मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पाइदैनन् आजकल होमस्टेमा अर्गानिक स्वाद

पाइदैनन् आजकल होमस्टेमा अर्गानिक स्वाद


  • दिवस गुरुङ
  • जेष्ठ ३१ २०७८, सोमबार

बेलुकासम्म पाहुना आउने खबर मिल्छ गाउँमा । अनि होमस्टे सञ्चालक फोन घुमाउँछन् हतारहतार जिपवालालाई । बेलुका आउँदा मगाउँछन् बजारबाटै, बोइलर कुखुराको दुई किलो मासु, एक किलो गोलभेडा अनि एक किलो काउली । पाहुना र मगाएका सामानहरु सँगसँगै उक्लिन्छन् गाउँमा । दुवै बजारबाट । बेलुका त्यही पाक्छ भान्छामा, अनि तक््रयाउँछन् पाहुनालाई । स्वाद मानीमानी खान्छन् । बिहान दिल खोलेर गाउँ घुम्छन्, दुई चार फोटो खिच्छन् अनि होमस्टेबाट बिदा लिएर फर्कन्छन् पाहुनाहरु । जाँदाजादै फूलमालासहितको बिदाई खाइओरी हिड्नै लाग्दा यो पनि भन्न छुटाउँदैनन्, ‘हामी फेरि फेरि आइरहन्छौं ल !’
होमस्टे । अर्थात घरबास । आफ्नै घरमा पाहुनालाई मिठो मसिनो अर्गानिक स्वाद अनि उस्तै अर्गानिक सत्कारमा राख्ने व्यवस्था हो घरबास । नेपालको परिपेक्ष्यमा यसको त्यति लामो इतिहास भने छैन । वि.सं. २०५४ मा स्याङ्जाको सिरुबारीबाट थालनी भएको थियो, होमस्टे कल्चर नेपालमा ।
अनि यसका अगुवा थिए, स्वं क्याप्टेन रुद्रमान गुरुङ । २०३५ सालमा भारतीय सेनाबाट रिटायर्ड भएका उनले सिरुबारीमा होमस्टे भित्र्याउने सपना २०२५ साल ताकै बुनेका थिए । उनको सपनाले साकार रुप लिन लगभग ३० वर्ष नै लाग्यो । नलागोस् पनि किन ? न सडकले जोडेको थियो न खानेपानी कै राम्रो व्यवस्था । यस्तो अनकन्टार ठाउँमा पाहुना ल्याउने उनको प्रस्ताव सबैले हावामा उडाइदिन्थे । अनि उनी बन्थे, हाँसोका पात्र । उनलाई पागल भन्नेहरुको झुण्ड नै थियो तिनताका । विस्तारै उनले गाउँसम्म सबै पूर्वाधारहरुलाई जोड्दै गए अनि सुरुवात गरे नेपालकै पहिलो होमस्टे । त्यो पनि २०५४ सालमा । देश द्धन्द्धकालमा गुज्रिरहेको थियो, डर अनि त्रासका बीच घुम्न को आउने ? सुरुमा त खडेरी नै लाग्यो पाहुनाको । सुनसान रह्यो गाउँ । जब जनयुद्धले देशबाट बिट मा¥यो, तब बिस्तारै ओइरिन थाले पाहुनाहरु । अनि आजको दिनमा सिरुबारी नेपालभरकै होमस्टेहरुका लागि मार्गदर्शन बनेको छ ।
उनले खनेको होमस्टेको गोरेटो आज खुला राजमार्ग बनिसकेको छ तर होमस्टेले आफ्नो मौलिकता र अर्गानिक स्वाद बिर्सिदै गएको छ । नेपालमा आज सिरुबारीको बाटो पछ्याउँदै सैयौं र हजारौं संख्यामा होमस्टे सञ्चालनमा आएका छन् । क्वान्टिटी बढ्यो तरसँगै क्वालिटी घट्यो । फितलो बन्दै गयो, होमस्टेका अर्गानिक स्वादहरु । यस्तै हँुदै जाने हो भने त होटल र होमस्टेबीच के भिन्नता ?
