‘ह्या, बरु यो भूकम्प भैद्या भए । एकछिन मज्जाले हल्लाउथ्यो अनि सकिन्थ्यो… मर्नेहरु मर्थे, बाँच्नेहरु बाँच्थे । सब कुरा केही समयमै ठीक हुन्थ्यो अनि समय आफ्नै सामान्य लयमा चल्दो हो । तर, यो रोग त हरामी चिज रहेछ । विरामी त मर्छन्, मर्छन्, सद्दे मानिस पनि डर र भय मनभरी पालेर हिँड्नु पर्ने !’
१९४७ मा नामी फ्रेन्च लेखक र दार्शनिक अल्बर्ट कामुले लेखेका थिए नयाँ उपन्यास, ‘द प्लेग’ । जसमा फ्रेन्च अल्जेरियन शहर ओरनमा प्लेगले स्वाहा पारेको कथा समेटिएको छ । कामुले १८४९ मा ओरन शहरले हैजा महामारीले ठूलो संख्यामा मानिसको मृत्यु भएको घटनालाई लिएर आफ्नो उपन्यासको विषयवस्तु बनाएका छन् । ओरन र अन्य छिमेकी शहरहरुमा उनले उपन्यास लेख्नु अगावै धेरै रोगहरुले गिथोलेको थियो । प्लेगले मात्र त्यसताका ३० देखि ६० प्रतिशत युरोपको जनसंख्यालाई सिध्याएको थियो । हुन पनि ७५ देखि २०० मिलियन मानिसको प्लेगबाट मृत्यु भएको इतिहास छ ।
उपन्यासमा, अप्रिल महिनामा हजारौं मुसाहरु खुल्ला ठाउँमा आउँछन् अनि मर्छन् । सुरुमा सामान्य रुपमा लिएको यस घटना बिस्तारै बढ्दै गएपछि सबैको ध्यान तानिन्छ । अधिकारीहरुले मरेका मुसाहरुलाई व्यवस्थापन गर्छन्, अनि अवस्था सामान्यमै फर्किएको आभाष हुन्छ । तर उपन्यासका पात्र डा. बर्नाड लिउ यस घटनालाई फरक ढंगले नियाल्छन् । नभन्दै उनी बस्ने अर्पाटमेन्टको गेटपाले फरक प्रकारको ज्वरो आएर थला पर्छन् र केही समयमै बित्छन् । यस्तै घटनाहरु दोहोरिन थाल्छन् ,शहरभरि । उनी र उनका साथी क्यास्टलले प्लेगको अनुमान लगाउँछन् र अधिकारीहरुलाई तत्काल कदमहरुलाई चाल्न अनुरोध गर्छन् । अरुले भने यसलाई हल्का रुपले लिन्छन् । जब अवस्था नियन्त्रण बाहिर पुग्छ, तबमात्र विभिन्न सुरक्षाका रणनीतिहरु अपनाइन्छन् । तर, समय धेरै ढिलो भइसकेको हुन्छ । मानिसको हिँडडुल रोकिन्छ, शहर क्वारिन्टनमा जान्छ, लकडाउन लागू हुन्छ । त्यतिन्जेलसम्म रोगबाट धेरै मरिसकेका हुन्छन् । दुरुस्तै अहिलको कोरोनाकालिन समयजस्तै ।
मानिसहरु कैदी झैं घरभित्रै थुनिन्छन् । कति आफन्तहरु अन्तै शहरमा थुनिन्छन्, तब न उनीहरुलाई आफ्नाहरुको माया र प्रेमको महत्व थाहा हुन्छ । सुरुमा त स्वार्थले लिप्त मानिसहरु आफ्ना समस्या र पीडालाई मात्र पीडा ठान्थे । अरुको सोच्ने र चिन्तन गर्ने प्रवृत्ति नै कहाँ थियो तिनताका ? पादरी प्यानेलसले त यो यशुले ओरनको पाप पखाल्न मानवहरुलाई सजायको घोषणा गरेको समेत भन्न भ्याए । पछि एक पात्र ओथनका सानो छोरा समेत प्लेगबाटै ज्यान गुमाउन पुग्छन् । पछि डा. लिउले पादरीलाई त्यस बच्चा निर्दोष रहेको भन्दै अवाह नफैल्याउन पादरीमाथि रिस खन्याउँछन् । पछि पादरीलाई यस घटनाले चेत पलाउँछ र उनले सबैलाई यो बताउँछन् कि, निर्दाेष