२९ मे, १९५३ । ६८ वर्ष अघिको त्यो समय । बिहानको ठीक साढे ११ बजे न्युजिल्यान्डका एडमन हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गेशेर्पाले विश्वकै अग्लो हिमाल सगरमाथामा पहिलो मानव पाइला राखेका थिए । समुन्द्री सतहबाट २९ हजार ३५ फिट उचाइमा रहेको एभरेष्ट नै पृथ्वीको सबैभन्दा उच्च बिन्दु रहेको छ । उनीहरु दुवै जना, ब्रिटिस एक्सपिडिसनको सदस्यहरु थिए ।
अघिल्लो रातको टेन्ट सुताई। २७ हजार ९ सय फिट उचाइमारात बिताउनु चानचुने कठिनाइ थिएन । ज्यादै कष्टकर । त्यसको भोलिपल्ट, अर्थात २९ तारिख । बिहानै शिखर चुम्न सफल भएका थिए दुबैले । उनीहरुको सफलताको कथा विश्वभर फैलियो । जुन २ तारिखमायुकेका महारानी एलिजाबेथ द्धितीयको राज्याभिषेककै सु–अवसरमा आएको त्यो खबर ब्रिटोनहरुले राम्रो संकेतका रुपमा लिएका थिए ।
सगरमाथा एसियाको ग्रेट हिमालयन रेन्जको अग्लो चुचुरो, जो नेपाल र तिब्बतको सिमानामा पर्दछ । चोमोलुङ्मा अर्थात् धर्तीकी माता नामले तिब्बती र स्थानीयमा प्रसिद्ध थियो, यो हिमाल । पछि उन्नाइसौं शताब्दीताका ब्रिटिस सर्बेयर सर जर्ज एभरेष्टको नामबाट यो एभरेष्ट नामले विश्वभर चिनियो । त्यसपछि सबैको ध्यान चुचुरो चुम्नेतिर तानियो तर यति सहज कहाँ थियो र ?तीन भागको दुई भाग आरोहण समय त जेट प्लेनको उचाइभन्दा माथि नै बिताउनुपर्छ । जुन आफैंमा चुनौतिको विषय रहन्छ । अक्सिजनको कम मात्रा, अत्यधिक कम तापक्रम र अकल्पनीय मौसम परिवर्तनसँग पहिलेदेखि मानसिक रुपमा तयार भएर उक्लिनुपर्छ । नत्र जीवनकै अन्तिम सास सगरमाथाको काखमै ।
यसभन्दा पहिला पनि धेरै आरोहणका प्रयासहरु नभएका हैनन् । पलिहो हुने अभिलाषा कसलाई हुँदैन र ?पहिलो आधिकारिक आरोहणको प्रयास भने १९२१ मा ब्रिटिस एक्सपिडिसनले गरेका थिए । त्यो पनि उत्तरी भागबाट । तिब्बती पठारबाट करिब ४ सय माइल कठिन बाटो पैदलमा हिमालको फेदमा पुगेका थिए, उनीहरु । तर,अपसोच ठुलो आँधीहुरीले उनीहरुको आरोहण बीचैमा पूर्णविराम लाग्यो ।सञ्चारकर्मीले आरोहण टोलीका सदस्य जर्ज म्यालोरीलाई एभरेष्ट चढ्न इच्छा किन जाग्यो भनेर प्रश्न गर्दा उनले मुसुक्क हाँस्दै भनेका थिए, ‘किनकि त्यो त्यहाँ छ ।’
त्यसपछि पनि कैयौं प्रयासहरु नभएका हैनन् आरोहणको । तर, सबै विभिन्न कारणले मिसनमा सफल हुन सकेका थिएनन् । पछिल्लो प्रयास भने १९५२ मा स्विस आरोहण टोलीले गरेका थिए । दुई आरोही रेमोन्ड ल्याम्बर्ट र तेन्जिङ नोर्गे २८ हजार २ सय १० फिटसम्म पुगेका थिए । चुचुरोको मात्र केही फिट तल । तर, अपर्याप्त खानेकुराले उनीहरु फर्कन बाध्य भएका थिए ।
सफलताको नजिक पुग्न लागेको सुइस टोलीले ब्रिटिस एक्सपिडिसनको टोली हौसिए र जोन हन्टको कमान्डमा १९५३ मा आराहेण दल सगरमाथा उक्लिए । एकदमै अनुभवी शेर्पा तेन्जिङ नोर्गे, न्युजिल्यानडका नामी आरोही जर्ज लोवी र एडमन्ड हिलारीलगायत १० आरोहीहरु थिए टोलीमा । अचम्मको कुरा त यो थियो कि १० आरोहीका लागि ३५० जना भरियाहरु, २० जनाको शेर्पा टोली र टनका टन सामान उनीहरुसँगै सगरमाथा उक्लिँदै थिए ।
