मुख्यमन्त्री आफैं प्रदेशस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशक समितिका संयोजक हुन् । समिति संयोजकसमेत रहेका मुख्यमन्त्री गुरुङले आफैं मापदण्ड उलंघन गर्दै हिँडेका छन् ।
पोखरा, ११ जेठ
घटना १
मुख्यमन्त्री पदमा दोहारिएपछि पृथ्वीसुब्बा गुरुङ बैशाख २९ गते प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन पुगे । बैशाख २२ गते कोरोना पुष्टि भएका मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमै थिए ।
तर, मुख्यमन्त्री पदमा पुनर्नियुक्ति पाइसकेपछि भने कोरोना नेगेटिभको रिपोर्ट नआउँदै गुरुङ भिड जम्मा गर्दै प्रदेश प्रमुखको कार्यालयमा सपथ खान पुगे । होम आइसोलेसनबाट सीधैं प्रदेश प्रमुखको पुगेका उनी स्वास्थ्य मापदण्डसमेत पूरा गरेका थिएनन् । भौतिक दूरी र पिपिईसमेत नलगाई उनी सपथ कार्यक्रममा उपस्थित थिए ।
कास्कीका कोरोना संक्रमणदर तीव्र भएको भन्दै बैशाख १५ यता लकडाउन जारी छ । जिल्ला प्रशासन कार्यालयलेसमेत कुनै सभा, समारोह नगर्न र १० जनाभन्दा बढी भिड नगर्न निर्देशन जारी गरिसकेको छ । तर, मुख्यमन्त्रीको सपथ कार्यक्रममा ३५ जनाभन्दा बढीको सहभागी थिए ।
घटना २
गत बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री गुरुङले ८ मन्त्रालयलाई ११ पु¥याए । मन्त्रीहरुको सपथ कार्यक्रममा पनि उनी भौतिक दूरीबिनै सहभागी थिए । विस्तारित मन्त्रिमण्डलमा मुख्यमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफूमातहतमा राखेका छन् ।
स्वास्थ्य मन्त्रालयकै पदभार ग्रहण गर्ने दिन जेठ ७ गते मुख्य तथा स्वास्थ्यमन्त्री गुरुङले कर्मचारीलाई एकजुट भएर कोरोनाविरुद्ध लड्न र कुनै हेलचक््रयाइँ नगर्न निर्देशन दिए । कर्मचारीलाई निर्देशन दिँदै गर्दा कोरोना संक्रमितसमेत रहेका मुख्यमन्त्री गुरुङले कार्यक्रमस्थलमा सामान्य मास्कसमेत लगाएका थिएनन् ।
घटना ३
पोखरा लेखनाथस्थित प्रदेश सरकारले तोकेको एकमात्र कोभिड उपचार अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आइसियू कक्ष उद्घाटन तथा सघन उपचार कक्ष भवनको शिलान्यास सोमबार भयो ।
उद्घाटन तथा शिलान्यास कार्यक्रम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै गरे । कोभिड अस्पतालकै उद्घाटन गर्दासमेत मुख्यमन्त्री गुरुङले सामान्य मापदण्डसमेत पूरा गरेका थिएनन् । सामान्य सर्जिकल मास्कको भरमा उनले भवन शिलान्यास तथा आइसियू कक्षको उद्घाटन गरेका थिए ।
मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार मुख्यमन्त्री गुरुङको अझै कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छैन । ‘मुख्यमन्त्रीज्युको सिटी भ्यालु हाई देखिएको छ । ३३, ३४ देखाइरहेको छ,’ स्रोतले भन्यो, ‘आइतबार फेरि रिपोर्ट स्वाब परीक्षणका लागि दिनु भएको छ । त्यसको रिपोर्ट अझै आइसकेको छैन ।’
