मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मानव स्रोत व्यवस्थापनमा स्थानीय सरकारको कार्य र जागरण

मानव स्रोत व्यवस्थापनमा स्थानीय सरकारको कार्य र जागरण


  • प्रकाश गैरे
  • जेष्ठ ३० २०७८, आइतबार

अर्थ र अवधारणा
संगठनलाई आवश्यक पर्ने जनशक्तिको पहिचान, माग, भर्ना, छनोट, नियुक्ति, पदस्थापना, विकास, उपयोग, संहार तथा अवकाशसम्बन्धी समग्र कार्यको उपयुक्त रूपमा सञ्चालन गर्ने वा मिलाउने कार्यप्रणाली नै जनशक्ति व्यवस्थापन हो । कर्मचारीमा प्रचुर क्षमता एवं सम्भावना रहेका हुन्छन्, यसलाई पहिचान र विकास गरी संगठन र व्यक्ति दुवैको हितमा उपयोग गर्नु नै मानव स्रोत व्यवस्थापनको उद्देश्य हो । डेकेन्जो र रविन्सका अनुसार मानव संसाधनको प्राप्ती, विकास, उत्प्रेरणा र सम्भार (Maintenance) प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो । मानव संसाधन व्यवस्थापन निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापकले गर्नुपर्ने नियमित कार्य हो । यसले संगठनको उद्देश्य प्राप्त गर्न सघाउँछ । यो एउटा व्यवस्थित दीर्घकालीन रणनीतिक योजना हो । वेन्डेल फ्रेन्चका अनुसार मानिसको व्यवस्थापनसम्बन्धी दर्शन, नीति, कार्यविधि एवं अभ्याससम्बन्धी कार्यको समष्टिगत स्वरूप मानव संसाधन व्यवस्थापन हो ।

व्यवस्थापनको मानव सम्पर्क सिद्धान्त वा व्यवहारवादी मान्यताको विकास भएसँगै पुरानो कर्मचारी प्रशासनको मान्यतामा परिवर्तन आई मानव स्रोत व्यवस्थापनको अवधारणाको विकास भएको हो । यस अवधारणामा कर्मचारीलाई वस्तु वा साधनको रूपमा नहेरी मानवीय भावना, संवेदना, उत्प्रेरणालगायत विषयमा विशेष जोड दिइन्छ । यस अवधारणालाई जनशक्ति व्यवस्थापन वा मानव संसाधन व्यवस्थापनसमेत भनिन्छ । मानव संसाधन व्यवस्थापन वा मानव स्रोत व्यवस्थापन भनेको संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि मानवीय क्षमताको उच्चतम उपयोग गर्ने कार्य हो । संगठनमा आवश्यक कर्मचारीको भर्नापूर्वदेखि अवकास पश्चातसम्मका नीतिगत, संरचानगत र कार्यक्रमगत व्यवस्थापन नै जनशक्ति व्यवस्थापन हो । मानव संसाधन राष्ट्रको सर्वागिण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मनव स्रोतको सक्षमताबाट मात्र भौतिक, वित्तीय, प्राविधिक तथा सूचना स्रोतको प्रभावकारी रूपमा परिचालन गर्न सकिने भएकाले यो महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्र हो । जनशक्ति परिचालनलाई सफल बनाउन व्यवस्थापकीय सीप तथा शैलीको प्रयोग गर्ने कार्य पनि हो यो । सार्वजनिक संगठनमा मानव स्रोत व्यवस्थापन भन्नाले संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गरी संगठन र कर्मचारी दुवैको आवश्यकता एवं उद्देश्य पूरा गर्नु हो । मनव स्रोत व्यवस्थापनले प्राप्तिभन्दा अगाडि र अवकाशभन्दा पछाडिको अवस्थालाई समेत समेट्ने भएकाले संगठनमा Pre Recruitment to Post Retirement Management का रूपमा यसलाई लिइन्छ । मानव स्रोत व्यवस्थापनमा संगठन र यसमा कार्यरत जनशक्तिको उत्पादकत्व वृद्धिका लागि संगठनमा मानव तत्वलाई महत्व दिइन्छ । अर्थात् कुनै पनि संगठनको वास्तविक शक्ति भनेको त्यहाँ कार्यरत जनशक्ति हो भन्ने मान्यता रहेको छ । संगठनको मुटुका रूपमा जनशक्तिलाई स्वीकार गरिएको छ । मानव स्रोत व्यवस्थापनको अवधारणाले संगठन र कर्मचारी दुवै पक्षलाई उत्तिकै महत्व दिएको हुन्छ । कर्मचारीलाई मानवपुँजीका रूपमा ग्रहण गर्ने र उनीहरूको क्षमताको विकास, उपयोग एवं संरक्षणले मात्र संगठन र व्यक्ति दुवैको आवश्यकता पूरा हुन सक्छ भन्ने मान्यता यस अवधारणाले राख्छ । वास्तवमा मानवलाई खुसी बनाएर काममा लगाउने र तिनको संगठनको लक्ष्य प्राप्तिमा भरपूर उपयोग गर्ने कलानै जनशक्ति व्यवस्थापन हो ।
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाटः– मानव संसाधन व्यवस्थापनको केन्द्रबिन्दु मानिस हो । सङ्गठन र मानिस दुवैलाई एक अर्काको आवस्यकता पर्छ । दुवै एक अर्काको परिपुरक हुन् । मानव संसाधन व्यवस्थापनको सरोकार सङ्गठनको मानवीय पक्षसंग हुन्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । सङ्गठनका लक्ष्यहरु प्राप्त गर्न मानव संसाधन महत्वपूर्ण हुन्छ । कर्मचारीहरूको कार्य सम्पादनमा सङ्गठनको प्रभावकारिता निर्भर रहन्छ । मानिसहरूमा शक्ति र शारीरिक बल हुन्छ । तर काम गर्नका लागि क्षमता पनि हुनुपर्छ । क्षमता भनेको ज्ञान, सीप, मनोवृति र विकसित हुने सम्भावना हो । शारीरिक शक्ति र मानसिक क्षमता को संगम भएपछि मात्र मानिस मानव संसाधन हुन्छन् । मानव संसाधन व्यवस्थापन भनेको मानिसहरूको शक्ति क्षमताको व्यवस्थापन गर्नु हो । त्यसैले यसले मानिसहरूको क्षमताको विकासलाई जोड दिन्छ । यसले मानवीय साधनको प्राप्ति, विकास, उपयोग र अनुरक्षण गर्छ ।

