मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेसले सहमति जनाए गण्डकीमा सर्वदलीय सरकार बनाउन आफू तयार भएको घोषणा गरेका छन् । यद्यपि, उनले आफ्नो पहिलो प्राथमिकता चाहिँ बामपन्थी सरकार नै भएको पनि लुकाएनन् ।
‘सकिन्छ सर्वदलीय सरकार बनाउने, कांग्रेस पनि तयार हुनुपर्छ । मिलेर सरकार चलाऔं म तयारै छु भनेकै छु’, ढोरपाटनसँग विशेष कुराकानी गर्दै उनले भने,‘ अझै पनि समय छ बामपन्थी कै सरकार बनाऔं भन्ने हो । प्रदेशका लागि, संघीयताका लागि केही आधारशीला तयार पारेका छौं, त्यसका लागि पनि यो एकता हुन जरुरी छ ।’
उनले संघमा जे भएपनि प्रदेश सदन पूरा कार्यकालकै होस् भन्ने आफ्नो चाहना रहेको पनि जिकिर गरे । मुख्यमन्त्री गुरुङले आउँदो जेठ २८ गतेभित्र आफूसँग बहुमत भएको पुष्टि गर्नुपर्छ । मुख्यमन्त्रीले बहमत पु¥याउन पनि नसक्ने र विपक्षीहरु गठनबन्धनमा पनि बहुमत नजुटे गण्डकी प्रदेश सभा पनि विघटनकै बाटोमा जाने निश्चित छ ।
पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री
संघीयता अहिलेको संरचनागत हिसाबले मूल मर्म नै प्रदेश सरकार हौं । संघीयतालाई बचाउने नै प्रदेश सरकार हो । संघीय नेपालको संघीयता सहकार्य, समन्वय, सदाचारितामा आधारित संघीयता हो । यसको आधारमा संघ सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय हुन जरुरी छ । तर, अहिले संघीयता कार्यान्वयमा आउँदा संघ सरकारबाट जसरी प्रदेश र स्थानीय तहसँग जसरी समन्वय सहकार्य गर्नुपर्ने थियो । त्यसको अभाव अहिले पनि खट्किरहेको छ । स्थानीय तहले प्रदेश र संघ सरकारसँगको समन्वय अलि कम गरेको छ ।
प्रदेश सरकारलाई राम्रो र सरल तरिकाले काम गर्न सक्ने वातावरण दियौं, बनायौं भने संघीयताले आफ्नो सामथ्र्य देखाउने हो । भूमिका निभाउने हो । संघीयताको कार्यान्वयन प्रदेशबाटै सम्भव छ भनेरमात्रै म प्रदेशको मुख्यमन्त्री हुन आएको हो । मुख्यमन्त्रीको हैसियतले संघीयता कार्यान्वयनमा जेजस्तो भूमिका मैले निर्वाह गर्नुपर्छ । ती सैद्धान्तिक, वैचारिक र राजनीतिक जे पनि हुन सक्ला ।
तर, यसमा कतिपय हाम्रो पार्टीको आधिकारिक धारणाहरु गलतै नभए पनि ती धारणाले कार्यान्वयनमा ठीक ढंगले प्रवाहित गर्न सकेका छैनौं । त्यसलाई लयमा लैजान सकिन्छ । संघीयता यस्तो स्थीर व्यवस्था रहेछ कि प्रदेशको सरकार गाँजेमाजे हुँदा पनि प्रदेश सरकार बरोबर ढंगले चल्न सक्दो रहेछ । स्थानीय सरकार तलमाथि हुँदा पनि रहेन्छन् । प्रत्याभूति दिइरहन सक्ने रहेछ । तर, जनतालाई म्यासेज दिन सक्ने ठाउँमा नसकेको मात्रै हौं भन्ने लाग्छ ।
आजसम्मको कोणलाई नियाल्दा धेरै संघर्ष, परिश्रम गरेर नै यो ठाउँमा आइपुगेका हौं । अझै हामीले चाहेकोजस्तो संघीयता आइसकेको छैन । तर, केही नभएको भन्ने पनि होइन । प्रदेश सरकार, स्थानीय सरकार धेरै, थोरै भए पनि आफैं काम गर्न सक्नु भनेको पहिलो चरणको सफलता नै हो भन्ने मलाई लाग्छ ।
