पोखरा, १६ जेठ – गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनआजदेखि पोखरासभा गृहमा सुरु भएको छ । पार्टीका संसदीय दलका नेताहरुले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम जारी छ । प्रदेश सभामा चर्चामा रहेको राष्ट्रिय जनमोर्चाको तर्फबाट संसदीय दलका नेता कृष्ण थापा अनुपस्थित भए । उनी उपस्थित नहुँदा जनमोर्चाका सचेतक पियारी थापाले सम्बोधन गरिन् । उनले सम्बोधन गर्दै संघिय संसद विघटनको विरोध मात्रै गरिनन्, प्रदेश राजधानीमा अक्सिजनको अभावमा विरामीले ज्यान गुमाउनु दुःखद भएको वताउदै प्रदेश सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराईन ।
प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले सम्बोधन गरे । उनीहरुले संघिय संसद विघटनको विरोध र नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा प्रस्तुत गरेको बजेटको आलोचना गर्दै प्रदेशसभालाई पनि त्यही दिशामा लैजान खोजेको त होइन भन्ने प्रश्न गरे । उनीहरूले पटक पटक संसद विघटन गर्दै अध्यादेशबाट देश चलाउन खोजिनु दुःखद भएको बताए।
प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वास्थ्य खराबीको कारण आउन नसकेको जानकारी दिदै सरकारका प्रवक्ता मन्त्री रामशरण वस्नेतले सम्बोधन गरिरहेका छन् । उनले विपक्षीलाई सरकार विधि र प्रक्रियाबाट अगाडि वढ्ने जानकारी गराउदै तथ्यमा मात्र विश्वास गर्न आग्रह गरे ।





