बागलुङ, २६ वैशाख– जिल्लाभर कोरोना महामारीसँग जुध्नका लागि आवश्यक साधन स्रोतको अभाव देखिन थालेको छ । धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका अस्थायी कोभिड अस्पताल तथा आईसोलेसनमा साधन स्रोतको अभाव हुन थालेको हो ।
कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा सबैभन्दा ठुलो चुनौती छ । जिल्लाभर एक शवबहान समेत नरहेकाले संक्रमितको शव व्यवस्थापनमा समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
‘शव व्यवस्थापनको लागि डबल क्याब्व पिकअप भ्यान भएपनि केही महिनालाई भाडामा लिनुपर्ने अवस्था छ’ स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति देव प्रकाश घिमिरेले भने ‘अहिलेको मुख्य चुनौती एम्बुलेन्स, शवबहान, पीपीई र अन्य स्वास्थ्य सामग्री हुन् ।’ अस्पतालको आईसोलेसनमा काम गरिरहेका स्वास्थ्यकर्मीले समेत स्वास्थ्य सामग्रीको अभाव महसुस गर्न थालेका छन् ।
‘राम्रो खालको पिपीई अस्पतालको आईसोलेसनमा पनि आवश्यक छ ।’ धौलागिरी आईसोलेन इन्चार्ज शान्ती भण्डारी भनिन् । महामारीकै समयमा विदेश र जिल्ला बाहिरबाट आउनेहरु बढेकाले बागलुङ नगरपालिकाले होल्डिङ सेन्टरको महशुस गर्न थालेको छ । रामरेखामा रहेको कर्भड हलमा ३० जना अट्नेगरी होल्डिङ सेन्टर बनाउने तयारी थालेको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
जिल्लाको जैमिनी नगरपालिकामा कोरोना संक्रमण भएका बिरामी बोक्ने सवारीको अभाव छ । नगरपालिकाले निर्माण गरेको आईसोलेसनसम्म बिरामी पु¥याउन सवारी साधनकै अभावमा कठिन हुने गरेको स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए ।
गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिमबहादुर भण्डारीका अनुसार गलकोटमा अक्सिजनको अभाव छ । अक्सिजन भर्न गलकोटमा रहेका सिलिण्डर पोखरा पठाउने तयारी भैरहेको भण्डारीले बताए । उनका अनुसार गलकोटमा पिपीई सेट, मास्क र सेनीटाईजरको समेत अभाव छ ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसनमा भेण्टिलेटर आवश्यकता महशुस गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम शर्माले बताए । काठेखोला गाउँपालिकाले ज्वरो नाप्ने थर्मल गनको आवश्यकता महशुस गर्न थालेको छ । अक्सिजन र अन्य स्वास्थ्य सामग्री पर्याप्त रहेको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामाले बताए ।
सक्रिय संक्रमितको संख्या ३२ जना रहेको ताराखोलामा पिपीई सेट, मास्क र सेनीटाईजरको समेत अभाव छ । बिरामीको संख्या बढेकाले आईसोलेसन शैया थप गर्नुपर्ने, भाडाकुँडा, खाद्यान्न, सर्भिङ टर्ली समेतको अभाव रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
वडिगाड गाउँपालिकाम शैयाका लागि आवश्यक समाग्री र निसीखोला, तमानखोला र बरेङ गाउँपालिकामा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीको अभाव रहेको छ । विदेशमा रहेका नेपालीहरुले महामारीसँग जुध्न लागि सहयोग गर्ने भएका छन् । पत्रकार महासंघको संयोजनमा स्थानीय तहलाई सहयोग गर्न तयार भएको तथ्यांक अनुसार बागलुङका स्थानीय तहमा स्वास्थ्य सामग्रीको समेत अभाव रहेको जिल्ला शाखा अध्यक्ष नरेश कँडेलले बताए । स्थानीय तहले गरिरहेको तयारीका बीच बिरामीको उपचार र सम्भावित जोखिमसँग जुध्न स्रोत साधनको अभाव भएको हो ।





