यतिबेला निकै चासो र चिन्ताको विषय भनेको देशमा चलेको राजनीतिक अवस्थालाई लिएर नै हो । २०४७ सालमा आएको परिवर्तनले सृजना गरेको असहज परिस्थिति होस् वा २०५२ सालदेखि माओवादी जनयुद्धले ल्याएको द्वन्दात्मक अवस्था नै किन नहोस् । अथवा १२ बुँदे दिल्ली सम्झौतापछि केही मुठ्ठीभरका सत्ताधारी नेता र अधिकारवादी मनुष्यले भन्ने गरेको आमुल परिवर्तन किन नहोस् । कुनै पनि परिवर्तनले देश र जनताको हितमा कदापी राजनीति गरेनन् वा देश जनताको हकहितका लागि स्वच्छ राजनीति गरिएन । सबैलाई लाग्न सक्छ आन्दोलन र परिवर्तनलाई स्वीकार गर्न नसक्ने कस्तो प्रतिगामी, पुरातनवादी, पाखण्डी वा निरंकुश, रुढीबादी भन्ने आरोप पनि लाग्ला । एक स्वतन्त्र नागरिकलाई कसैले कुनै वादीका उपमा भिराउँदैमा कुनै फरक भने पर्दैन ।
अब लागौं राजनीतिको खास अर्थतर्फ
राजनीतिलाई खासगरी बुझ्नुपर्दा दुई शब्दको एक समूह राज+नीति भनेर बुझ्दा उपयुक्त हुन्छ । (राजको मतलब शासन र नीतिको मतलब उचित समय, उचित स्थानमा उचित कार्य गर्ने कार्य कौशलताको कला) अर्थात् ब्यक्तिद्वारा शासन गर्नु अथवा विशेष उद्देश्य प्राप्त गर्न सक्ने क्षमता राख्नुलाई राजनीति भनिन्छ । एक अर्को शब्दमा भन्दा देश जनताको हितलाई मध्यनजर गर्दै सामाजिक एवं आर्थिक स्तर (सार्वजनिक जीवनस्तर)को वृद्धि गर्नुलाई राजनीति भनिन्छ । नागरिकको स्तरमा या व्यक्तिगत स्तरमा विशेष प्रकारको सिद्धान्त एवं व्यवहारलाई नै राजनीति हो भनेर बुझ्दा अतियुक्ती नहोला । अझै सुक्ष्म, संकीर्ण रूपले भन्ने हो भने शासनमा पद प्राप्त गर्नु तथा सरकारी पदको उचित उपयोग गर्नुलाई राजनीति भनिन्छ । राजनीतिमा अधिक मार्ग अपनाएको पाइन्छ । एक कुसल राजनीतिज्ञले आफ्नो लक्ष, उदेश्य, विचारलाई अगाडी बढाउने, विधि विधान बनाउने । शत्रु, विरोधी वा विपक्षीका विरुद्धमा कलाकौशल पुर्ण तरिकाले युद्ध गर्नु वा शाम, दाम, दण्ड, भेद आदि शक्तिको प्रयोग गर्दै आफ्नो प्रभुत्व कायम राख्न सक्नु वा बैरी परास्त गर्नु आदि इत्यादि । खास अर्थमा भन्नुपर्दा दुरदर्शिता बहन गर्न सक्ने राजनीतिले विशाल स्तरको अगुवाई गर्न सक्छ । सामान्य रुपमा बुझ्दा घरपरिवार, साथीभाइ, गाउँ, समाजको परम्परागत राजनीतीदेखि लिएर स्थानीय सरकार, प्रदेश र केन्द्र सरासर हुदै सम्प्रभुत्वपूर्ण राज्यसंगै अन्तराष्ट्रिय स्तरसम्म पनि असल र अहम् भुमिका खेल्दै जननी जन्मभूमिप्रति बफादार हुनसक्ने कार्य क्षमतालाई नै असल राजनीति भनेर बुझ्नुपर्छ ।
राजनीतिको इतिहासलाई केलाउने हो भने यो अति प्राचीन छ । जसको विवरण विश्वको सबैभन्दा प्राचीन सनातन धर्म ग्रन्थमा समेत पढ्न सकिन्छ । राजनीतिको शुरुवात रामायण कालभन्दा पनि प्राचीन कालदेखि भएको मानिन्छ । महाभारत महाकाव्यमा राजनीतिलाई सर्वाधिक केलाउन सकिन्छ वा बुझ्न सकिन्छ । चाहे राजनीति चक्रव्यूह रच्नु होस या जुवामा पाण्डवलाई हराउन रचिएको जालसाजीपुर्ण कपटी पासा नै किन नहोस् । अधिक रुपमा राजनीतिका जनक (पिता) भनेर अरस्तुलाई बुझिन्छ । अचेल