीपूर्ण कुरा हो । प्रारम्भिक रिपोर्टमा अस्पतालका आईसीयूमा भएकाहरु पहिलेको भन्दा फरक देखिएका छन् । अहिले आईसीयू–भेन्टिलेटरमा भएकामध्ये आधाजसो मानिसहरु ५० वर्षभन्दा कम उमेरका छन् । ‘यस्तै रहेछ कोरोना’ भनेर जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याइँ गर्न नहुने अवस्था आएको छ ।
नियामक निकाय पनि अझै बढी चनाखो र जनस्वास्थ्यको मापदण्ड पालना नगर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्छ कि जस्तो देखिन्छ । नेपालगञ्जमा बेडको क्षमता भरिएको छ । यही स्थिति रहने हो भने भोलि हाम्रो स्वास्थ्य प्रणालीले थाम्न गाह्रो हुने हो कि भन्ने पनि डर हुनसक्छ । त्यो हिसाबले सचेत, सजग, जिम्मेवार हुनुपर्छ । स्थानीय तहले बाहिरबाट आएकालाई होम क्वारेन्टिन, आइसोलेसन, होल्डिङ सेन्टर, इन्भेस्टिगेसन गर्नमा सहयोग पनि गर्नुपर्छ ।
संक्रमणको दोस्रो चरण सुरु भएकै हो ?
अहिले संक्रमणको बढ्दो ट्रेन्ड छ । त्यो हिसाबले दोस्रो चरणमा प्रवेश गरेको भनेर पनि बुझ्न सकिन्छ । अथवा हाम्रो संक्रमण उकालो लाग्दो छ । यो दोस्रो चरणको इन्डिकेटर हुनसक्छ । त्यसैअनुरुप हामी सजग हुनुपर्ने आवश्यकता छ ।
संक्रमणको पहिलो र दोस्रो लहरमा के भिन्नता छ? असर कस्तो हुन्छ ?
पहिलो चरण भन्दा दोस्रो चरणमा धेरैले कोरोनाबारे धेरैथरी कुरा थाहा पाएका छन् । दुई लाख ८० हजार बढीलाई संक्रमण नै भइसकेको छ । दोस्रो चरणमा पहिलेको भन्दा नयाँ भेरियन्टहरु थपिएका छन् । भाइरसले स्वरुप परिवर्तन गरिराख्ने भएकाले यो नेचुरल पनि हो । तर, नयाँ भेरियन्टहरु बढी संक्रामक हुने देखिएकाले जोखिम झनै बढेको छ । दोस्रो चरणमा हामीसँग एक वर्षको अनुभव थियो । पोहोर यसबेला एउटा केस देखिँदा मुलुक लकडाउनमा गएको थियो । अहिले यत्रो धेरै केस देखिसकियो तरपनि सबै क्षेत्र खुला छ। त्यसैले जोखिम झनै बढी छ ।
कतिपय स्थानमा हामीले चाहेर पनि जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न नसक्ने अवस्था छ । ती ठाउँहरु खोलिराखेका छौँ । खोल्नुपर्ने बाध्यता छ । धेरैले आफ्नो कमाइ जान्छ कि भन्ने हिसाबले लिइरहेका छन् । तर, स्वास्थ्य सबैभन्दा ठूलो धन हो । मान्छे नै बिरामी भयो, अस्पतालमा धेरै खर्च गर्नुप¥यो, मृत्यु भयो भने त्यो सम्पत्ति काम लाग्दैन । त्यसैले सबैले एकदमै सचेत हुनुपर्ने अवस्था छ ।
डबल म्युटेन्ट र नयाँ भेरियन्टको भाइरस नेपालमा पनि देखियो भनिएको छ, यसको असर कस्तो हुन्छ ?
नयाँ भेरियन्टको परीक्षणका लागि हामीले हङकङ पठाएका नमूनाको नतिजा आउँदा ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ देखिएको छ । यो भेरियन्टको भाइरस बढी संक्रामक हुने भएकाले छिटो धेरैमा फैलिने जोखिम हुन्छ । भारतमा तीव्र रुपमा संक्रमण फैलिनुमा डबल म्युटेन्ट जिम्मेवार रहेको कुरा आएको छ । यूके भेरियन्टले चाहिँ कम उमेरका बालबालिका, युवाहरुमा पनि संक्रमण हुने, उनीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा पु¥याउने गरेको छ । विभिन्न अध्ययनहरु हुन अझै बाँकी छन् तर नयाँ भाइरसले छिटो धेरैलाई असर पु¥याउन सक्छन् भन्ने पक्का हो ।
यिनै भाइरसका कारण युवा तथा बालबालिकामा संक्रमण देखिने क्रम बढेको हो ?
टेकुलगायत अस्पतालहरुको आईसीयूमा रहेकाहरुमध्ये आधाजति ५० वर्षमुनिका छन् । विभिन्न विद्यालयका शिक्षक, विधार्थीहरुमा पनि संक्रमण बढ्दो छ । सामान्य अवस्थामा यसअघि जसलाई रोगबाट धेरै जोखिम हुँदैन भन्ने गरिन्थ्यो, यसपटक त्यही युवा उमेर समूहमा बढी संक्रमण देखिएको छ । सोही कारण नयाँ भेरियन्टको संक्रमणको चपेटामा युवा तथा बालबालिका परेको देखिन्छ ।
बच्चा र युवामा बढी संक्रमण देखिन थालेपछि भौतिक रुपमा शैक्षिक संस्था पनि बन्द गर्नुपर्ने अवस्था हो ?