वास्तव मै भन्नुपर्दा पाहुनालाई घरघरैमा बसाउने, त्यही घरको अर्गानिक खान्की चखाउने र त्यहाँको रैथाने रहनसहन, संस्कृति अनि नाँचगानमा घुलमिलाउने, यहीँ नै हो होमस्टेको अस्ली परिचय । वास्तविकताबाट विमुख भएर च्याउ सरी उम्रिएका होमस्टेहरुले अर्गानिक होमस्टेलाई ओझेलमा पार्दै छ । अझ भनौं, होमस्टे ट्रयाक बाहिर कुदिरहेको छ ।
होमस्टे भनेपछि गाउँको झल्को दिने खालको होस् । सके ढुंगाकै गारा, ढुंगाकै छपनीले छाएको छाना अनि आँगन, अनि ढुंगाकै सिंढीहरु । सफा होस् बरु माटैले लिपेको पिढी अनि भित्ता होस् । पुराना घुमाउने घर, खरले छाएका घरहरुलाई सके संरक्षण गरेको राम्रो तर आधुनिकताको नाउँमा सबै भत्काइए अनि गाउँगाउँमा ठडियो कंक्रिटका भवनहरु । अनि त्यस्तै कंक्रिट बने मनहरु पनि । आतिथ्यता अनि स्वागत सबै पैसामुखी बने । यस्तैमा बस्नलाई त बजारकै कुनै होटल अथवा लजमा नै बिताउँदो हो पाहुनाले । फ्रि वाइफाई, हट गिजर आदि इत्यादि । नयाँ नयाँ प्रविधिहरुसँग अप टु डेट हुनु राम्रो, तर वाइफाई चलाउनलाई नै गाउँ उक्लेका त पक्कै हैनन् होलान् पाहुनाहरु । आधुनिकताका नाउँमा ओरिजिनालिटी रित्तिदै गएको मेसो कसैलाई पत्तो छैन ।
गाउँ घर रित्ता छन् । सुनसान । युवाहरु विदेश पलायन । बालबच्चा पढ्नलाई शहर पलायन । गाउँको जिम्मा केवल बुढाबुढी र महिलाहरुको हात माथि सुम्पिएका छन् । प्राय होमस्टेका प्रमुखहरु महिला नै बाहुल्यता भेटिन्छन्, यसले महिलालाई प्राथमिकता दिएको भन्ने बुझ्नुको सट्टा रोजगारका लागि पुरुषहरु विदेश पलायन छन् भन्ने बुझाउँछ । हुन पनि महिलाले धेरै सिकेका छन्, धेरै गरेका छन्, यो अर्को सुखद पाटो हो नै तर गाउँमै अवसरहरु नदेखी विदेश लागेका पुरुषहरुलाई गाउँकै होमस्टेको प्रवद्धन र स्तरोन्नतिमा किन लगाउन सकिएन, मनमा सधैं खट्किरहन्छ ।
खेतबारी बाझै छन् । धेरै जसो होमस्टे भएका गाउँहरु बिलासीले अल्छी बनाइदिएको छ । ओइल्याइदिएको छ, जोसजाँगरलाई । पैसो कमाइहालिन्छ पाहुनाबाट, किन खेतीपाती गर्नु प¥यो ? यस्तै मानसिकता गडिसकेको छ, कहिल्यै नउकिने गरी । यसले छोटो समयलाई फाइदै गर्ला, तर कालान्तरमा यसले होमस्टे पर्यटनलाई धरासायी बनाउनेमा कुनै दुई मत छैन । खेतीपाती गर्न छाडिसके, गाईभैसी पाल्न बिर्सिसके, अनि भुलिसके आफ्नै घर अगाडिको करेसाबारीमा सागसब्जी उमार्न । अर्गानिक खान्कीको स्वाद चाख्न जिब्रोले बिर्सिसकेको छ । बजारबाट चामलका बोरा घिसारेर ल्याउँछन् । किलाका किला बोइलर कुखुरा भित्रिन्छन् गाउँमा । टमाटर, आलु हुँदाुहँदा साग समेत बजारबाटै । कमाएजति सबै पैसा पाहुनासँगै बजार नै फर्केपछि कसरी दिगो पर्यटन हुन्छ त ? कसरी ग्रामीण पर्यटन उकासिन्छ त ? मनन गर्नु पर्ने बेला भएको छ सरोकारवालाहरुले ।
