सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

स्वार्थ लिप्त कांग्रेसमा मनलाग्दी विज्ञ नियुक्ति !

स्वार्थ लिप्त कांग्रेसमा मनलाग्दी विज्ञ नियुक्ति !


  • विजय नेपाली
  • जेष्ठ १४ २०७८, शुक्रबार

‘महाधिवेशनको संघारमा पुगिरहेको बेला यसरी साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई नियुक्ति गर्नु शंकास्पद अवश्य नै छ’

पोखरा, १४ जेठ – नेपाली कांग्रेसले यतिबेला धमाधम विज्ञ नियुक्ति गरिरहेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को ३६ (१) ङ अनुसार धमाधम नियुक्ति गरिरहेको छ । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा स्वार्थलिप्त केही नेताहरुले पार्टीलाई नै धरापमा राख्ने गरी साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई विभिन्न विषयगत समितिमा विज्ञ नियुक्ति गर्नुले आन्तरिक विवाद चुलिएको छ ।
महाधिवेशनमा आफ्नो प्रतिनिधित्व बनाउने हिसाबले नियुक्तिलाई हतियार बनाएको पाइन्छ । यसो त कांग्रेस भित्र पार्टी सभापति शेरवहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला एकातिर छन् । पौडेल र देउवाबीच कहिल्यै जोडी जम्दैन तर, जिल्लामा भने त्यो भन्दा भ्रष्टको राजनीति हुन्छ । केन्द्रीय नेताको नजिक रहेका जिल्लागत नेताहरुले आफ्ना पछाडि नजिक हुने व्यक्तिलाई अघि बढाउछन् । जुन कुरालाई अहिलेको नियुक्तिले स्पष्ट पारेको पाइन्छ । नियुक्ति प्रति पौडेल पक्षका मात्र नभई देउवा पक्षकै पुराना नेता तथा कार्यकर्ताहरुको पनि असन्तुष्ट रहेको छ ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सामाजिक संजालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले नियुक्ति धमाधम हुनुमा शंका व्यक्त राखेका छन् । उनले लेखेका छन्, ‘मैले कमेन्ट गर्दा पढ्नेले के ठान्नु हुन्छ कुन्नि ? नलेखौं भन्दा भन्दै आज त लेख्न बाध्य भएँ । जिल्ला प्रदेश स्थानीय तह कसैसँग सम्पर्क नगरी नियुक्ति गर्दै पठाउँदै गरेको देख्दा सिफरिस गर्ने को रहेछ ? थाहै भएन शंका लागेको छ ।’
केसीले नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल दलित संघ कास्की जिल्ला सचिवसमेत रहेका गोविन्द नेपालीले लेखेको स्टाटसमा कमेन्ट गरेका हुन् । उनले नियुक्ति पत्रको फोटो हाल्दै लेखेका छन्, ‘यो पत्र आजभोलि कांग्रेसमा कति सस्तो भएको हो ? भन्दा विरोध गरे जस्तो हुन्छ तर सायद राजकुमारी ज्युलाई नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ कास्कीका अधिकांश साथिहरुले चिनेका छैनौं । तै पनि कास्कीबाट सदस्य हुनुभएको रहेछ हार्दिक बधाइ ।’
कास्कीका एक नेताले आफ्नो स्वार्थका लागि पार्टीको प्रयोग गरेको आरोप लगाए । उनले महाधिवेशनलाई लक्षित गर्दै केहि व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थका लागि नियुक्ति दिने काम गरेको बताए । ‘महाधिवेशनको संघारमा पुगिरहेको बेला यसरी साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई नियुक्ति गर्नु शंकास्पद अवश्य नै छ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘देउवा पक्षका व्यक्तिले पार्टीलाई धरापमा राख्दै यस्तो कदम उठाएका हुन । यो केन्द्रले गठन गरेको हो । विभागमा एकलौटी तरिकाले चाकडी गर्ने व्यक्तिको नाम सिफारिस गर्दै लाँदा देउवा पक्षकै पुराना कार्यकर्ता समेत पाखा लाग्न बाध्य भएका छन् ।’
नियुक्तिको विषयमा देउवापक्षकै पुराना र इमान्दार नेताहरुको व्यापक असन्तुष्टि रहेको ती नेताको दाबी छ । ‘अहिले जति सक्छन् त्यति नै नियुक्ति गरुन् महाधिवेशनले देखाउँछ सबैकुरा । संस्थापन पक्षले पेलेरै विवादको सरोकार नगरी एक पक्षीय ढंगले नाम सिफारिस गरेको स्पष्ट छ,’ उनले भने ।
नियमित राजनीतिक नियुक्ति दिनु ठूलो कुरा नरहेको तर आजसम्म साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई विज्ञ भन्दै नियुक्ति दिनुमा ठूलो चलखेल भएको ती नेताको आरोप छ । ‘साधारण सदस्यको त के कुरा कुनै पनि कार्यक्रममा समेत सहभागिता नजनाएका व्यक्तिलाई नियुक्ति गरेको पाइयो यो निकै दुखद् हो,’ उनले भने, ‘जिल्ला प्रदेशगत सम्पर्क र समन्वयबिना नै विभागले पनि धमाधम सिफारिस गरेको देखिन्छ ।’
विभागले सिफारिस गरेका व्यक्ति प्रतिनिधिसम्म पनि आउन नसक्ने ठोकुवा गरे । नियुक्ति भएका व्यक्ति विभाग र विज्ञ कुनै हालतमा आउन नसक्ने बताए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेकी पोखरा महानगरपालिका उपमेयरका उम्मेदवारी सरस्वती गुरुङ र केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा प्रतिष्ठानका सदस्यसमेत रहेका किशोरदत्त बरालको हात रहेको आरोप लगाए । उनले गुटको भक्ति देखाउन स्वार्थको प्रयोग गर्दा पार्टीलाई नोक्सान पुग्ने देखिएको बताउँदै यसमा केन्द्रको पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->