
तनहुँ, ३१ जेठ– कोरोना भाइरसको दोस्रो लहरको सुरुवातमा तनहुँका शहरी क्षेत्रमा संक्रमितको बिगबिगी थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु पोकोपुन्तुरो बोकेर गाउँ पसे । गाउँ पस्न र बाहिरन कुनै रोकतोक छैन ।
पूजापाठ, भोजभतेर पनि निर्वाध भइरहे । यसैको प्रतिफल सहरीयालाई आतंकित बनाएको कोरोना अहिले गाउँतिर पसेको छ । कोरोना त्रासका कारण सहरमा सावधानी अपनाउदा विस्तारै संक्रमणदर घट्दो देखिन्छ भने गाउँमा बढ्दो ।
गाउँलेकै लापरवाहीले कोरोना फैलिरहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउँछन् । उनी भन्छन्, ‘गाउँमा सावधानी नै अपनाइएको छैन । खेतीपाती सँगै गर्छन् । चौतारोमा सँगै बसेर गफिन्छन् । गाउँमा मास्क अनिवार्य पनि छैन । मापदण्डको पालना हुदैन । एक जना संक्रमितले सयौंलाई फैलाउँछ ।’
शुक्लागण्डकीमा हाल सक्रिय संक्रमितको संख्या २ सय ४१पुगेको छ । पछिल्ला सातामा परीक्षण भएका स्वाबको पिसीआर रिपोर्टमा पोजेटिभ हुनेको संख्या गाउँ र सहर क्षेत्रका बराबरी छ ।होम आइसोलेसनले पनिसंक्रमण फैलन बढवा दिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवको विश्लेषण छ ।
कोरोना नियन्त्रणको जिम्मेवारी स्वास्थ्यकर्मीको मात्रै हो भन्ने गलत बुझाइ आम सर्वसाधारणमा रहेको उनले दुखेसो पोखे । ‘जति दायित्व स्वास्थ्यकर्मीको छ त्यति नै घरपरिवार, नागरिक समाज, टोलको र जनप्रतिनिधीको छ,’ उनले भने, ‘कोरोना नियन्त्रण गर्न सबै पक्ष मिलेर गाउँमा निगरानी बढाउनुपर्छ ।’
भिमादका गाउँ–गाउँमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने बिरामी थुप्रै छन् । नगरपालिकाको स्वास्थ्य शाखा गाउँमा पुगेर सर्वसाधरणको एन्टिजेन परीक्षण गरिरहेको छ । पछिल्लो समय भिमादको वडा नम्बर २ को जलौदीमा एकैदिन ७० जनाको एन्टिजेन परिक्षण गर्दा २८ जनालाई पोजेटिभ पुष्टि भएको थियो ।
डरलाग्दो तरिकाले गाउँघरतिर संक्रमण फैलिएको भिमाद स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बरालले बताउँछन् । निषेधाज्ञापछि जोखिमयुक्त ठाउँमा रहेकाहरु ह्वात्तै गाउँ पसेकाले गाउँघरमा संक्रमणको स्थिति भयावह भएको उनको भनाइ छ । उनका अनुसार गाउँमा संक्रमण फैलनुको अर्को कारणमा विहेव्रतबन्ध र भोजभतेर पनि हो । ‘१÷२जनालाई संक्रमण भयो भने यो मेरो छोरा हो, भाइ हो भन्ने । सँगै बस्ने, खाने । यस्तै–यस्तै कारणले गाउँमा कोरोना फैलियो,’ उनी भन्छन् ।
गाउँमा फैलिएको कोरोना नियन्त्रण गर्न एन्टिजेन परीक्षणका दायरा बढाएपनि बिरामी परेकासमेत परीक्षण गर्न नमानेको उनको भनाइ छ । ‘संक्रमण भएमा सिटामोल खाने, घरायसी औषधी खाएर २÷४दिनमा निको भएका धेरै छन्,’ उनले भने, ‘संक्रमण भएमा गाउँ समाजले नराम्रो दृष्टिले हेर्न भएकाले पनि परीक्षण गर्न चाहँदैनन् ।’
जटिल अवस्था पुगेपछि मात्रै उपचार खोज्ने प्रवृत्तिले संक्रमण र मृत्युदरमा वृद्धि भइरहेको छ ।तनहुँमा हाल ९ सय ८० जना सक्रिय संक्रमित छन् । दोस्रो लहरको कोरोना फैलिएपछि जिल्लामा १७ हजार १ सय १२ जनाको पिसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ४ हजार ९७मा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीमध्ये ९५ जनाको मृत्यु भएको छ भने ३ हजार २२ जनाले कोरोनालाई जित्न सफल भएका छन् । सबैभन्दा धेरै व्यास नगरपालिकामा संक्रमित छन् । देवघाट गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शून्यतर्फ ओरालो झर्दै छ । मृत्यु हुनेको संख्या भने शुक्लागण्डकीमा उच्च छ ।





