शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सहकारी बोर्डका सहअध्यक्ष पौडेलले दिए धौलागिरी अस्पताललाई अक्सिजन सिलिन्डर

सहकारी बोर्डका सहअध्यक्ष पौडेलले दिए धौलागिरी अस्पताललाई अक्सिजन सिलिन्डर


  • ढोरपाटन संबाददाता
  • जेष्ठ ८ २०७८, शनिबार
धौलागिरी अस्पतालमा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिँदै । तस्वीर: ढोरपाटन ।

बागलुङ, ८ जेठ – राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि अक्सिजन सिलिण्डर सहयोग गरेका छन । कोरोना भाईरस (कोभिड–१९)को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान गुमाइरहेका बेला आफ्ना बाबु स्व. भिमनाथ शर्मा पौडेलको स्मृतिमा व्यक्तिगत रुपमा १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन ।
बागलुङको अमलाचौरका पौडेलले आफ्ना बाबुको सम्झनामा स्थापित भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानको तर्फबाट निःशुल्क रुपमा जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पताल तथा ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा सिलिन्डर प्रदान गरेका हुन ।
बागलुङमा समुदायस्तरमा तिब्र रुपमा कोरोना सक्रंमण फैलिएको छ । अक्सिजन अभावले विरामी उपचार गर्न बाहिर लैजानुपर्ने अवस्था छ । विरामीले गृह जिल्लाकै अस्पतालमा उपचार गर्न पाउन भनेर मानवीय सेवाको भावले अक्सिजन सहयोग गरेको सह–अध्यक्ष पौडेलले बताए । ‘नागरिकहरु अक्सिजन नपाएर अकालमा ज्यान गुमाइरहेका छन्,’ पौडेलले भने, ‘सानो सहयोगले कसैको जीवन बच्न सहयोग पुगास भन्ने उद्देश्य हो ।’ गृह जिल्लाका नागरिकका लागि धोरै सहयोगले नि धेरै राहत होस भनी अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।
अक्सिजन धौलागिरी अस्पतालमा ५ थान, जिल्लाको जैमिनी नगरपालिकाको कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ३ थान, र बागलुङ नगरपालिका–१२ अमलाचौर स्वास्थ्य चौकीद्धारा संचालन भएको एम्बुलेन्समा २ थानका थान प्रदान गरिएको प्रतिष्ठानका बागलुङ संयोजक गोविन्द बहादुर पौडेल ‘गोपाल’ले बताए । काठमाण्डौंको एभरेष्ट अक्सिजन ग्यास उद्योगबाट सिलिन्डर बागलुङ पठाएका हुन् । अक्सिजन सिलिण्डर संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल नेपाली काँगेस बागलुङका नेता जगदिशचन्द्र उपाध्याय, सचिव नवराज पौडेल र पत्रकारहरुको रोहबरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर र अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा शैलेन्द्र बि पोखरेललाई हस्तान्तरण गरिएको संयोजक पौडेलले जानकारी दिए ।
अस्पतालमा कोरोनाका संक्रमित दैनिक बढ्दै जाँदा अक्सिजनको खपत बढ्ेको र अस्पतालमा अक्सिजन सिलिण्डर पनि पोखरा भर्न पठाउने गरेको कारण थप समस्या उत्पन्न भएकोमा यसले थप राहत पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले बताए । उनले अक्सिजन सिलिण्डरले कोरोना संक्रमित विरामीको उपचारका लागि ठुलो राहत पुगेको हुँदा सहयोग गर्ने दक्ष पौडेल प्रति धन्यबाद व्यक्त गरेका थिए ।
पौडेल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन भने हब कोअर्पेटिभ सर्भिस लिमिटेडका संचालक समितिका अध्यक्ष समेत हुन । सहकारी र वित्तिय क्षेत्रमा क्रियाशिल पौडेलले कोरोना महामारीको पहिलो चरणमा गृह जिल्ला बागलुङका स्वास्थ्यकर्मीलाई पिपिई थर्मल गन सेट, मास्क, स्यानिटाइजर लगायतका आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका थिए । त्यसैगरी पौडेलकै पहलमा बागलुङमा क्रियाशिल पत्रकारहरुको कोरोना सम्बन्धी स्वास्थ्य विमा पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->