शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

घर घरमा मास्क, टोलटोलमा उपकरण

घर घरमा मास्क, टोलटोलमा उपकरण

धेरै संक्रमित भेटिएका काठेखोला, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकाका वडा तहमा यो अभियान चलेको छ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७८, मंगलबार
Pulse Oximeter on hand on white background with face mask and pills, measuring blood oxygen level

बागलुङ, १८ जेठ – कोरोनाका संक्रमित, बिरामी र ज्यान गुमाउने बढेपछि काठेखोलाका विभिन्न वडाका घर घरमा मास्क, टोल टोलमा थर्मलगन र अक्सिमिटर अभियान चलाइएको छ ।
संक्रमितको घर घरमा कोरोना किटको रुपमा सबै प्रकारका औषधी र स्वास्थ्य सामग्री वितरण गरिएको छ । जनप्रतिनिधि, गाउँका सामाजिक अगुवा, व्यवसायी र विदेशमा रहेका युवाको सहयोगसमेत जुटाएर ती सामग्री वितरण गरिएको हो ।
स्वास्थ्य सामग्री हरेक घरमा पुग्ने गरी दिइएको वडा नं. १ का अध्यक्ष खड्ग थापाले बताए । ‘हामीले आफ्नो कोषमा दाता समेत खोजेर जुटाएको रकमबाट स्वास्थ्य सामग्री दिएका हौं,’ थापाले भने, ‘अत्यावस्यक पर्ने सिटामोलदेखि अन्य औषधी, सेनिटाइजर र मास्क पनि दिएका हौं ।’
संक्रमितले घरमै प्राथमिक उपचार पाउने, परिवारका सबै सदस्य स्वस्थ्य रहने अवसरका लागि सामान दिएको उनले बताए । लेखानी र बिहुँमा भने स्थानीय र विदेशका युवाले पठाएको रकम परिचालन गरेर सामाग्री वितरणलाई व्यापक बनाइएको छ । स्वास्थ्यकर्मीले पनि घर घरमा स्वास्थ्य परामर्श दिन थालेको वडा अध्यक्ष चित्रकला छन्त्यालले बताइन् ।
कोरोना महामारी बढेपछि चिन्तित गाउँलेहरु सहयोग पाएर खुसी भएका छन् । ‘घरमै आएर स्वास्थ्यकर्मी, पत्रकार र रेडक्रसका पदाधिकारीले भेट गर्नुभयो,’ सिगानाका संक्रमितले भने, ‘परामर्शसहित औषधि पायौं, डर पनि हटेको छ ।’
धेरै संक्रमित भेटिएका काठेखोला, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकाका वडा तहमा यो अभियान चलेको हो । सहयोग जुटाएर हरेक घरमा ५० थान मास्क सहितका सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका कोषाध्यक्ष श्रीधर कंडेलले बताए । कोरोना संक्रमितमध्ये ज्वरो, रुघाखोकी मात्र नभई कतिपयलाई वान्ता, पखाला र शरीर दुख्ने समस्या देखिएको थाहा पाएपछि स्वास्थ्यकर्मीकै उपस्थितिमा आवस्यक औषधिको जोहो गरिएको उनले बताए ।
स्वास्थ्यकर्मीले संक्रमितको अवस्था हेरेर भिटामिन सी, जिंकचक्की, पकेट सेनिटाइजर, लगायतका सामग्री दिएका छन् ।
बडिगाडका युवाले संक्रमितको उपचार तथा आइसोलेसन संचालनका लागि लाखौं रकम जुटाएका छन् । औषधि खरिददेखि संक्रमितलाई अस्पताल लैजाने काममा पनि युवाको अगुवाइमा भएको स्थानीय राजन पाइजाले बताए । ‘हामी संक्रमित भएपनि परिवारमा नपुगोस् भनेर घर जान सकेको छैन,’ पाइजाले भने, ‘अझै संक्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->