बेनी, ३ जेठ– बेनी अस्पतालले स्थापना गरेको अक्सिजन बैंकलाई बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय उपाध्यक्ष धनबहादुर श्रीषले ५० हजार बराबरको २ वटा ठूलो सिलिण्डर र बेनी नगरपालिका–४ तातोपानी घर भई हाल फ्रान्समा रहेका मोना फ्रान्सका निर्वतमान अध्यक्ष हेम बानियाँ र धर्मपत्नी पुनम बानियाँले १ थान ठूलो सिलिण्डर हस्तान्तरण गरेका छन् ।
नेपाल ब्यवसायिक बाख्रापालक महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका श्रीषले रू ५० हजारमा ठूलो सिलिण्डर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् । सो अवसरमा श्रीषले डाँडाखानीकै रिस्टा किराना स्टोर तथा खाजा घरका सञ्चालक गोपाल भट्टचनले सेनिटाइजर खरिदका लागि अस्पताललाई ३ हजारको सेनिटाइजरसमेत हस्तान्तरण गरेका थिए ।
अक्सिजनको अभाव हुन नदिन ढोरपाटन दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतमबाट सुरू गरिएको ‘म्याग्देली कोरोना संक्रमतिको लागि आवश्यक पर्ने अक्सिजनमा मेरो योगदान’ नामक अभियानमार्फत् बेनपा–४ घर भई हाल फ्रान्समा रहेका मोना फ्रान्सका निर्वतमान अध्यक्ष हेम बानियाँ र धर्मपत्नी पुनम बानियाँले समेत एक थान ठूलो सिलिण्डर सहयोग गरेको अध्यक्ष कटुवालले बताए । ‘यो अभियानमा सञ्चारमाध्यमको ठूलो भूमिका देखियो’,उनले भने,‘धेरैले मलाई पनि सिलिण्डर सहयोग गर्ने बताइरहनुभएको छ, हामीले बजारमा अभाव भएकाले खोजी गरिरहेका छौँ।’ अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रमा उत्पादन भइरहेको अक्सिजनलाई सिलिण्डरमा भरेर राखी आवश्यकता अनुसार प्रयोग गर्ने जनाइएको छ । बजारमा ठूलो सिलिण्डरलाई २२ हजारदेखि २५ हजारसम्म पर्ने जनाइएको छ ।





