म्याग्दी, १३ जेठ – नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवस अवसरमा प्रेस यूनियन म्याग्दीले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहका बालबालिकालाई स्वास्थ्य साम्रागी र पौष्टिक खानेकुरा वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी बालगृहमा रहेका बालबालिकालाई स्वास्थ्यका लागि महत्वपूर्ण तत्व प्रोटिन र चेबनपास, १५ प्याक मास्क, सेनिटाइजर, एक थान किटाणु मार्ने प्रयोग हुने सेनिटाइजर, डिटोल सावुन लगायतका करिब १५ हजार बराबरको साम्रागी वितरण गरिएको प्रेस यूनियनले जनाएको छ ।
उक्त सहयोग नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम र नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले बाल संगठन म्याग्दीका सचिव सन्दिप खत्रीलाई हस्तान्तरण गरे । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष गौतमले जिल्लामा रहेक पत्रकारहरूको पेशागत हकहीतका लागि महासंघले लड्ने र समस्या भएमा समाधानका लागि समेत सधै तयार रहेको बताए । उनले बालगृहका बालबालिकाई आवश्यक परेमा थप सहयोग समेत जुटाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतम, प्रेस चौतारीका सदस्य सन्दिप रिजाल लगायतले शुभकामना दिए । कार्यक्रमको अध्यक्षता यूनियनका अध्यक्ष शर्मा र सञ्चालन सचिव साधन राम्जालीले गरेका थिए । बालगृहमा अभिभावविहिन १२ बालबालिका रहेका छन् । प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा स्थापना दिवस मनाउँदै आएको छ ।





