पोखरा, १३ जेठ– स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि अध्यक्ष सुधीरकुमार पौडेल ओखती बोकेर घरघरै पुगेका हुन् ।
होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास, सेतिदोभान र फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण सुरु गरिएको अध्यक्ष पौडेलले जनाए ।
अध्यक्ष पौडेलको टोलीमा स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेद कार्यालयका स्याङ्जाका कर्मचारी पनि सामेल भएको गाउँपालिकाका सूचना अधिकृत रोशन लामिछानेले जानकारी दिए ।
टोलीले संक्रमितहरूलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष सुधीकुमार पौडेलले बताए । संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क स्यानिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिनयुक्त औषधि वितरण गर्दा उनीहरूमा आत्मबल बढ्ने अपेक्षा राखिएको अध्यक्ष पौडेलको भनाई छ ।
सेतीदोभानमा २० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माणको तयारी गरिरहेको र आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च पनि गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष पौडेलले बताए ।





