नलवपुर, २ असार – यस वर्षको मनसुन नेपाल भित्रिएसँगै सुरुवाती चरणमै भारी वर्षा भएको छ । सोमवार साँझदेखि परिरहेको निरन्तर वर्षाका कारण नवलपुरमा बर्षातको प्रभाव परेको छ ।
पूर्वपश्चिम मुख्यमार्ग नारायणगढ दाउन्ने खण्डको विनयी–त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित बिश्वकर्मा मन्दिर नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ । स्थानीय, प्रहरी लगायतको सहभागिता र डोजर उपकरण प्रयोग गरेर पहिरो पन्छाउने कार्य जारी छ । एकतर्फी रुपमा बाटो खुलाईएपनि निरन्तर पानी परिरहेकाले पूर्ण रुपमा सडक सुचारु हुन सकेको छैन ।
यता, सडक स्तरोन्नतिको काम चलिरहेको सोही खण्डको गैंडाकोट नगरपालिकास्थित थुम्सीमा डाईभर्सन भत्किदा यातायात आवागमनमा प्रभाव परेको छ । बाढीले डाईभर्सन बगाएर आवागमन अवरुद्ध भएकोमा यहाँ पनि डोजर लगायतका मेसिनको प्रयोग गरेर तत्कालका लागि कामचलाउ डाईभर्सन मर्मत गरेर अवरुद्ध सडक खुले पनि जोखिममै वारपार गर्नुपरेको छ ।
नवलपुरका पहाडी र समथर सबै क्षेत्रमा भिषण वर्षा भैरहेकाले दर्जन बढी ठाडा–खहरे खोलामा पानीको सतह बढेसँगै वहाव–चाप समेत तेज छ । जयश्री, बेल्डिया, झराही, मुकुण्डे, बौलाहा, लोकाहा, केरुङ्गे, पत्थर, गिरुवारी, अरुण, विनयी लगायतका मुख्यमार्गमा पर्ने खोलाहरुमा बाढी आएकाले ति खोला आसपासमा रहेका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । सडक स्तरोन्नतिका क्रममा यि खोलाहरुमध्ये केही खोलाहरुमा फाउण्डेशनको काम सुरु भएकाले आधार खल्वलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै पुलमाथी कुनै पनि सवारी साधन रोकेर नराख्न समेत आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी समेत रहेका डिएसपी दिलीपकुमार गिरीले बताएका छन् ।
जिल्लामा अहिलेसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको बास्तविक विवरण प्राप्त नभएपनि बिभिन्न विकास निर्माणका आयोजना प्रभावित भएको हुनसक्ने स्थानीय पालिकाहरुले जनाएका छन् ।
एक्कासी परेको झरीका कारण खोलाहरुमा बाढी आउँदा यहाँको खानेपानी क्षेत्र प्रभावित भएका छन् । हिलो–लेदो बाढी सहितको पानी ट्याङ्कीमा पठाउन नहुने भएकाले पानी वितरण प्रणाली प्रभावित भएको जिल्ला खानेपानी उपभोक्ता संघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले बताएका छन् ।
नारायणी नदीमा पानीको सतह वढेर सतर्कता सतह पार गरेको छ । कालीगण्डकी र त्रिसुलीको संगम देवघाटमा जलसतह ८.३२ मिटर मापन भएको छ । यहाँ जल सतह ७.३ मिटरभन्दा धेरै हुँदा सतर्कता तह पार गरेको मानिन्छ ।