हामीले अधिकार प्राप्ति र कार्यान्वयन गर्ने क्रममा कसैसँग कम्प्रोमाइज गर्नुहुँदैन । अधिकारप्राप्त व्यक्तिको रुपमा मैले आफूले मुख्यमन्त्रीको भूमिका निर्वाह गर्न सक्नुपर्दछ । मेरो नेताले के भन्छ ? मेरो नेताको चित्त दुख्छ कि भन्ने भन्दा पनि पार्टीको नीतिभित्र रहेर संघीयताको भावनाभित्र रहेर हामीले काम गर्ने हो । हाम्रो अधिकारबारे कसैसँग सम्झौता हुँदैन । तर, संघ सँग झगडा गरेरमात्रै पनि हुँदैन । हामीले समन्वय गरेर अघि बढ्न जानु नै पर्छ ।
मुख्य उद्धेश्य बाम एकता नै
म जहिल्यै पनि बामहरुको एकताको पक्षमा हो । नेपालका ७७ जिल्लामध्ये कतै पनि सहकार्य नहुँदा लमजुङमा एलायन्स गरेर देखाएकै हो । गण्डकीका धेरै जिल्लामा सहकार्य गर्नका लागि भनेकै हो । विविध कारणले सफल हुन सकेन । अहिले पनि भन्छु बामहरुबीचको एकता जरुरी छ ।
माओवादी कताकता हिँड्या छ त्यो बेग्लै कुरा हो । तर, अहिले पनि नेकपा माओवादी केन्द्र, नेकपा एमाल समावजादीे र जनमोर्चा लगायतका गण्डकीका बामपन्थी साथीहरु एक भएर अघि बढ्न सकिन्छ । हामीबीचको एकता, सहकार्य र गठबन्धन अहिले पनि जरुरी छ । किनभने, गण्डकीमा एक खालको राजनीतिक सम्भावनाहरु छन् । प्रमुख प्रतिपक्षको रुपमा नेपाली कांग्रेस छ । हामीसँग धेरै आधारभूत सिद्धान्तहरु फरक छ । तर, पनि उहाँहरुसँग लोकतन्त्रको विषयमा, संघीयताको विषयमा सहकार्य त भइरहेकै छ । तर, हाम्रो मुख्य उद्धेश्य भनेको बामपन्थीहरुकै एकता र सहकार्य नै हो ।
ओली एकताविरोधी होइनन्
नेपालमा बामपन्थीको एकता गराउने नै केपी ओली हो नि ! झलनाथ खनाल, माधव नेपालले त एकता गरेको होइन नि ? अरु बाम साथीहरुलाई पनि सरकारमा ल्याएर सबैको सम्मान गरेको पनि केपी ओली नै हो ।
केही व्यक्तिगत रुपमा प्रचण्डमाधव जीको के कुरा मिल्या छैन । खाली डाहाको राजनीति, उपद्रो, बदला भावको राजनीतिले दुवै पक्षको कमजोरी देख्छु । वास्तवमा केपी ओली कम्युनिस्ट विरोधी होइन, कम्युनिस्ट पार्टीलाई विभाजन गर्न त उहाँहरु (माधव, प्रचण्ड) लाग्नु भएको हो । त्यसैले हामीले आग्रह पूर्वाग्रह भन्दा पनि धरातललाई हेनुपर्छ । केपी ओली बाम एकता विरोधी होइन, पक्षधर नै हो ।
अबको प्रदेशको राजनीति
मैले यहाँको राजनीति नियालिरहेको छु । फेरि पनि बामपन्थी एकताकै सरकार बनाउनुपर्छ । तर, मैलेमात्रै चाहेर हुँदैन । सकिन्छ सर्वदलीय सरकार बनाउने, कांग्रेस पनि तयार हुनुपर्छ । मिलेर सरकार चलाऔं म तयारै छु भनेकै छु । अझै पनि समय छ बामपन्थी कै सरकार बनाऔं भन्ने हो । प्रदेशका लागि, संघीयताका लागि केही आधारशीला तयार पारेका छौं, त्यसका लागि पनि यो एकता हुन जरुरी छ ।




