बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोशेली बोकेर संक्रमितको घरमा वडाध्यक्ष

कोशेली बोकेर संक्रमितको घरमा वडाध्यक्ष

होम आइसोलेसनमा बसेकालाई छिमेकीले पनि नकारात्मक दृष्टिकोणले हेर्छन् । यस्तो बेला त सबै जना मिलेर आत्मबल बढाउन लाग्नुपर्छ ।


  • विनोद ढुंगाना
  • जेष्ठ ५ २०७८, बुधबार
फाईल तस्विर

तनहुँ, ५ जेठ– देशभर कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । दैनिक हजारौं संक्रमित थपिएका छन् । सयौंले ज्यान गुमाएका छन् । कोरोनाबाट बच्न अस्पतालको शैयामा हजारौंसंक्रमित छट्पटाइरहेका छन् ।
कोरोनाबाट च्वाट्टै निको हुने औषधि बनेको छैन, कोरोनाविरुद्धको खोप बनेको छ । तर, खोप लगाएकालाई पनि कोरोना पोजेटिभ देखिएको छ ।अहिले कोरोना जित्ने औषधि संक्रमितको आत्मबल हो । पोषिलो खानपिनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनालाई परास्त गर्न सघाउँछ ।
संक्रमितको मनोबल बढाउन शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी होम आइसोलसनमा बसेका घर–घरमा पुग्ने गरेका छन् । उनीसँग वडाका अन्य जनप्रतिनिधि र स्वास्थ्यकर्मी पनि हुन्छन् ।
वडाध्यक्ष रेग्मी नेतृत्वको टोली संक्रमितलाई स्वास्थ्य लाभको कामना गर्दै पौष्टिक आहारा र स्वास्थ्य सामाग्री कोशेली टक््रयाउँछन् । होम आइसोलेउसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भिटामिन सी,भिटामिन बीकम्प्लेक्स, मास्क, स्यानिटाइजर, थर्मोमिटर, अक्सिमिटर, ग्लोब्स, प्यारासिटामोल, हर्लिक्स र जुस दिने गरेको रेग्मीले जनाए ।
घरमा पुग्दा संक्रमितले स्वास्थ्यको मापदण्ड पालना गरे नगरेको पनि निरीक्षण हुने उनको भनाइ छ । कोरोना पुष्टि भएपछि संक्रमितको आत्मबल बढाउन जरुरी रहेको वडाध्यक्ष रेग्मी बताउँछन् । उनी भन्छन्, ‘होम आइसोलेसनमा बसेकालाई छिमेकीले पनि नकारात्मक दृष्टिकोणले हेर्छन् । यस्तो बेला त सबै जना मिलेर आत्मबल बढाउन लाग्नुपर्छ । तसर्थ हामीले संक्रमितको घर–घरै पुगेर भेट्ने अभियान चलाएका हौं ।’ आफूहरु संक्रमितको घरमा पुगेर भेट्दा समाजमा कोरोना संक्रमितलाई गर्ने व्यवहारमा परिवर्तन आउने रेग्मीले बताए ।
यो वडामा हालसम्म १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ जना निको भएका छन् । १४ जना सक्रिय संक्रमित छन् । १० जना होम आइसोलेसनमा रहेको वडा सदस्य सृजना विकले जानकारी दिइन् ।
कोरोना भाइरसको संक्रमणदर फैलिँदै गएपछि वडामै आइसोलेसन बनाउने तयारी समेत गरिएको छ । केही दिन अहिलेको दरमा संक्रमण फैलदै गएमा नगरपालिकाको आइसोलेसनमा संक्रमितको चाप धान्न नसक्ने अवस्था नहुने भएकाले वडामै आइसोलेसन बनाउन लागिएको हो ।
हिमाली टोलको सामुदायिक भवनलाई आइसोलेसन बनाउन तयारी अवस्थामा राखिएको छ । ‘आईसोलेसन तयारी अवस्थामा छ । घरमा बस्न नमिल्ने सामान्य अवस्थाका संक्रमितलाई आइसोलेसनमा राख्नेछौं,’ वडा सदस्य विकले भनिन् । वडाले दीर्घ रोगीको औषधी खरिद गर्न सहजीकरण समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->