पोखरा, २० जेठ – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चावाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको बैठकले थापालाई सांसद पदबाट हटाएको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा बिहीबार दिउँसो दर्ता भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोका संसदीय दलका सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको बताए ।
‘…राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा (२) तथा ३६ को उपदफा (१) बमोजिम मा. कृष्ण थापालाई सांसद पदबाट हटाई स्थान रिक्त गराइदिन अनुरोध छ,’ सचेतक पियारी थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
आज १ बजे बस्ने प्रदेशसभाको बैठकमा सूचना पढेर सुनाइने जानकारी दिदै पोखरेलले निवेदकको माग बमोजिम सांसद पद खारेज हुने बताए ।
यसभन्दा अघि थापालाई पार्टीले कारबाही गर्दै केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि जनमोर्चाले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बागलुङ निर्वाचन क्षेत्र नं. १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
हेर्नुहोस जनमोर्चाले संसद सचिवालयमा वुझाएको पत्र:






