
पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त दिएनन् तर आफू पार्टी एक हुनुपर्छ भन्ने मान्यतामा रहेको सन्देश चाहिँ प्रवाहित गरे ।
विज्ञप्तिमा ११ जिल्ला अध्यक्षले हस्ताक्षर गरेका छन् । ‘हाम्रो पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोधहरु देखापरिहेका छन् । यो अन्तरविरोधले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महशुस गरेका छौं’, विज्ञप्तिमा भनिएको छ,‘कम्युनिष्ट पार्टीको इतिहास, आदर्श,मूल्य मान्यता र जनताप्रतिको जवाफदेहीतालाई आत्मसात गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई जनताको नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौँ ।’
विज्ञप्तिमा कास्की अध्यक्ष कृष्णबहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा (पारस), तनहूँका केदार सिग्देल, लमजुङका धनञ्जय दवाडी, गोरखाका प्रेमबहादुर गुरुङ,प वर्तका पदम गिरी, बागलुङका ईन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ,मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका रोशन गाहा मगरले हस्ताक्षर गरेका छन् । पार्टी एकताको पक्षमा केन्द्रमा छलफल तीव्र बनेकै बेला उनीहरुले आफूहरुलाई पार्टी एकताको पक्षमा उभ्याएका हुन् । हस्ताक्षर गर्नेमध्ये स्याङ्जाका अध्यक्ष पारस एमाले र माओवादी केन्द्रको एकिकरणपछि एमालेमा आएका हुन् । रामबहादुर थापा ‘बादल’ निकट रहेका उनी माओवादी अलग हुँदा पनि एमालेमै रहेका हुन् । बाँकी अध्यक्षहरु एमालेको अधिवेशनबाट चुनिएका हुन् ।
गण्डकी प्रदेश एमालेभित्र अध्यक्ष केपी ओलीको ‘गढ’ मानिन्छ । यहाँका ११ जिल्लामध्ये बागलुङमा मात्र ओली पक्ष केही कमजोर छ । त्यहाँ माधव–झलनाथ पक्षीय ईन्द्रलाल सापकोटा अध्यक्ष छन् । बाँकी जिल्लामा ओली पक्षीय नेताहरु नै नेतृत्वमा छन् । साविक एमाले अहिले सग्लो छैन । माधव नेपाल–झलनाथ पक्षीय नेताहरुले सबैजसो जिल्लामा समानान्तर गतिविधि बढाएका छन् । प्रदेश राजधानी पोखरामै पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति धनराज आचार्यले समानान्तर संगठन संचालन गरिरहेका छन् ।
लायन्सको गभर्नर, एमाले निकट राष्ट्रिय वाणिज्य संघको केन्द्रीय अध्यक्षसमेत भइसकेका उनी सफल व्यवसायीसमेत हुन् । उनको क्रियाशिलताले ओली समूहलाई धक्का दिँदै आएको छ । उनकै अगुवाइमा कास्कीको महानगर र गाउँपालिकामा पनि समानान्तर गतिविधि र संगठन निर्माण भइरहेको छ । पार्टी विभाजन भएकै अवस्थामा गण्डकीका मुख्यमन्त्री तथा एमाले गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङ सदनमै अल्पमतमा परेका छन् । उनीविरुद्धको अविश्वासको प्रस्तावमा यही वैशाख २७ गते मतदान हुँदैछ । मतदानको पूर्वसन्ध्यामा माधव–झलनाथ खेमामा लागेका बागलुङका अध्यक्ष तथा सभासद ईन्द्रलाल सापकोटाले नै फ्लोर क्रस गर्ने आशंका भइरहेको बेला एमाले अध्यक्षहरुको संयुक्त वक्तव्य आएको हो । गण्डकीमा ओली पक्षले आफूहरुलाई सधैँ चेपुवामा पार्दै आएको माधव–झलनाथ पक्षको गुनासो रहँदै आएको छ ।





