तनहुँ, २५ जेठ– भिमाद नगरपालिकामा १ सय ७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमितमात्र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा उपचाररत छन् । बाँकी सबै होम आइसोलेसनकै भरमा ।
हुन त नगरपालिकाले भिमाद बजारस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको ५ बेडको आइसोलेसन बनाएको छ । तर, यहाँ १ जना पनि संक्रमित नरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो आइसोलेसनमा १० वटा अक्सिजनका सिलिन्डर व्यवस्थापन गरिएको छ ।
भिडियो एक्सरे सुविधासमेत उपलब्धता रहेको आइसोलेसन होल्डिङ सेन्टरको रुपमा मात्रै प्रयोग हुदैँ आएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बराल बताउँछन् । ‘यहाँचाहिँ केही समय संक्रमितलाई राखिन्छ, हेल्डिङ सेन्टरको रुपमा सञ्चालान भा’को छ’, उनले भने, ‘अलि राम्रो अवस्था छैन भने उता जिपीतिर पठाइन्छ ।’
सामान्य स्वास्थ्य अवस्था भएकालाई होम आइसोलेसनमै राख्ने गरेको बरालले जानकारी दिए । संक्रमितलाई होम आइसोलेसनमा राख्दा संक्रमण झनै बढाएको बराल स्वयं स्वीर्काछन् । ‘यसमा दुई मत छैन । राज्यले, स्थानीय तहले नसकेर केही सीप नलागेर मात्रै हो,’ उनी भन्छन्, ‘नत्र होम आइसोलेसनले कोरोना संक्रमणको चेन ब्रेक गर्न सकिँदैन ।’
बन्दीपुर गाउँपालिकाले पनि बन्दीपुर अस्पतालमा १५ बेडको आइसोलेसन बनाएको छ । आवश्यकता अनुसार ३० बेड बनाउन सकिने यहाँ पनि हाल आइसोलेसनमा बस्ने कोही छैनन् । समाचार तयार पार्दासम्म स्वास्थ्य कार्यालय तनहुँले दिएको तथ्यांकमा ५३ जना बन्दीपुरे संक्रमित होम आइसोलेसनमा छन् । ‘नर्मल केस भा’को कारणले हो । अक्सिजन दिनुपर्नेलाई अस्पतालको आइसोलेसनमा भर्ना गर्ने गर्छौं,’ गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले भने ।
गाउँपालिकामा होम आइसोलेसनमा राख्दा पनि कोरोना नियन्त्रण गर्न सकिएको उनको दाबी छ । ‘संक्रमण देखिएपछि एक घरबाट अर्को घरमा मान्छे गएनन्,’ उनले भने । प्रत्यक्ष संक्रमितलाई भेटेर निगरानी गर्ने उनले जानकारी दिए ।
बन्दीपुर र भिमादको मात्रै हैन जिल्लाका ७ स्थानीय तहका आइसोलेसन रित्तै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँको तथ्यांकले देखाउँछ । व्यास, ऋषिङ र घिरिङका आइसोलेसनमा मात्रै संक्रमित बसेको उक्त तथ्यांकले पुष्टि गरेको छ । शुक्लागण्डकी र भानु नगरपालिकासहित म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । जटिल अवस्थाका एकाध भने पोखरा चितवनका अस्पतालमा उपचाररत रहेको अनुमान छ ।
तनहुँका १० वटै स्थानीय तहमा २ हजार १ सय ८७ जनामा दोस्रो लहर सुरु भएयता कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ सय ३९ निको भएका छन् । ६४ जनाको मृत्यु हुदाँ सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८४ छ ।
तीमध्ये आइसोलेसनमा ७४ जना रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार व्यास नगरपालिकाको आइसोलेसनमा ३०, दमौली अस्पतालको आईसोलेनमा ११, जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा २७, ऋषिङ गाउँपालिकाको आइसोलेसनमा ४ र घिरिङ गाउँपालिकाकोमा २ जना संक्रमित उपचाररत छन् ।
तनहुँका १० स्थानीय तह र २ अस्पतालमा १ सय ९५ बेडको आइसोलेसन तयार छ । दमौली अस्पतालमा ७ आईसियु र ४ भेन्टिलेटर छ । जिपीमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट ल्याएर २ भेन्टिलेटर चलाइएको छ । जिल्लाभर ३ सय १६ सिलिन्डर र २९ एम्बुलेन्स संक्रमितको उपचारका लागि जोहो गरिएको छ ।
बन्दीपुर गाउँपालिकासँगै देवघाट गाउँपालिकाले पनि संक्रमितलाई घरमै गएर भेट्ने गरेको छ । शुक्लागण्डकीका केही वडाले पनि यो अभियान चलाएका छन् । होम आइसोलेसनमा बसेकालाई अधिकांश स्थानीय तहले निरिक्षण गर्न सकेका छैनन् । केही स्थानीय तहका जनप्रतिनिधि संक्रमितको घर–घरै पुगेर उनीहरुको अवस्था निरीक्षण गरेपनि नियमित नहुँदा प्रभावकारी भने भएको छैन ।
स्थानीय जनप्रतिनिधीसंगै टोल बिकास संस्था, परिवारका सदस्यले पनि होमआइसोलेसनमा बस्ने संक्रमितको निगरानी राख्नुपर्ने भिमादका जनस्वास्थ्य अधिकृत बरालको सुझाव छ । सिमिति स्रोत साधनमा आफुहरु संक्रमितको घर–घरमा पुग्न नसकेको उनले बताए । तर, फोनबाटै भएपनि संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, परामर्श दिएर मनोबल उच्च बनाउन काम भइरहेको सुनाए ।