आम मानिसले राजनीतिक विषयमा नकारात्मक टिकाटिप्पणी गर्दै गलत विचार राखेको पाइन्छ । खराब आचरणका स्वार्थी राजनीतिज्ञले गर्दा नै देशको राजनीति फोहोरी भएको छ । हामी सबैले यो बुझ्न जरुरी छ कि राजनीति मानव जिवनमा अति महत्वपूर्ण हुन्छ । यो जुन कुनै समाजको अविभाज्य अंग पनि हो । पृथ्वीनारायण, बहादुर शाहदेखि लिएर जंग बहादुर लगायत राजा महेन्द्र र योगी नरहरि नाथलाई समेत कुसल राजनीतिज्ञ मान्न सकिन्छ । अचेल नेपालको राजनीतिलाई हेर्ने हो भने यो २००७ सालदेखि नै व्यक्तिगत स्वार्थमा गुजुल्टिएर एउटा रौको गुजुल्टो जस्तै बनेको छ । जुन राजनीतिक गाँठो कुनै बुद्धि विवेकले सहज रुपमा फुकाउन कठिन छ । तर पनि असल राजनीतिद्वारा नै गाउँ समाज छिमेक स्थानीय सरकारहुँदै प्रदेश सरकार र केन्द्र सरकारमा परिवर्तन ल्याउनु र देशलाई एक सवल सक्षम राष्ट्र बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रभाव बनाउन सबैले हातेमालो गर्दै अगाडी बढ्नुको विकल्प छैन । यि त भए राजनीतिको अर्थ र भावनाहरु, अब लागौ अहिलेको नागरिकता अध्यादेश र यसको असरका बारेमा ।
नागरिकताको गलत प्रयोग आज मात्र नभएर इतिहासमा पटकपटक भएको पाइन्छ । नेपालको नागरिकता इन्डियन र भुटानीले मात्र हैन । तिब्बती, पाकिस्तानी, अफगानिस्तानी, बंगाली, बर्मेलीसंगै ताइवानी र इन्डोनेसियनले समेत प्रयोग गरेको कुरा बेला बेला चल्छ । खासगरी खुलेआम नागरिकताको बिक्रीवितरण बहुदलीय व्यवस्था हुँदै आएको ०६२÷६३ को परिवर्तनपछि लगभग ४० लाख गैर नेपालीले नागरिकता पाएको कुरा कसैले छिपाएर छिप्न सक्दैन । यहि परिवर्तनले ल्याएको संविधानको धरातलमा टेकेर नै अझै लाखौं गैर नेपालीलाई नागरिकता दिलाउन संसदमा कयौंपटक बहस नचलेको पनि हैन । ०३६÷२०३७ सालमा बहुदलीय कि पंचायत भन्दै गरिएको जनमत संग्रहमा नवराज सुवेदीले पंचायतलाई जिताउन लखौ भारतियलाई नागरिकता दिएर भारतीय तस्कर चोथमल जाटियाबाट ४ करोड १० लाख रुपैयाँ लिएका थिए । सोबारे राष्ट्रिय पंचायतका पूर्वअध्यक्ष सुवेदीले आफ्नो पुस्तक ‘इतिहासको कालखण्ड’को पृष्ठ ४२–४४ मा लेखेका छन्ः ‘पञ्चायतकालमा चोथमल जाटियालाई दुई नम्बर व्यापारीको जनक भनिन्थ्यो । आफूलाई एक नम्बर दुई नम्बर व्यापारीको मतलब नभएको केवल पञ्चायत जिताउन पैसा चाहिएको थियो । उनीसँग तीन ओटा माग राखेपछि शर्त अनुसार साढे ३ करोड दिन राजी भए । ती शर्तहरू थिए (१) नेपाली नागरिकता, (२) काठमाडौँमा कटन मिल (३) आफूसँग ठूलो मात्रामा रहेको सर्पको छाला विदेश निकासी गर्न पाउनुपर्ने माग । सुवेदीले प्रधानमन्त्री थापाको सल्लाह अनुसार जाटियाका शर्त स्वीकार्दै उनीबाट ४ करोड १० लाख रूपैयाँ लिएको र सो पैसा पञ्चायतलाई जिताउन जनमत संग्रहमा प्रयोग गरेको उल्लेख गरेका छन् । पंचायतकालमा सुवेदी ताइवानी नागरिकलाई समेत नागरिकता दिएको भनेर पनि विवादमा मुछिएका थिए । विदेशीलाई नागरिकता बेच्ने काम विगत २००७ सालका दिनहरुदेखि हुँदै आएको भएपनि यतिबेला वर्तमान संबिधानमै टेकेर अध्यादेशमार्फत सरकारले विदेशी नागरिकलाई कानूनतः नेपाली नागरिकता दिने बाटो खुलाएको छ, जुन संबिधान र सरकारी निर्णय मुलुकको हितविपरीत छ । यसरी आफ्नै देशलाई विदेशी नागरिकको क्रिडास्थल बनाएर मातृभुमिप्रति गद्दार गर्ने परिवर्तनलाई कदापि असल राजनीति मान्न सकिदैन र मान्नु पनि हुदैन ।