मानवहरुको अकल्पनीय मृत्युले क्रिस्चियनहरुलाई कि त भगवानको पूर्ण विश्वास गर्न कि कत्ति पनि विश्वास नगर्न बाध्य गरेको बताउँछन् । यस्तै घटनाहरु अहिलेको कोरोना महामारीमा पनि निरन्तरता पाइरहेका छन् । विज्ञानले पुष्टि गरेका तथ्यहरुलाई धार्मिक समूह र भिन्न विचारधाराका झुण्डहरुले अफवाह फैल्याउने र स्थितिलाई झन् नाजुक बनाउने क्रम अहिले पनि नभएका हैनन् । हाम्रै देशका नेता भनाउँदाहरु कोरोना भनेको केही पनि हैन, हाछ्यूँ स्याछ्यूँ गरेर पार लाउन सकिहालिन्छ भनेर अवाह फैल्याएकै थिए । जिम्मेवारी कुर्चीमा बसेर गैरजिम्मेवार हर्कतहरु गर्दा देशले ठूलो दुर्गति बेहोर्नुपर्ने ज्वालन्त उदाहरणहरु अहिलेको महामारीमा धेरै देशहरुमा भोगिसकेका छन् ।
पुस्तकमा लेखक कामुले दर्साउन खोजेको अर्को विषय थियो ‘मानव स्वतन्त्रता’ । ओरन शहरमा महामारी तीव्र रुपमा फैलिएसँगै शहर लकडाउनमा जान्छ । सबै नागरिकहरु क्वारिन्टिनमै कैदीझैं कैद हुन्छन् । तर, के मानिसहरु अरु बेला स्वतन्त्र थिए त ? व्यस्त दैनिकी र हरेक दिनको भागदौधले मानिसलाई मानसिक कैदी बनाइसकेको कसैलाई थाहा थिएन । मानिस दिनरात नाम, दाम र कामका लागि कुदिरहेको हुन्छ, जोतिएका जोतिए छन् मेसिन जसरी तर आफ्ना लागि समय छुटाउन बिर्सिसकेका हुन्छन् । निजी स्वतन्त्रता गुमेको पत्तै हुँदैन । हो, यसै यर्थाथतालाई लेखकले प्रस्तुक गर्ने जमर्को गरेका छन् । जुन आजको कोरोनाकालिन समयमा पनि उत्तिकै सान्दर्भिक नै छ ।
कामुले अर्को उजागर गरेको पाटो हो, मानवता र अस्तित्ववाद । नास्तिक कामुले कहिल्यै पनि मृत्यु, पीडा अनि मानव अस्तित्वको कुनै तात्विक अर्थ नभएको बताउँछन् । अनि थप्छन्, मानव मरणशील प्राणी हो, जन्मेपछि मर्नु प्राकृतिक नियम हो । मानव अकल्पनीय, निरर्थक र भयवीत मृत्युको डरैडरमा हरेक दिन जिउँदै मरिरहेका हुन्छन् । जीवनलाई अर्थपूर्ण बनाउन त स्वयं आफ्नै हातमा हुन्छ । त्यसैले उनले बताउन खोजेको मुल भाव भनेकै कि मृत्युसँग लड कि त्यो पीडा सहनुपर्छ ।
महामारीको सुरुका दिनहरुमा ओरनका नागरिकहरु आफ्ना मात्र पीडालाई पीडा ठान्थे, तर विस्तारै समय बित्दै जाँदा जब अवस्था भयवित हुँदै गयो, सबैले महसुस गरे, यो साझा पीडा रहेछ । अनि सबै यसको नियन्त्रणमा एकताबद्ध भएर लागे । सुरुमा मृत्युबाट डराएर भागेका उनीहरु पछि मृत्यु अर्थात रोगसँगै लड्न तयार भए । हुन पनि आखिर प्लेगलाई परास्त पारेरै छाडे । यस्तै अवस्था अहिले कोरोनाकालमा व्याप्त छ । मानिसहरु सुरुका दिनमा यसलाई सामान्य र हल्का रुपमा लिए । बिस्तारै जब नयाँ नयाँ भेरियन्टहरु देखा पर्न थाले तब सारा विश्व एक भएर लाग्दै छ । सम्पन्न राष्ट्रहरु आर्थिक कमजोर राष्ट्रहरुलाई हर तबरले सहयोगका हातहरु फैलाउँदै छ ।
