अहिले विश्वभर एउटा अदृश्य भाइरसले दोस्रोपटक आतंक मच्चाइरहेको परिपेक्षमा हाम्रो देश नेपाल पनि यसको चपेटामा आइसकेको छ । विश्वभर फैलिरहेको नयाँ भेरियन्टको कोभिड–१९ को दोस्रो लहरको छाल मध्यम गतिमा छिमेकी राष्ट्र भारतहुँदै आइरहेको पनि महिना दिनभन्दा बढि भैसकेको छ । यस बिचमा हाम्रो बागलुङ जिल्ला र विशेषगरी बागलुङ बजारमा गत २०७८ बैशाख १२ गतेदेखि नै शिक्षण संस्थाहरु भौतिक रुपमा बन्द छन् भने बैशाख २१ गतेदेखि बागलुङ नगरपालिकामा निशेधज्ञा जारी गरिएको छ ।
यस विषम परिस्थितीमा केही विद्यालयहरु कसरी अध्ययन अध्यापनलाई अगाडी बढाउने भन्ने विषयमा अझै अन्यौलमा रहेका कारण विद्यार्थीहरु अध्ययन सुविधाबाट बञ्चित रहेका अवस्थामा अधिकांश विद्यालयले भने गत वर्षको अनलाइन कक्षा सञ्चालनको अनुभवको आधारमा र गत बैशाख १२ गतेदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेको छन ।
केही अप्ठ्यारा र असजिलो हुँदाहुँदै पनि यस शिक्षण सिकाइले सम्रग विद्यार्थी, शिक्षक एवं अभिभावकलाई अहिलेको समयको मागअनुसार प्रविधिमा दक्ष बनाउन भूमिका खेलेको छ ।
यस्तो विषम परिस्थितीमा अनलाइन कक्षा एउटा शिक्षण सिकाइको गतिलो माध्यम बनेको छ । अहिले लगभग ९५५ अभिभावकहरुको हातमा रहेका सुविधायुक्त मोबाइल, ट्याप र ल्यापटपलाई प्रयोग गर्दै अनलाइन कक्षा सञ्चालन भैरहेका छन् । धेरै विद्यार्थीहरु अहिले गाउँ गाउँबाट त केहि विद्यार्थीहरु विदेश (जापान)बाट समेत अध्ययनमा जोडिएका छन् भने हामीहरुले आ–आफ्नै घरबाट अनलाइन कक्षामा अध्यापन गराइरहेका छौ ।
कोभिड–१९ को कारणले गर्दा गत सालको लकडाउन र यसपालीको निशेधज्ञाले निम्त्याएको विषम परिस्थितीका बावजुद पनि हामी शिक्षक एवं विद्यार्थीहरुलाई धेरै कुराहरु सिक्ने अवसर प्रदान गरेको छ । हामी एवं हाम्रा विद्यार्थीहरु प्रविधिमा दक्ष बन्ने अवसर सृजना गरेको छ । अनलाइन अध्यापन गराउने शिक्षकहरुमा घरमै बसीबसी विश्वका हरेक कुनामा रहेका विद्यार्थीहरुलाई पढाउन सक्ने क्षमताको विकास यसले गराएको छ । त्यसैगरी विद्यार्थीहरु पनि घरमै बसीबसी हरेक दिन नयाँ नयाँ कुराहरु सिक्ने अवसर पाएका छन् । शनिबारबाहेक अन्य दिनको अनलाइन कक्षामा ७५५ देखि ८५५ विद्यार्थीहरु उपस्थित भै अध्ययन गर्ने अवसर यसले प्रदान गरेको छ । विद्यार्थीहरु अध्ययन गर्न पाउँदा खुसीको महसुुस गर्न पाएका छन् । सायद विद्युत र इन्टरनेटको समस्या नहुँदो हो त ९५५ विद्यार्थीहरुले अध्ययन गर्न सक्षम हुने थिए होला तर बिडम्वना यो हुन सकेको छैन ।
अनलाइन कक्षाको माध्यमबाट हामीले हाम्रा अभिभावकहरुसंग प्रत्यक्ष रुपमा विद्यार्थीको उपलब्धीको बारेमा वार्तालाप गर्न पाएका छौ । विद्यार्थीहरुको पढाइको गुणस्तर कसरी माथि लैजाने भन्ने बारेमा अभिभावकहरुबाट राय सल्लाह लिदै त्यसलाई व्यवहारमा लैजान पाएका छौ । यस शिक्षाले शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्धलाई अझ गाढा र नजिक बनाउदै लगेको छ । अनलाइन कक्षालाई सहज र अझ व्यवस्थित रुपमा अगाडी बढाउन सकेको खण्डमा सबल एवं सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण भुमिका यस कक्षाले खेल्न सक्नेछ ।
अन्तमा केही अप्ठ्यारा र असजिलो हुँदाहुँदै पनि यस शिक्षण सिकाइले सम्रग विद्यार्थी, शिक्षक एवं अभिभावकहरुलाई समेत अहिलेको समयको मागअनुसार प्रविधिमा दक्ष बनाउन धेरै भूमिका खेलेको छ । साथ साथै अहिले फैलिरहेको कोभिड–१९ नियन्त्रणमा पनि उल्लेखनीय भूमिका खेलेको छ ।





