बेनी, ६ जेठ – म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रियले श्वासप्रश्वासमा समस्या भएका कोरोना संक्रमितको उपचारका लागि म्याग्दीमा १२ वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ । आइतबार भएको भच्र्युअल बैठकमा म्याग्दीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि राष्ट्रिय समितिसँगको समन्वयमा १२ वटा कन्सन्ट्रेटर खरिद गर्ने निर्णय भएको महासचिव विक्रम कार्कीले बताए ।
बैठकमा जिल्लाभित्र कोरोना संक्रमितको उपचारमा बेनी अस्पताल सहित जिल्लाका सबै स्थानीय तहसँग समन्वयमा तत्काल अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता देखिएको अध्यक्ष ओमनारायण जुग्जालीले बताए । ‘श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना हुन थालेका बिरामीको समस्याले दुखी भएका छौं । निर्णय लगत्तै खरिदका लागि आवश्यक पहल भइसकेको छ । यो अभियानमा साथ दिन सम्पूर्ण प्रवासी म्याग्देलीलाई अपिल समेत गछौं,’ अध्यक्ष जुग्जालीले भने ।
तत्काल आवश्यकता परेकाले धेरै लामो समय होल्ड गर्न नसकिने अध्यक्ष जुग्जालीको भनाइ थियो । सामान्य सास फेर्न गाह्रो भएकालाई दिने अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता पर्छ । बेनी अस्पतालमा स्वासप्रस्वासमा समस्या आएपछि दैनिक कोरोना संक्रमित विरामीको चाप बढेको छ । अक्सिजन कन्सन्ट्रेटरलाई ७५ हजारदेखि १ लाख ५० हजारसम्म पर्ने भएकाले बिरामीको उपचारका लागि आवश्यक पर्ने कन्सन्ट्रेटरबारे बेनी अस्पतालका चिकित्सकसँग समेत परामर्श लिने बैठकमा छलफल भएको थियो ।
मोनाले गर्ने सहयोगलाई जिल्लामा आवश्यकता परेको ठाउँमा प्रयोग गर्ने गरी पठाउने जनाइएको छ । मोनाको बैठकमा जिल्लामा कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटिएकालाई धन्यवादसमेत दिइएको थियो । अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन् । जिल्लामा सकेसम्म हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत आवश्यकता देखिएको छ ।