विद्यालयजस्ता कतिपय स्थानमा हामीले चाहेर पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न सक्दैनौँ । ती स्थानमा स्थानीय निकायले जोखिमको अवस्था हेरेर आवश्यक निर्णय लिनुपर्ने हुन्छ । त्यसमा विद्यालय पनि पर्न सक्छ । कक्षा कोठामा कत्तिको स्पेस छ । कत्तिको जनस्वास्थ्यका मापदण्ड पालना गर्नसकिन्छ। कति हाम्रा विद्यार्थीहरु पालना गर्छन्। यी सबै कुरा विचार गरेर विद्यालय बन्दसम्बन्धी निर्णय गर्नुपर्छ ।
संक्रमण देशभित्र धेरै बढिरहेको छ कि बाहिरबाट आइरहेको छ ?
दुवैमा संक्रमण देखिएको छ। सबैभन्दा धेरै त देशभित्रै छ । सबैभन्दा बढी काठमाडौँमा छ । अहिलेपनि दैनिक संक्रमणमा आधाजसो उपत्यकाकै हुने गर्छन् । त्यसपछि भारतसँग सीमा जोडिएका अन्य जिल्लामा संक्रमण देखिएको छ । देशभित्रै देखिएको नै छ त्यसमा भारतबाट आउनेहरुबाट थपिने क्रम पनि बढ्दो छ ।
दैनिक ११ हजारसम्म संक्रमण पुग्न सक्ने आकलन कसरी गर्नुभयो ?
यदि हामी यसरी नै खुला रहने हो र जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्ने हो भने सबैभन्दा खराब अवस्थामा दैनिक संक्रमण त्यहाँसम्म पुग्नसक्छ भन्ने आकलन हो । त्यो अवस्थामा पुग्न नदिन हामी एकदमै सचेत हुन आवश्यक छ । हामी पनि त्यो अवस्था आउन नदिन काम गरिरहेका छौँ ।
भारतलगायत अन्य मुलुकबाट आउनेहरु सरासर घर पुगिरहेको अवस्थामा त्यसले त संक्रमण झनै बढाउने भयो नि, होइन?
सबैलाई क्वारेन्टिन गर्न सकिँदैन । हामीले देशमा भएको जनशक्ति, स्रोत, साधनको पनि विचार गर्नुप¥यो । विदेशबाट विभिन्न नाका हुँदै दैनिक ५ हजार बढी आउनुहुन्छ । त्यतिलाई क्वारेन्टिनमा राख्न सम्भव हुँदैन । यसमा व्यवहारिक हुनुपर्छ । उहाँहरुले घरमै क्वारेन्टिन बस्नुपर्छ । त्यही भएर घर जाँदासम्म मास्क लगाउनुस् भनेर हामीले सीमामै १० वटा मास्क दिने व्यवस्था गरेका छौँ । मास्क मात्रै लगाइदिनुभयो भने धेरै कमलाई संक्रमण सर्ने सम्भावना हुन्छ । जोखिम देशभित्रै पनि छ । भारतसँगको सबै खुला सिमानामा रोकटोक पनि सकिँदैन । मुख्य नाकाहरुमा शंकास्पदलाई क्वारेन्टिन र आइसोलेसनमा राख्न भनेर हामीले प्रदेशलाई अधिकार र बजेट पनि उपलब्ध गराइसकेका छौँ। उहाँहरुले त्यसको व्यवस्थापन गर्नुहुन्छ ।
त्यसो भए उपत्यका लगायत देशभर केही समयदेखि बन्द रहेका संस्थागत आइसोलेसनहरुलाई पुनः खुलाउनुपर्ने अवस्था हो?
हो, हामीले खुलाउन भनिसकेका छौँ । स्थानीय निकायहरुले खोल्ने तयारी पनि गर्नुभएको छ । उपत्यकाको हकमा कीर्तिपुरको आइसोलेसन खोलिसक्यौँ । त्यहाँ मान्छे पनि राखिसक्यौँ । अन्यको हकमा उपत्यकाभित्रैका स्थानीय तह र स्वास्थ्य कार्यालयले आवश्यकताअनुसार खोल्ने र व्यवस्थापन गर्ने काम गर्नुहुन्छ । स्वास्थ्य कार्यालय र महानगरलाई पनि हामीले जोखिमयुक्त स्थान पहिचान गरी परीक्षण बढाउँन भनेका छौं ।
पुनः आइसीयू–भेन्टिलेटरहरुको अभाव हुने अवस्था देख्नुहुन्छ ?
तथ्याङ्कमा हेर्दा अहिलेसम्म त्यस्तो देखिन्न । तर, यही क्रम जारी रह्यो भने नहोला भन्न सकिँदैन । त्यो नहोस् भनेर बेलैमा हामी सचेत हुनुपर्ने अवस्था छ ।





