तनहुँ, १५ बैशाख – तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ स्कुटर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक ३७ वर्षीय सन्देश गजमेर र स्कुटरको पछाडी सवार २६ वर्षीया पवित्रा रानाभाट रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
गजमेर ऋषिङ गाउँपालिकाको बालबिकास माध्यमिक विद्यालयमा लेखापाल र रानाभाट महेन्द्रज्योती माध्यमिक बिद्यालयकी शिक्षिका हुन ।
ऋषिङबाट दमौली फर्कदै गरेको ग १८ प ३७७ नम्बरको स्कूटर अनियन्त्रित भई पल्टदा हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले बताए । दुर्घटनामा घाईते गजमेरलाई दमौली अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यस्तै, घाईते रानाभाटलाई थप उपचारका लागी पोखरास्थित मणिपाल हस्पिटल लगिएको थियोे । उनको पनि बुधबार राती नै उपचारको क्रममा मृत्यु भएको तिम्लिसिनाले बताए ।
ऋषिङ गाउँपालिका–४ ठेगाना भएका उनीहरु कोरोनाका कारण विद्यालय बन्द भएपछि दमौलीमा रहेको घर फर्कदै गर्दा दुर्घटना भएको हो ।
धारापानीमा मंगलबार दिउँसो पनि यात्रुवाहक जिप दुर्घटना भएको थियो । दुर्घटनामा व्यास नगरपालिका–५ की २५ बर्षीया मनु थापाले ज्यान गुमाईन् । अन्य १६ जना घाईते भएका थिए ।





