पोखरा, १७ जेठ – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पियारी थापालाई दिएको छ । जनमोर्चा संसदीय दलको बैठकले पियारीलाई दलको नेताको हैसियतले काम गर्न अख्तियारी दिने निर्णय गरेको हो । पार्टीले आन्तरिक रुपमा यो जिम्मेवारी केही दिनअघि नै पियारीलाई सुम्पने निर्णय गरिसकेको थियो ।
जनमोर्चाका महासचिव मनोज भट्टले प्रदेश सभा नियमावली अनुसार संसदीय दलको नेताको अख्तियारी अर्को सदस्यलाई दिन मिल्ने प्रावधान अनुसार पियारीलाई जिम्मेवारी दिएको केही दिनअघि नै सार्वजनिक गरिसकेका थिए । गण्डकीका सत्ता समीकरणको रस्साकस्सी चलिरहँदा सभासद कृष्ण थापाले मुख्यमन्त्री पृथ्वीसुब्बाको पक्ष लिएपछि उनलाई संसदीय दलको नेताबाट हटाइएको थियो ।
जेष्ठ सभासद खिमविक्रम शाहीको अध्यक्षतामा बसेको बैठकको निर्णय भन्दै जनमोर्चाले प्रदेश सभा सचिवालयमा ‘केन्द्रीय कमिटीबाट अर्को निर्णय नआउँदासम्म पियारीलाई नै नेताको रुपमा काम गर्न अधिकृत तोक्न आग्रह गरेपछि प्रदेश सभाले पियारीलाई नै दलको नेताको जिम्मेवारी दिएको छ ।
प्रदेश सभा सचिव हरिराज पोखरेलले आइतबारको मितिमा सूचना प्रकाशित गर्दै सो कुराको पुष्टि गरेका हुन् । गण्डकी प्रदेशको सत्ता समीकरणको चाबी राष्ट्रिय जनमोर्चाको हातमा छ । ६० सदस्यीय प्रदेश सभामा जनमोर्चाले जसलाई समर्थन गर्छ उसकै सरकार बन्ने निश्चित छ । जनमोर्चाका सभासद कृष्ण थापा वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बाको पक्षमा उभिएका छन् भने जनमोर्चाको केन्द्रीय नेतृत्व केपी ओली र प्रदेशमा मुख्यमन्त्रीविरुद्धको मोर्चामा रहेको छ ।
जनमोर्चाका ३ सभासदमध्ये २ जनाले विपक्षी मोर्चालाई सघाउँदा विपक्षी मोर्चासँग कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, संघीय समाजवादीका २ सहित ३१ जना सभासद हुन्छन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ स्वयंले यो पटक बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ ।
त्यस्तोमा कृष्ण थापाकै साथ पाए पनि उनीसँग २९ सभासद मात्रै रहने छन् । अर्थात् उनले सदनको विश्वास गुमाउने अवस्था छ । त्यसपछि मात्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत सिद्ध गर्नसक्ने सभासदको नेतृत्वमा सरकार बनाउन आह्वान हुन्छ । जनमोर्चा स्रोतका अनुसार मुख्यमन्त्रीले विश्वासको मत गुमाउने बेलासम्म कृष्ण थापाले पार्टीको लाइन अनुसार विपक्षी गठबन्धनलाई साथ दिए उनलाई पार्टी सदस्यबाट निलम्बन गरिएकोबारे प्रदेश सभामा जानकारी गरिाइने छैन तर उनी यो पटक पनि पार्टी लाइनको विरुद्धमा उभिए उनको सभासद पद पनि खारेज गर्ने गरी प्रदेश सभा सचिवालयमा जानकारी गराइने छ ।
गण्डकी संसदीय दलमा देखिएको किचलो मिलाउन जनमोर्चाका केन्द्री महासचिव मनोज भट्ट पोखरा आएका छन् । उनी सकेसम्म पार्टीलाई एकजुट बनाउने र केही नलागे आफ्नोतर्फबाट सभासद बनेकाहरुलाई कारवाही नै गरेर भएपनि पार्टीको केन्द्रीय निर्णय कार्यान्यन गराउने अख्तियारीसहित पोखरा आएका हुन् ।