डेकेन्जो र रबिन्सका अनुसारः– मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र अनुरक्षण प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो ।
फ्रेन्चका अनुसारः– मानव संसाधन व्यवस्थपन भन्नाले सङ्गठनभित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, कार्यविधि एवं अभ्यासलाई जनाउँछ । मानवीय संसाधन व्यवस्थापनको अवधारणामा निम्न कुराहरु मुख्य छन्ः
१. यो सङ्गठनमा निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापकहरूले गर्ने नियमित कार्य हो ।
२. यसले सङ्गठनको उद्देश्यहरु प्राप्त गर्न सघाउँछ ।
३. यसले मानिसहरूको शक्ति र क्षमताको व्यवस्थापन गर्छ ।
४. यसले सक्षम मानवीय साधनहरूको प्राप्ति, विकास, उपयोग र अनुरक्षण गर्दछ ।
५. यसले मानिसहरूलाई रणनीतिक साधन ठान्दछ । मानव संसाधनसँग सम्बन्धित सबै कार्यहरूको समन्वय गर्छ ।
मानव संसाधन व्यवस्थापनका कार्यहरुः– प्राप्ति, विकास, उपयोग र अनुरक्षण हुन् । त्यस्तै मानव संसाधन व्यवस्थापनका उद्देश्यहरुः– लक्ष्य प्राप्ति, मानव संसाधन योजना तर्जुमा, संरचना अनुरक्षण, मानव संसाधन विकास, उत्पादकत्व वृद्धि, सूचना प्रवाह, परिवर्तन व्यवस्थापन आदी हुन् ।

अब कुरा गरौ स्थानीय तहमा मानब संसाधन व्यवस्थापनका कार्यहरु के–कसरी अगाडि बढिरहेका छन् । सर्वप्रथम जब नेपालमा ७५३ वटा स्थानीय तहहरु स्थापना भए तब कर्मचारी व्यवस्थापन गर्न गार्हो देखियो । त्यसलगत्तै कर्मचारी समायोजन ऐनको व्यवस्था र पालिकामा प्रमुख प्रशासकीय अधिकृत संघले नै २ बर्षको लागि पठाउने व्यवस्था भयो । यति भएपछि बल्लतल्त गरेर भएतापनि स्थानीय सेवा नमुनाको रुपमा संचालन भएका थिए, बि.स. २०७३ सालमा स्थानीय सरकार संचालनमा आयो भने वि.स. २०७६ मा स्थानीय सेवाको लागि भनेर कर्मचारी नियुक्तिको लागि लोकसेवा आयोगले विज्ञापन गर्यो र केहि स्थानीय तहमा करार दरबन्दी राखियो भने केहि स्थानीय तहको माग बमोजिम सो विज्ञापन गरेको थियो । त्यसै अनुरुप नियुक्ति लिईसकेपछि ती जनशक्ति स्थानीय विकासको लागि खटेर, डटेर काम गर्ने जोस, जाँगर बोकेर त्यहाँ पुगेपछि सैनिक तालिमको काँडेतारमा घिर्सेर हिंडेजस्तै कार्य वातावरण देखियो । कार्य वातावरणमा विकराल समस्या देखियो किनकिन एकातिर तालिमविनै सेवाप्रवाहको लागि भनेर धकलियो ताकि पौडी खेल्न नसक्ने मानिसलाई समुन्द्रमा फालेजस्तै गरि, सके पौडी खेल नत्र डुबेर मर ! त्यस्तै योग्यता एउटै, कोर्ष एउटै, परिक्षा प्रणालि एउटै, तलबभत्ता एउटै, तर पद फरक राखियो आखिर किन ? एउटा संघको अधिकृत पालिकाको हाकिम रे अनि स्थानीय सेवाको अधिकृत छैठौ रे ? जो संघको अधिकृतको मातहतमा काम गर्ने रे, यस्तो व्यवस्थापनले त्यो जनशक्तिले त्यो संगठनलाई बौद्धिक मुल्य के दिन्छ होला ? जहाँ कर्मचारीको वृतिपथ नै छैन त्यसले संगठनलाई के दिन सक्ला र ? कार्यमा कति उत्प्रेरित छ होला ? यसको लेखाजोखा खै कस्ले गर्ने ? यस्ले त नेपालको मानव संसाधन व्यवस्थापन कति हदसम्म पछाडि छ आफै आँकलन गर्न सकिन्छ ।

