शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

परीक्षण गर्दा ५० प्रतिशतमा कोरोना

परीक्षण गर्दा ५० प्रतिशतमा कोरोना


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २४ २०७८, शुक्रबार

पोखरा, २४ वैशाख– गण्डकीमा कारोना परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । बिहीबार । कुल ९ सय ७४ स्वाब परीक्षण गर्दा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार १२ सय बढीमा परीक्षण गर्दा ५ सय ७४ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण दर बढेपनि सोही अनुपातमा निको हुनेको संख्यामा भने कमी आएको छ । गण्डकी प्रदेशमा बिहीबार १ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् । बुधबार ५ सयबढी संक्रमित फेला पर्दा ८४ जनाले मात्रै कोरोना जितेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।
योसँगै प्रदेशभर कोरोना जित्नेको संख्या १७ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म निको भएका कोरोना संक्रमितको संख्या १७ हजार ३०२ छ ।
निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार बिहीबार गण्डकीमा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गण्डकीमा भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी पोखराका छन्ु । निर्देशनालयका अनुसार बिहीबार कास्कीका कोरोना पुष्टि हुनेको संख्या २ सय २१ छ । त्यस्तै, नवलपरासी पूर्वका ४१, बागलुङका ५८, तनहुँ २९, लमजुङ २७, गोरखा ३, पर्वत ८, म्याग्दीका ३२ र मुस्ताङका १४ जना छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ८६० छ ।
प्रदेशभर भएका कुल ३ हजार ३१७ संक्रमितमध्ये २८ सय संक्रमित होम आइसोलेसनमा छन् । दैनिक ठूलो मात्रामा कोरोना संक्रमितको संख्या थपिँदै जाँदा प्रदेशका आइसोलेसन वार्डहरु भरिन थालेका छन् ।
प्रदेशको एकमात्र कोभिड उपचार केन्द्र संक्रामक तथा सरुवा रोग उपचार केन्द्रमा अहिले ५३ जना संक्रमित उपचार गरिरहेका छन् । अस्पतालको बेड क्षमता ५० जना भए पनि बिरामीको संख्या थपिँदै जाँदा क्षमताभन्दा बढी संक्रमित राखेर उपचार गरिरहनु परेको अस्पतालका कार्यकारी प्रमुख डा विकास गौचनले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्ड पनि कोभिड बिरामीले भरिसकेको छ । ५० बेड क्षमताको उक्त आइसोलेन केन्द्रमा १९ गतेसम्ममात्रै जम्मा २७ संक्रमित उपचाररत थिए ।
प्रदेशमा बिहीबारमात्रै ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ३ र म्याग्दीका एक जना छन् । निर्देशनालका अनुसार कोरोनाबाट मृत्यु हुनेमा पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष र पोखरा १८ का ७३ वर्षीय पुरुष छन् । म्याग्दी म्याग्दी धौलागिरि गाउँपालिका २ की ७२ वर्षीय संक्रमित महिलाको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ । पोखरामा उपचारमा क्रममा ती संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । कोरोना संक्रमण बढ्दै जाँदा पछिल्लो बैशाख यता मृत्यु हुनेको संख्या पनि बढेको छ । डा शर्माका अनुसार बैशाख यतामात्रै ३८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
म्याग्दीका युवाको मृत्यु
बेनी नगरपालिका–८ कालिपुलको एक होटलमा कार्यरत बेनी नगरपालिका १, रत्नेचौरका २२ वर्षीय युवाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको छ । बेनी अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले पुष्टि गरे । म्याग्दीमा भेन्टिलेटरको व्यवस्था छैन । बिहीबार ज्यान गुमाएका युवा कोरोनाको पहिलो लहरमा म्याग्दी घर भई काठमाडौंमा कोरोना संक्रमणको कारण मृत्यु भएका २२ दिनको शिशुपछि सबैभन्दा कम उमेरमा मृत्यु हुनेमा पर्छन् ।
नवलपुरमा पनि २ जना
नवलपुरमा बिहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकजनाको होम आइसोलनमा र एक जनाको अस्पतालमै मृत्यु भएको हो । जिल्लाको कावासोती नगरपालिका ८ का पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले पुष्टि गरेको छ भने गैंडाकोट नगरपालिका २ का ७३ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा बिहान ३ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । होम आइसोलेसनमा ज्यान गुमाएका कावासोतीका ती व्यक्तिमा वैशाख २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो भने अस्पतालमै मृत्यु भएका गैंडाकोटका ती बृद्धलाई बौशख १९ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
सम्बन्धित जिल्लाका सिडिओले पुष्टि गरे पनि नवलपुर र बेनीका मुत्यु भएका संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->