एक अरब २० करोड जनसंख्या भएको मुलुकसंग खुल्ला सिमाना भएको हाम्रोजस्तो सानो र कमजोर मुलुकले नागरिकता सम्बन्धि अध्ययन अनुसन्धान नगरी नागरिकता वितरण गरेको खण्डमा इन्डियन सिक्किम, आसम, मेघालय, अरुणान्चल, पश्चिम बंगाल, बिहार, युपी, उत्तराखण्ड, दिल्लीलगायत बंगालादेशीले समेत नेपालमा घुसेर नागरिकता लिँदा वास्तविक नेपालीको जनसंख्यालाई अल्पमतमा पार्दै नेपाल एक सार्बभौम मुलुकबाट एउटा इन्डियन प्रान्त बन्न धेरै समय कुर्नु सायदै नपर्ला । वा नेपाल देश फिजी जस्तो बाह्य जनसंख्याको शिकार नबन्ला भन्न सकिदैन । फिजीमा सन् १९७७ मा भारतीय मूलका नागरिकलाई नागरिकता दिने फिजी सरकारको निर्णयपछि बिस्तारै आवादी बढ्दै जान थाल्यो र सन् १९८७ देखि १९९० सम्म फिजीमा संविधानबिहीन भैकन राजनीतिक उथलपुथलले अस्थिर रह्यो । यहीँ अवस्था, संबैधानिक संकटको फाइदा उठाएर भारतले त्यहाँ रहदै बस्दै आएका भारतीय मूलका नागरिकलाई नागरिकता दिनुपर्ने दबाब दियो । यसअनुसार फिजीमा जन्मेका जोसुकै भारतीय नागरिकले सहजै नागरिकता पाए । सन् १९८१ मा जम्मा ५८८ जनाको संख्यामा रहेका भारतीयहरु १९९६ सम्म पुग्दा ३ लाख ३९ हजार अर्थात् फिजीको जनसंख्याको ४०% र हाल ५५% हुन पुगे । भारतीय नागरिक महेन्द्र चौधरीले त्यहि संबैधानिक कमजोरीलाई टेकेर फिजीको चुनावमा भाग लिएर ७१ सीटको संसदीय चुनावमा ३७ सिटमा जित हासिल गर्दै फिजीको संसदीय प्रधानमन्त्री बने । महेन्द्र चौधरी त्यहाँको प्रधानमन्त्री बनेपछि फिजीका स्थानीयको (रैथानेहरुको) आँखा त खुल्यो तर पश्चाताप लिनु शिवाय अरु केही थिएन । देशको स्थिति अर्कैको हातमा पुगिसकेको थियोे ।
बहुदलीय परिवर्तन र नागरिकताको यहीं व्यथा र मर्मलाई बुझेर राजा विरेन्द्र र ज्ञानेन्द्रले आफ्नो समयमा प्रधानमन्त्रीले लगेको नागरिकता विधेयक फिर्ता गरेका थिए । कयौंपटक सर्वोच्च अदालतमा पठाई सुझाव परामर्श मागेर फिर्ता गरेको थियो । तर १२ बुँदे दिल्ली सम्झौतामार्फत ल्याइएको आन्दोलनले राजदरबारलाई बेघरबार बनाएर गणतन्त्र ल्याएपछि माओवादी क्रान्ति र १२ बुँदेको गुन किस्ता किस्तामा तिर्दै नेपालको नागरिकता बसको टिकटभन्दा सस्तोमा वितरण गर्दैछ । फिजीकरणको यो अभियान जबसम्म ६०% भारतिय मुलको मान्छे नेपाली नागरिक हुँदैन, तबसम्म यो नागरिकताको खेल चलिरहनेछ । भोलिका दिनमा पनि यस्तै स्थिति रहे नेपाल देश पनि फिजी वा सिक्किम नहोला भन्न सकिन्न । आजको यो अवस्थामा आइपुग्नुमा नेपालमा हुँदै गरेको खराब राजनीति एवं तपाईं हामी सबैको उत्तिकै भुमिका छ । त्यसैले आजैको दिनदेखि नेताको पिछलग्गु र दलको कार्यकर्ता हैन देशभक्त नागरिक बनौ, देश जोगाउन लागौं । जय मातृभुमि ।