एक्काइसौं शताब्दीमा कोरोना कहर अर्को चुनौतीका रुपमा देखापर्यो । उनले आफ्नो उपन्यासमा प्लेग महामारीले उत्पन्न गरेको सामाजिक, मानवीय र आर्थिक परिर्वतन र आइपर्ने चुनौतिका बारेमा पनि पस्किएका छन् । उपन्यास पढिरहँदा यस्तो लाग्छ, उनले भविष्यमा आइपर्ने यस्तै महामारी र चुनौतीको पूर्व अनुमान गरेका मात्र छैनन्, सरकार, सञ्चार मिडिया र समाजका विभिन्न लाचारीपनले अवस्था कतिसम्म भयावह बन्न सक्छ भन्ने विषयमा कलम चलाएका छन् । उनले कल्पेको परिस्थिति अहिले हामी गुज्रिरहेको कोरोनाकाल हो । दुर्घटना र रोग नितान्त फरक विषयहरु हुन् । पहिलो बिना संकेत आउँछ भने रोगले केही न केही संकेत दिइहाल्छ सुरुवातमा नै । जब हामीले त्यो अल्रामिङ संकेतलाई बुझ्दैनौं वा बुझ पचाउँछौं, तब अवस्था दुरुस्तै अहिलेको जस्तो हुन्छ । सुरुका दिनमा चीनले नै यसलाई ढाकछोप गर्न खोजेको थियो । जब यो एक देश, दुई देश हुँदै सारा विश्व ढाकिँदै गयो, तब न सबले कोरोनाविरुद्ध कदमहरु चाल्न थालेका थिए । अब पनि प्लेग जस्तै कोरोना भविष्यका लागि गतिलो पाठ बन्न सक्छ ।
कामुले अन्तिम अनुच्छेदमा लेखेका छन्, ‘र वास्तवमै मानिसहरुको खुसीको चिच्चाहट शहरभरि छरलिएको छ, डा. लिउ सम्झन्छन्, यसले पक्कै केही न केही अनर्थ निम्त्याउन सक्छ । उनलाई थाहा थियो कि त्यो भिडका भीड मानिसहरुलाई थाहा छैन तर किताब पढेर बुझ्न सक्थे, प्लेगको भाइरस कहिल्यै मर्दैन र हराउँदैन पनि । यो वर्षौ वर्षौँसम्म काठका सामानहरु र सुतीका लुगामा लपेटेर जिउँदै रहन सक्छन् अनि कुनै दिन फेरि ब्यूँतिन नसक्लान् भन्न सकिँदैन । फेरि मुसाहरु उसैगरी मर्न थाल्न सक्छन् अनि शहरको खुसी क्षणभरमै रित्याइदिन सक्छ ।’
हो, यस अनुच्छेदले धेरै तात्विक अर्थ बोकेको छ । यो आजको समयमा पनि सान्दर्भिक नै छ । वैज्ञानिक अनुसार त कोरोना पनि कहिल्यै नहराउन सक्छ । ‘लिभिड टुगेदर उइथ कोरोना’ अर्थात् कोरोनासँगै बाच्न सिक्नुपर्ने अवस्था भविष्यमा नआउलान् भन्न सकिँदैन । त्यसैले अबको विश्वको हरेक आइपर्ने चुनौति र बाधाहरुसँग पौठेजोरी खेल्दै अगाडि बढ्नुको विकल्प छैन ।
अन्त्यमा, हरसमय भगवान प्रत्यक्ष उपस्थित हुनुपर्छ भन्ने छैन । भगवानको भेषमा फ्रन्टलाइनमा अहोरात्र आफ्नै ज्यानको बाजी मारेर डाक्टर, नर्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु हाम्रो उद्धारमा आएका हुन् । हाम्रै जीवनका लागि कति फ्रन्टलाइनमा खटिने तमाम ती भगवानहरुले कोरोनासँगको युद्ध हारेका छन्, ज्यान गुमाएका छन् । हो, उनीहरुहरुप्रति हाद्धिकता र कृतज्ञता जति प्रकट गरेपनि कमी नै रहन्छ । त्यसैले उनीहरुप्रति सम्मानको भाव जागौं ।
त्यसै अल्बर्ट कामुको ‘दि प्लेग’ कोरोनाकालिक अवस्थामा एकपटक पढेकै बेस । बाँकी पुस्तकमा ।





