शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बारपाकमा कोरोना त्रास: गम्भीर बिरामीलाई हेलिकप्टरबाट उद्धार

बारपाकमा कोरोना त्रास: गम्भीर बिरामीलाई हेलिकप्टरबाट उद्धार


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १६ २०७८, आइतबार

पोखरा, १६ जेठ – गोरखा, बारपाककी २४ वर्षीय युवती विगत एक सातादेखि बिरामी छिन् । उनको शरीर सुनिएको छ । डायरिया र निमोनियाले ग्रस्त बनेकी छिन् । लामो समयदेखि पिसाब नभएकाले किड्नी पनि खराब भएको हुन सक्ने स्वस्थ्यकर्मीहरुले आशंका गरेका छन् ।
स्वास्थ्य निर्देशनालय, गण्डकीका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार उनको अक्सिजन लेभल पनि ६५ भन्दा कम छ । उनलाई गाउँमै प्रति सेकेन्ड ८ लिटर अक्सिजन दिँदामात्र अक्सिजन लेभल ९२ सम्म पुगेको जनस्वास्थ्य निरिक्षक दानीले बताए ।
कोरोना भाइरस नियन्त्रण बाहिर जान लागेपछि गाउँपालिकाको आग्रहमा यतिबेला गण्डकी प्रदेश र जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका स्वास्थ्यकर्मीको टोली बारपाकमा छन् । उनीहरु कोरोना भाइरसको ऐन्टिजेन परिक्षण र उपचारमा खटिएका छन् ।
ती युवती शुक्रबार नै कोरोना परिक्षण गर्न राखिएको शिविर पुगेकी थिइन् । तर परीक्षण नगरी फर्किइन् । रोगले चापेपछि उनलाई आफन्तले फेरि शनिबार शिविर लगे । एन्टिजेन परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । उनको स्वास्थ्य अवस्था निकै नाजुक भएकाले सवारी साधनबाट अस्पताल लैजान स्वास्थ्यकर्मीले सम्भव देखेनन् ।
प्रदेश सरकारसँग समन्वय गरेर उनलाई तत्काल हेलिकप्टर मार्फत काठमाडौं मेडिसिटी अस्पताल पठाएको जनस्वास्थ्य निरिक्षक दानीले बताए । ‘एम्बुलेन्समा अस्पताल लैजाँदा बाटोमै तलमाथि हुने देखेर हामीले हेलिकप्टर मार्फत उनको उद्धार ग¥यौं’, दानीले भने, ‘हेलिकप्टर चार्टर खर्च प्रदेश सरकारले बेहोर्छ ।’
कोरोनाको गम्भीर असर देखिएका अन्य २ जनालाई भने एम्बुलेन्समार्फत जिल्ला अस्पताल गोरखा पठाएको दानीले बताए । एम्बुलेन्समा अस्प्ताल जानेहरुमा एक जना २९ वर्षीय र अर्का ६० वर्षीय महिला छन् ।
बारपाकमा कोरोना महामारी नियन्त्रण बाहिर जाने अवस्था देखिएपछि गाउँपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय र गण्डकी प्रदेश सरकारसँग सहयोग मागेको थियो । सहयोग माग्नासाथ प्रदेश र जिल्ला जनस्वास्थ्य कार्यालयबाट चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली बारपाक पुगेको थियो ।
स्वास्थ्यकर्मीको टोलीले २ वटा शिविर बनाएर एन्टिजेन परिक्षण गरिरहेको छ । पिसिआर परिक्षण गर्न स्वाब लिएको र शनिबार राती नै पोखरा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी गरेको दानीले बताए । बारपाकमा शुक्रबार साँझसम्म ९२ जना कोरोनाका सक्रिय संक्रमित रहेको उनले जानकारी दिए । बारपाकमा कोरोना संक्रमण परिक्षण गराउन जाँदा शुरुमा स्थानीय डराएका थिए । संक्रमित भएपछि गाउँलेले गर्ने व्यवहार र डरका कारण स्थानीय डराएपनि अहिले त्यस्तो अवस्था नरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
बारपाकमा ४, ५ दिनयता झरी पर्दासमेत शुक्रबारदेखि स्थानीय कोरोना परीक्षण गराउन आएको जनस्वास्थ्य निरीक्षक दानीले बताए । कोरोना संक्रमण भएकालाई होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका बारेमा प्रशिक्षण दिएको थियो ।
‘बारपाकमा संक्रमितलाई राख्न आइसोलेसन छैन, होम आइसोलेसनमै सुरक्षित भएर बस्न प्रशिक्षण दियौं’, दानीले ढोरपाटनलाई भने, ‘श्वास प्रश्वास वा अरु समस्या आए शिविरमा सम्पर्क गर्न भनेका छौं ।’
बारपाकमा अहिले प्रदेश स्वास्थ्य निर्देशनालयबाट कन्सल्टेन्ट डा. सन्तोष बास्तोलाको नेतृत्वमा १० जना र जिल्ला अस्पताल गोरखाका मेडिकल अधिकृत डा. सन्दिप श्रेष्ठको नेतृत्वमा ५ जना स्वास्थ्यकर्मीको टोली खटिएका छन् । उक्त टोलीमा कन्सल्टेन्ट डा. ज्योति रानाभाट, डा दिव्याश्री भट्टराई लगायत नर्स र अन्य स्वास्थ्यकर्मी छन् । बारपाकमा बैशाख अन्तिम यता कोरोना संक्रमणबाट १३ जनाको ज्यान गइसकेको छ । प्रदेशबाट खटिएका स्वस्थ्यकर्मीको टोली भोलिसम्म बारपाकमै बस्ने दानीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->