बेस क्याम्प पुगेर टोली नाइके जोन हन्टले आरोहण गर्ने टोली निर्धारण गरे । पहिलोमा परे चाल्र्स इभान्स र टम बर्डीलन । २६ मे मा उनीहरु दुवै शिखरतिर लागे तर लगभग चुचुरोको ३ सय फिट तलबाटै फर्कनु प¥यो । किनकि उनीहरुको अक्सिजन सिलिन्डरमा केही खराबी देखिएको थियो ।
त्यसको ठीक २ दिनपछि तेन्जिङ र हिलारी मास्तिर उक्लिए । उनीहरुको बास थियो २७ हजार ९ सय फिटको उचाइमा । अर्कोदिन बिहानै उनीहरु चुचुरोतिर प्रस्थान गरे । ९ बजे बिहान दक्षिणी चुचुरोमा पुगेका थिए भने त्यसपछिको भिरालो बाटो छिचोल्न एक घण्टै लाग्यो । मध्यान्नको एघार बजेर तीस मिनेटमा चुचुरोमा पुगेका थिए । उनीहरुले केवल पन्ध्र मिनेट चुचुरोमा बिताएका थिए । चुचुरोमा उभिएर हिलारीले तेन्जिङको फोटो खिचिदिएका थिए, जुन विश्वभर प्रसिद्ध भयो । तेन्जिङले क्यामरा चलाउन नजानेकाले हिलारीको भने कुनै फोटो कैद गरिएन ।
उनीहरु दुवै चुचुरोमा पुगे भन्ने खबर क्षणभरमै विश्वभर फैलियो । तर पहिलोमा पनि दुईमध्ये को पहिला पुगे त भन्ने विषय सबैका लागि चासोको विषय थियो । तेन्जिङलाई नेपाल र भारतीय मिडियाले पहिला उनी पुगेको भनेर स्वीकार्न दबाब दिएका थिए । एक्लैले यो आरोहण सम्भव नहुने भएकाले पछि दुवैले एकैपटक आरोहण गरेकोे आपसी सम्झौता गरे ।
वास्वतमै भने तेन्जिङले को पहिलो र को दोस्रो नसोचेको बताउँदै प्रथम पाइला हिलारीकै परेको बताउँदै उनले आफ्नो आत्मकथा लेखेका छन्, ‘हिलारी पहिले चुचुरोमा उक्लिए । र, उनीपछि म ।’ उनले थपेका थिए, ‘यो मेरो वा हिलारीको जितभन्दा पनि प्रकृतिमाथि सिंगो मानव जातिकै जित हो ।’
यहीँ कुरा हिलारीले पनि आफ्नो आत्मकथा ‘भ्यु फ्रम दि समिट’ मा यसरी लेखेका छन्, ‘मैले हिउँको थु्रपोलाई छिचोल्दै पाइला सार्दै अघिबढ्दै थिएँ । केही पलमै जताततै हिउ नै हिउँ भएको सम्म परेको भूभाग देखँे । लाग्यो यो नै चुचुरो हुनुपर्छ । बिस्तारै तेन्जिङ पनि माथि आइपुगे । हामी आश्चर्यचकित भावमा वरपर हे¥यौं । लाग्यो हामी संसारकै टुप्पामा छौं ।’
त्यसको केही दिनमै अर्थात जुन १ मा यो खबर महारानी एलिजाबेथ द्धितीय कहाँ पुग्यो । अनि विश्वभर फैलिन केही समय नै लागेन् । त्यसै वर्ष हिलारी र हन्ट दुबैलाई महारानीले नाइट कमाण्डर अफ अडरका रुपमा सम्मानित गरेकी थिइन् भने नोर्गेलाई भने ब्रिटिस एम्पाएर मेडलले सम्मानित गरिएको थियो ।
सगरमाथा आरोहण गरेसँगै उनीहरु दुबैको प्रसिद्धि विश्वभर चुलियो । पछि सगरमाथा आरोहणको पचासौं वार्षिकोत्सवका अवसरमा सन् २००३ मा हिलारीलाई नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गरियो, उनी नै यो नागरिकता पाउने पहिलो विदेशी नागरिक थिए ।यता, भारत सरकारले सन् २००८ मा उनलाई पद्म विभूषणबाट सम्मानित गरेको थियो ।
