पोखरा, २४ जेठ – नेपाली कांग्रेसले वर्तमान सरकारले कानूनी शासनको धज्जी उडाएको बताएको छ । कांग्रेसका जिल्ला सभापतिहरुले आइतबार १० बुँदे प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जननिर्वाचित संसदप्रति उत्तरदायी रहनुपर्ने मुलुकका कार्यकारी प्रमुख स्वयं प्रतिनिधिसभाप्रति ज्यादै असहिष्णु र पूर्वाग्रही बन्नु प्रतिगमन भएको बताइएको छ ।संसद छलेर अध्यादेश र आदेशको भरमा सत्ता संचालन गर्नु एवं संसदको विश्वास गुमाइसकेर पनि संविधानको प्रावधान विपरीत प्रधानमन्त्री पदप्रति निर्लज्ज आशक्ति देखाइरहनु लोकतन्त्रविरोधी कदम भएको उल्लेख गरिएको छ ।
कांग्रेस सभापतिहरुको ७ वटै प्रदेशमा आयोजित प्रदेशस्तरीय जुम बैठकबाट प्राप्त विचारहरु संश्लेषण गरी सो विज्ञप्ति जारी गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बताएका छन् ।सरकारका प्रधानमन्त्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उपप्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र विखण्डनको आसयमा ‘बहुल राष्ट्र राज्य’ को वकालत गर्ने जस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार भएको पनि उनले बताए ।
संक्रमित परिवारलाई कांग्रेसको सहयोग
आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना संक्रमित शिशुका परिवारलाई कांग्रेसको पहलमा १ लाख ५८ हजार आर्थिक सहयोग गरिएको हो ।
रोल्पा घर भइ विगत ५ वर्षदेखि पोखरामा ज्यालादारी मजदुरी गर्दै आएको सो परिवार आर्थिक संकटमा भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेसका युवा नेता भानु ढकालको पहलमा आर्थिक सहयोग जुटेको हो ।जानबहादुर बुढा मगर अहिले २१ दिने शिशु र श्रीमतीसहित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । सो रकम अस्पतालका निर्देशक डाक्टर भरतबहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ ।
सो परिवारका लागि पोखरा पृथ्वीचोक निवासी ध्रुव गुरुङले ६० हजार, नेका क्रियाशील सदस्य टीकाकुमारी गुरुङले २० हजार, युवा व्यवसायी विश्वराज श्रेष्ठले १० हजार, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रज्वल रञ्जितले १० हजार सहयोग गर्नुभएको छ ।
नेपाली कांग्रेस जिल्ला सदस्य भिम गौतम, नेपाली कांग्रेस कास्की वीपी विपत् कोष, अमरसिंह उच्च माविका पूर्वप्रधानाध्यापक विजयबहादुर थापा, जनप्रिय क्याम्पस स्ववियु सभापति आशिक गुरुङ र युवा व्यवसायी दीपेन्द्र शर्माले ५÷५ हजार, लोटस् युनिफर्मका सिद्वार्थ गुरुङ र मिलि नेपालीले ३÷३ हजार, नेपाल तरुण दलका नेता सुजन सुवेदीले २ हजार सहयोग गरेका छन् । त्यस्तै पोखरा चाउथे निवासी परिचय खुलाउन नचाहने महिलाले १५ हजार र अर्का एक युवाले १० हजार सहयोग गरेकी कांग्रेसले जनाएको छ ।