तर, उल्लेखित घटनाक्रमले भने मुख्यमन्त्री गुरुङले स्वास्थ्यका मापदण्ड पालना नगरेको देखाउँछ । जबकी मुख्यमन्त्री आफैं प्रदेशस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशक समितिका संयोजक हुन् । समिति संयोजकसमेत रहेका मुख्यमन्त्री गुरुङले आफैं मापदण्ड उलंघन गरेका छन् ।
भवन शिलान्यास कार्यक्रममा उपस्थित एक स्वास्थ्यकर्मीले मुख्यमन्त्रीबाटै स्वास्थ्य मापदण्ड उल्लंघन भएको बताइन् । अरुलाई सुम्झाउनु पर्नेबेला आफैं मापदण्डविपरित शिलान्यास गर्दै हिँड्नाले राम्रो सन्देश नजाने ती स्वास्थ्यकर्मीको भनाइ थियो । ‘स्वास्थ्य मन्त्रालयसमेत आफैं सम्हालिसकेपछि सामान्य मापदण्ड भए पनि पालना गरिदिएको भए हुन्थ्यो । त्यसले राम्रो सन्देश दिने थियो,’ उनले भनिन् ।
१० दिनपछि संक्रमितबाट कोरोना सर्दैन, तर मापदण्ड मान्नुपर्छ ः प्रदेश स्वास्थ्य निर्देशनालय
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्मा स्वयं शिलान्यास कार्यक्रममा सहभागी थिए । उनले सामान्यता कोरोना पुष्टि भएको १० पछि भाइरस नसर्ने तर, स्वास्थ्य मापदण्ड भने पालना गरिनुपर्ने जानकारी दिए ।
‘कोरोना पुष्टि भएको १० दिनसम्म बन्द आइसोलेसनमा बस्नुपर्छ । योबेला अरुलाई कोरोना सर्छ । तर, त्यसपछि भने संक्रमितबाट अरुमा कोरोना सर्दैन,’ डा शर्माले भने, ‘१० दिनपछि कोरोनाका कुनै लक्षण नदेखिएको खण्डमा सामान्य हिँड्डुल, घरका काम गर्न सकिन्छ ।’
शर्माले १० दिनपछि लक्षण नदेखिए पनि कम्तिमा १४ दिन तोकिएको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने बताए । ‘१० दिनदेखि भाइरस सदैन भनेका छौं । त्यसपछि घरका सामान्य काम गर्ने हो । तर, १४ दिनसम्म अनिवार्य स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ ।’
ठेक्कामा नजाँदै शिलान्यासको हतारो !
गण्डकी प्रदेशमा कोरोना संक्रमित देखिन थालेपछि प्रदेश सरकारले कोभिड उपचार गर्नकै लागि गत असारमा लेखनाथस्थित लायन्स कम्युनिटी अस्पताललाई आफ्नो मातहतमा ल्याउँदै संक्रामक तथा सरुवा रोग अस्पतालमा बनाएको थियो ।
अस्पतालमा कोभिड बिरामीका लागि ५१ बेड छुट्याइएको छ र, अहिले ती सबै बेड कोभिडका बिरामीले भरिएका छन् । उक्त अस्पताल नजिकै प्रदेश सरकारले अर्को भवन बनाउने तयारी गरेको छ । हेलिप्याडसहित सय बेड क्षमतासहित बन्ने उक्त अत्याधुनिक भवनको शिलान्यास मुख्यमन्त्री गुरुङले सोमबार गरेका हुन् ।
सम्झौता मितिको १५ महिनाभित्र निर्माण गरिसक्ने प्रदेश सरकारको योजना छ । उक्त योजनाका साथ भवन निर्माणका लागि ९३ लाख ३६ हजार रुपैयाँमा टेन्डर आह्वान गरिएको छ । तर, मुख्यमन्त्रीले टेन्डर प्रक्रिया अन्त्य नहुँदै भवनको शिलान्यास गरेका हुन् ।
‘टेन्डर केही समयअघिमात्रै भएको हो । अझै १, २ हप्ता समय छ,’ एक प्राविधिकले भने, ‘कसले बनाउने भन्नेबारे अझै थाहा छैन । त्यो टेन्डर प्रक्रिया सकिएपछिमात्रै थाहा हुन्छ । अहिले त शिलान्यासमात्रै हो ।’ भवन सय रोपनी क्षेत्रफलमा बन्नेछ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय सचिव विनोदबहादुर कुँवरले भवन पहिलो र दोस्रो गरी २ चरणमा बन्ने जानकारी दिए । उनका अनुसार पहिलो चरणमा बन्ने भवनमा ५३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । ‘पहिलो फेजमा ५० बेडको भवन बन्ने छ । यसमा अस्पतालमा कार्यरत कर्मचारीका लागि आवासीय भवन पनि बन्ने छ,’ उनले भने ।
