बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोना युके भेरियन्ट प्रभावः तनहुँका मठमन्दिर बन्द

कोरोना युके भेरियन्ट प्रभावः तनहुँका मठमन्दिर बन्द


  • ढोरपाटन संबाददाता
  • बैशाख १४ २०७८, मंगलबार

तनहुँ, १४ बैशाख– कोरोनाको दोस्रो लहर युके भेरियन्टको संक्रमण फैलदो छ । कोरोना भाइरसको नयाँ प्रजाति ‘युके भेरियन्ट’ विश्वव्यापी रुपमा तिब्र गतिमा फैलन थालेपछि जोखिम बढेको भन्दै तनहुँका मठमन्दिर बन्द भएका छन् ।
भक्तजनको भिड लाग्ने जिल्लाका मठमन्दिरमा नियमित नित्य पुजा बाहेक भक्तजनका लागी बन्द गरिएको हो । दैनिक भक्तजनको भिड लाग्ने जिल्लाको ढोर बाराही र छब्दी बाराही मन्दिर मंगलबार आजदेखी बन्द भएका छन् ।
व्यास नगरपालिका–१४ मा रहेको छब्दी बाराही मन्दिरमा भक्तजनको प्रवेशसंगैै पुजा अर्चनामा रोक लगाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले बताए । ‘विभिन्न ठाउँबाट भक्तजन मन्दिर आउनुहुन्छ । कोरोनाको जोखिम देखिएपछि बन्द गरेका छौँ’, उनले भने, ‘अवस्था सामान्य भएपछि फेरी नियमित खुल्नेछ ।’ मन्दिरमा शनिबार अत्याधिक घुईचो लाग्ने गर्दथ्यो ।
शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा रहेको ढोरबाराही मन्दिर पनि बन्द गरेको मन्दिर व्यवस्थापन समितिका संयोजक एवम वडाध्यक्ष लोकनारायण श्रेष्ठले बताए । प्रशासनले मन्दिरमा भीडभाड नगर्न सूचना जारी गरेकाले भक्तजनलाई पुर्जा अर्चनाका लागी बन्द गरेको उनको भनाई छ । यद्यपि स्थानिय पुजारीले नियमित नित्य पुजा भने गर्नेछन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लाका सबै धार्मिक तीर्थस्थल, गुम्बा, मस्जिद, चर्च जस्ता जमघट हुने स्थल बन्द गर्ने निर्णय गरिसकेको छ ।
सरकारले मंगलबारदेखी देशभरका विद्यालय पनि बन्द गर्ने निर्णय गरेको थियो । तर, जिल्लाका केही निजी विद्यालयमा भने पढाइ भएको छ । पढाई भएका विद्यालयमा स्वास्थ्यको मापदण्ड पनि पालना भएको देखिदैन् ।
कोरोनाको दोस्रो लहर युके भेरियन्टको संक्रमण बढेर विभिन्न जिल्लामा लकडाउन भईसक्दा पनि तनहुँमा भने कोरोनाको संक्रमण पहिलेको सामान्य अवस्थामा जस्तै लापरवाही गरेको पाईन्छ । बजार क्षेत्र, सार्वजनिक सवारी, विद्यालयमा भिडभाड देखिन्छ । विभिन्न स्थानमा खेलकुद प्रतियोगिता भईरहेका छन् ।
मास्क लगाउने, सेनिटाइजरको प्रयोग र सामाजिक दुरी कायममा कसैको ध्यान पुगेको छैन् । मास्क लगाउनेको संख्या घटेपछि सर्वसाधरणलाई सचेत गराउन सोमबारदेखी जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले ‘तपाईको मास्क खै ?’ अभियान चलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->