हिलारी र तेन्जिङको अटुट सम्बन्ध लामो समयसम्म रहिरह्यो, अटल सगरमाथा जस्तै । हिलारीले सन् १९६० मा ग्रामीण क्षेत्रहरुमा अस्पताल र विद्यालयहरु स्थापना गर्ने विचारले हिमालयन ट्रस्ट नामक संस्था स्थापना गरे । जसले एभरेष्ट क्षेत्र र नेपालका विकट क्षेत्रहरुमा सयौं विद्यालयहरु र केही अस्पतालहरु स्थापना गरिसकेका छन् । त्यसैले पनि सगरमाथा क्षेत्रमा अझै पनि हिलारीलाई भगवान सरह आदर र सम्मान भाव प्रकट छन्, खुम्बुबासीहरु ।
पछि उनीहरुको सम्झना स्वरुप नेपाल सरकारले लुक्ला एयरपोर्टलाई तेन्जिङ–हिलारी एयरपोर्टको रुपमा नामकरण गरियो । रोचक कुरा, सन् २००२ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेका छोराहरु पिटर हिलारी र ज्याम्लिङ तेन्जिङ नोर्गेले सामूहिक रुपमा सगरमाथाको सफल आरोहण गरेका थिए ।
उनीहरुको १९५३ को आरोहण सफलतापछि भने धेरैले शिखर चुम्ने सपना पूरा गरिसके । १९६० मा चिनियाँ टोलीले तिब्बतीतर्फबाट पहिलोपल्ट आरोहण गर्न सफल भए भने सन् १९६३ मा जेम्स ह्टिेक्कर सगरमाथा चुम्ने पहिलो अमेरिकी नागरिक बने । यता, पहिलो महिलाका रुपमा सन् १९७५ मा जुन्को ताबाईले आफ्नो नाम अमर राख्न सफल भइन् । तीन वर्षपछि इटाली नागरिक रेनहोल्ड मेस्नर र अस्ट्रियाली नागरिक हबेलरले बिना अक्सिजन आरोहण गरे । यता हालसम्म आरोहणको प्रयासमा ३ सयभन्दा बढी आरोहीहरुको मृत्यु भइसकेका छन् ।
सन् १९९६ मा सगरमाथामा ठूलो घटना घट्यो । आठ जना आरोहीहरु आँधीहुरीका मृत्युको सिकार भए, जुन प्रसिद्ध पुस्तक ‘इन्टु दि थिन एयर’ मा जोन क्राकोयरले वृतान्तमा लेखेका छन् । समय समयमा अत्याधिक ट्राफिक चापका कारण आरोही र सहयोगी सेर्पाहरुको मृत्यु हुने घटनाहरु समाचारका शीर्षक बनिरहन्छन् ।
सबैभन्दा दुखद घटना भने अप्रिल २५, २०१५ मा घटेको थियो । ७ दशमलब ८ रेक्टर स्केलको महाभुकम्पको प्रभाव सगरमाथा आरोहणमासमेत परेको थियो । हिमपहिरोमा परेर १९ जना आरोहीहरुले एकैदिन ज्यान गुमाएका थिए । त्यसैले यसलाई आरोहीहरु कालो दिनको संज्ञा दिन्छन् ।
२०१९ मा विश्वका ८ हजार मिटरभन्दा बढी उचाईका हिमालहरु छोटो समयमा आरोहण गरेर विश्व कृतिमानी रच्ने उद्धेश्यले ‘प्रोजेक्ट पोसिबल’ मा लागेका थिए, नेपाली पर्वतारोही निम्स पुर्जा । उनले त्यही वर्ष सगरमाथा आरोहण गर्ने क्रममा आरोहीको लामो लस्करसहितको तस्विरले विश्वभरको ध्यानाकर्षण गरेको थियो । अत्याधिक आरोही दलको चापका कारणले पनि कैयौं आरोहीहरुले अकालमै ज्यान गुमाउन परेका छन् ।
हलसम्म ४ हजारभन्दा बढी आरोहीहरुले सगरमाथाको आरोहण गरिसकेका छन् । हरेक वर्ष मे २९ गते, पहिलो आरोहणको सम्झनामा सगरमाथा दिवस मनाइदै आइरहेको छ । हिलारी र तेन्जिङको आरोहणले जीवनमा एउटै कुरा सिकाउँछ ।‘सामान्य मानिसले पनि लक्ष्यमा अडिक भएर निरन्तर लागिपरे, जस्तैसुकै जीवनका शिखरहरु पनि चुम्न सक्छन् ।’