गाउँमा कसैले टमाटर फलाओस् । कसैले गाईभैसी पालेर दुध बनाओस् । कसैले लोकल कुखुरा पालोस् । कसैले कोदो, मकै अनि धान उमारोस् । होमस्टे घर भएकाले सबैबाट एक एक थोक किनिदिए मात्र पनि एकातिर उनीहरुको आम्दानी पनि हुने, अर्कोतिर पाहुनाले अर्गानिक स्वाद पनि चाख्न पाउने । आर्जित पैसा, गाउँभित्रै बचत हुने भयो । सबैले पैसा खेलाउन पाउने भए । अनि हुन्थ्यो नि ग्रामीण पर्यटनको विकास अनि स्थानीयको उत्थान । तर यसको ठीक विपरीत गतिमा हाम्रो होमस्टे पर्यटन अगाडि बढ्दै छ । गाउँलेको स्तरोन्नति यसरी कहाँ हुन्छ त जब आर्जित सबै आम्दानी पाहुनासँगै शहर पुग्छ भने ।
अर्को विरक्तिएको पाटो हो, हराए स्थानीय लोकसंगीत अनि भाकाहरु । जताततै त्यही आधुनिक गीतको हाबी भएको पाइन्छ । स्पिकरमा त्यही रक गीतहरु घन्किन्छन् । गाउँठाउँ पुग्दा त्यहाँको मौलिकता झल्कने नृत्यु, गीत अनि भाका पाहुनालाई पस्कन पाए, कति जाति हुँदो हो । एकातिर पाहुनाहरुले पनि फरकपनको अनुभूति गर्न पाइने, अर्कातिर आफ्नै इतिहासको धरोहर ठडिरहने । मौलिकता झल्कने संगीत, गीत अनि नृत्यु पनि संरक्षण भइरहने । तर कस्तो विडम्बना, गुरुङ होमस्टेमा पुगियो, त्यहाँका घाटु अनि सोरठीहरु हेर्न पाइदैनन् आजकल । न त बज्छन् गुरुङ गीतहरु नै । गुरुङ मौलिकता झल्कने नृत्युहरु बिर्सिसके आफ्नैले । अनि आखिर पाहुना नाच्ने कि त त्यहीँ इन्डियन गीतमा हो, कि आधुनिक दोहोरी गीतमा । फरक ठाउँमा पुगेपछि फरक केही चाख्न पाए पो ? यसरी होमस्टे पर्यटनको भविष्य कतिको उज्यालो देखिन्छ त ?
यसरी सरसर्ती नियाल्दा होमस्टेको ठिटलाग्दो अवस्थाले होमस्टे पर्यटनको भविष्य चुनौतीमय देखिन्छ । होमस्टे र होटलमा फरकपन पक्कै हुनुपर्छ । भिन्नता नभए त होमस्टेको अर्थ के ? ग्रामीण पर्यटनको जुन अवधारणाका साथ गुरुङले यो नेपालमा भित्र्याएका थिए, त्यो ट्रयाकमा रहिरहन अबका सरोकारवालाहरुले राम्रै कसरत गर्नुपर्नेछ ।
अबको पर्यटनको भविष्य भनेकै ग्रामीण पर्यटन । कोरोनाले थिलथिल परेको नेपालको पर्यटन उकास्ने अबको बाटो भनेकै होमस्टे पर्यटन । निःशन्देह होमस्टे पर्यटनले गाउँठाउँको सामाजिक, आर्थिक र पर्यावरणीय अवस्थालाई उकास्नेछ । त्यसैले समयमै होमस्टेको गुणस्तरलाई मेन्टेन गरिराख्नु पर्नेछ । अनि मात्र समग्र ग्रामीण पर्यटनको स्तरोन्नति हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->