शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव

अक्सिजन नपाएर एक सुत्केरीसहित ७ जनाले ज्यान गुमाए ।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १४ २०७८, शुक्रबार

पोखरा, १४ जेठ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको छ। प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहानसम्म अक्सिजनकै अभावले १ सुत्केरी महिलासहित ७ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको हो ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । यही अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चल्यो तर पनि ६ जनाले ज्यान गुमाए । तनहुँका ३ जना, म्याग्दी, पर्वत, पोखरा र स्याङ्जाका १/१ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोभिड-१९ अस्पतालका रुपमा तोकेको छ। गण्डकी प्रदेशकै सबैभन्दा ठुलो यस सरकारी अस्पतालमा अहिलेसम्म आप्नै अक्सिजन प्लान्ट छैन।

कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालका डा. डेभिड श्रेष्ठले अक्सिजन उद्योगबाट नै माग अनुसार अक्सिजन नपाएको बताए। उनका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले दैनिक २४० सिलिण्डरदेखि ३५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ।

गण्डकी प्रदेशका अन्य अस्पतालबाट समेत कोरोनाका गम्भिर बिरामी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै रिफर हुन्छन्। हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई एक दिनमै ३ देखि ४ सिलिण्डर अक्सिजन चाहिने डा. श्रेष्ठले बताए। बिहिबार दिउँसो ४ बजेदेखि नै अक्सिजन माग अनुसार नपाएका कारण बिरामीलाई समस्या परेको उनको भनाई छ।

अक्सिजन अभावबारे अस्पतालले मातहतका उच्च निकाय र गण्डकी प्रदेश सरकार लगायत सबैलाई जानकारी समेत गराइसकेको अस्पतालले जनाएको छ। तत्काल अक्सिजन अभाव हुने बिरामीलाई चाहिने अक्सिजन ल्याउन कुनै पनि निकायले चासो नदिएको अस्पतालकै एक अधिकारीले बताए।

अक्सिजन अभावका कारण १ सुत्केरीसहित ७ जनाले ज्यान गुमाउँदा अन्य अस्पतालमा पनि अक्सिजन अभावकै कारण मृत्यु भएको हुन सक्ने बिरामीका आफन्तले बताएका छन् । ‘अक्सिजनको अभाव छैन भन्छ । तर, त्यही अक्सिजन नपाएर यही अस्पतालमा मात्र ६ जनाले ज्यान गुमाए । अरु अस्पतालको हालत पनि उस्तै होला,’  बिरामीको आफन्तले भने, ‘सरकार यो गम्भीर विषय हो, अक्सिजन कहाँ गइरहेको छ ? नेताजीले बाँडिरहेको देखिरहेका छौं, हामी भने मरिरहेका छौं ।’

उद्योगबाट अक्सिजन उत्पादनमा कमी आउँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र नभई पोखराका अन्य सरकारी र निजी अस्पतालका बिरामी समेत मारमा परेका छन्। पोखराका अधिकांश अस्पतालको आप्नै अक्सिजन प्लान्ट छैन, उनीहरु पनि अक्सिजन उद्योगकै भर परेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->