कुवँरले दोस्रो चरणमा थप ५० बेड क्षमताको भवन बनाउने र अस्पताललाईसय बेड क्षमताको पु¥याउने लक्ष्य रहेको सुनाए । ‘यो अस्पताललाई हामीले अत्याधुनिकसहित २ सय क्षमताको बनाउने लक्ष्य राखेका छौं,’ सचिव कुँवरले भने, ‘यो अस्पताल पूर्ण रुपमा सञ्चालनमा आयो भने संक्रामक तथा सरुवा रोगमा नेपालकै उत्कृष्ट हुनेछ ।’
संक्रामक तथा सरुवा रोग उपचार अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचन अस्पताल निर्माण सम्पन्न भएपछि जटिलभन्दा पनि जटिल रोगहरुको उपचार गर्न आफूहरु सक्षम हुने दाबी गरे । ‘अहिले अस्पतालमा सघन उपचार कक्ष अभावका कारण केही समया देखिएका छन् । तर, यो भवन सञ्चालन भएसँगै जटिलभन्दा पनि जटिल रोगहरु यहीं उपचार गर्न सक्षम हुनेछौं,’ उनले भने ।
बजेट कोरोना केन्द्रित : मुख्यमन्त्री गुरुङ
नेपाल सरकारले गत मंसिर १५ गते नै सबै संक्रामक अस्पतालको शिलान्यास गर्न भने पनि गण्डकीमा ढिलो भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । ‘हामी पपुलारिटीका लागि शिलान्यास गर्दैनौं, हाम्रो कामचाहिँ सबै डिजाइन भएर टेन्डर प्रक्रियामा गएर सकिइसकेपछिमात्रै गर्ने भनेर पख्र्या हो । धेरै दिन लाग्यो । यो ऐतिहासिक दिन हो,’ उनले भने ।
मुख्यमन्त्री गुरुङले भवन शिलान्यास अस्पतालको लागिमात्रै नभएर प्रदेश र समग्र नेपालकै लागि सुखद कुरा भएको बताए । ‘नेपालभरिमा हामी सबैको उद्धेश्य भनेको गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल हुनुपर्दछ भन्ने छ,’ उनले भने, ‘प्रदेशले बनाएको यो संक्रामक तथा सरुवा रोग अस्पताललाई एक्सिलेन्स सेन्टर अफ नेपाल बनाउन जरुरी छ ।’ उनले अस्पतालको भवन निर्माण पछि नेपालकै राम्रो सरुवा तथा संक्रामक अस्पताल बन्ने दाबी गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारले अहिले कोरोना महामारी केन्द्रित गरेर बजेटको तयारी थालेको जानकारी दिए । अहिले विकास निर्माणका कामभन्दा पनि जनताको जीवन बचाउने कुरा महत्वपूर्ण भएको बताए । ‘बाटो, पुलको काम अहिलेको लागि सेकेन्डरी कुरा हो । जनताको जीवन बचाउने कुरा पहिलो हो,’ उनले भने ।
गण्डकी प्रदेशमा स्वास्थ्य सुविधा राम्रो भएको भन्दै अन्य प्रदेशका गम्भीर कोरोना संक्रमित पनि गण्डकीमै आउने र उपचारकै क्रममा मृत्यु भइरहेको मुख्यमन्त्री गुरुङको ठहर छ । ‘सबैले गण्डकीमा स्वास्थ्य सुविधा राम्रो छ भनेर गम्भीर प्रकृतिका विरामीहरु उपचार गर्न आउँछन् । स्वास्थ्यकर्मीले उपचार गर्दागर्दै पनि बचाउन सक्दैनन्,’ उनले भने, ‘यसले गम्भीर प्रकृतिको उपचार गर्दा हाम्रो अवस्था कहाँ छ भनेर देखाउँछ । त्यसैले क्रिटिकल ट्रिटमेन्टको अवस्थालाई कसरी सुधार्ने भन्नेमा हामी लाग्या छौं ।’