अझ दुखको कुरा त यो छ कि, कतिपय स्थानीय सरकारमा त स्थानीय सेवाका जनशक्तिहरुलाई TOR र कार्यसम्पादन सम्झौता नगरिकन नियुक्ति मात्र दिएर प्रमुख प्रशासकीय अधिकृतको मनोगतका आधारमा कहिले यो काम गर ! कहिले त्यो काम गर ! यसरी नै जनशक्ति परिचालन गर्ने गरेको कुरा विभिन्न मिडिया र पत्रपत्रिकामा सुन्न र पढ्न पाईन्छ । यस्तो दम्भ देखाएर राज्यको एउटा कर्मचारीले अर्को कर्मचारीलाई विभेद गरेर कार्यजिम्मेवारीको आधारमा स्वतन्त्र कार्यसम्पादन गर्न नसक्ने अवस्था सिर्जना भएको छ । खै त, हाम्रो मानव संसाधन व्यवस्थापन ? जिम्मेवार निकाय के गर्दैछ यो खोजको विषय बनेको छ । यस्तो व्यवहार र कार्यवातावरणले गर्दा ती (स्थानीय सेवाका) कर्मचारीको सोच यस्तो बनेको छ, ‘यो स्थानीय सेवाको जागिर खानभन्दा बरु विदेशी भाँडा माज्न जान पाएको भए बेश हुन्थ्यो कि’ यो मनोबल र सोच, विचारमा डुबेर कसरी जनशक्तिले काम गर्ला र ? संगठनको उद्देश्य पुरा होला कि नहोला ? संघियतको आधार (बेस) स्थानीय सरकार हो भन्ने कथन पुर्ण होला त ? जनशक्तिको उद्देश्यलाई सांगठनिक उद्देश्यमा कसरी Tie UP गर्ने होला ? सेवा प्रवाह कस्तो होला ? अब त शंका लाग्न थालिसक्यो स्थानीय सरकारका जनप्रतिनिधिसँग कर्मचारी काम गर्न नसकेर स्थानीय तह रहला कि नरहला ? यो खोज र विचाराधिन अवस्थामा रहेको छ । मर्मत संम्भार नगरेदेखि असफल नहोला भन्न सकिन्न ? त्यसैले अब स्थानीय तहमा मानव संसाधन व्यवस्थापन टड्कारो बिषय बनेर उभिएको आभाष गर्न सकिन्छ ।

निचोड
संसारमा प्रविधिको राम्रो विकास गरेका देश पनि छन्, त्यस्तैगरी आर्थिक पक्षमा दर्हो विकास गरेका देश पनि छन् यी सबैको उदाहरण हेर्दा मानव संसाधन व्यवस्थापन सबल र अब्बल रहेर नै हो । Techno. Power + Eco. Power= Human Resource (Humo. Power)  रोबोट बनाएर विकास गरेको मानव स्रोतको नै देन हो, बिभिन्न सवारी साधन (उड्ने, गुड्ने, दौडने)को उपलब्धता नि मानव स्रोत हो, तसर्थ मानव स्रोतलाई अपहेलना नगरौ, ज्ञान सीपको विकास गरौ, बौद्धिक पक्षको भरपुर उपयोग गर्न सक्ने वातावरण सिर्जना गरौ । सहि जनशक्तिलाई उपयुक्त आकारमा सहि समयमा उपयुक्त तवरबाट प्रयोग गर्ने सक्ने नीति र व्यवस्थाको विकास गर्न जरुरी छ । अनिमात्र दीगो विकास संभव छ र सुखी नेपाली सम्बृद्ध नेपालको चाहना पनि पुर्ण हुन सक्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->