नेपाली सेनाका जनरल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र राजनीतिक दलका उच्च नेताबीच– मानौँ, राजधानीको कुनै पाँचतारे होटलको छुट्टै लञ्जमा नियमित ‘कफी गफ’ हुन थाल्यो । यी तीन जना स्कूल वा क्याम्पस जीवनको सहपाठीका रुपमा गफिएका हुनसक्थे । तर, उनीहरुबीचको निरन्तर भेटघाटबारे जानकार कुनै मिडियाले शंकाको रंग भरेर ‘एक्सक्लुसिभ’ समाचार सामग्री बनाइदियो ।
समाचारको आधारमा जङ्गी अड्डाले राजनीतिक नेतासँगको भेटघाटलाई अनुशासनको विषय बनाउला । सैनिक जनरलसँगको निरन्तर भेटलाई ‘लोकतान्त्रिक पार्टी’ का नेता–कार्यकर्ताले शंकाको दृष्टिले हेर्लान् । परराष्ट्र मन्त्रालयले पनि आफ्ना अधिकारीको नेता र सैनिक अधिकारीसँगको यस्तो भेटलाई त्यति निको नमान्ला र ‘फ्रि–टाइम’ निकाल्नै नसक्ने गरी कामको लोड थपिदेला ।
तर, पोलिटिकल साइन्स (राजनीति शास्त्र) ले भने यस्तो भेटलाई एकदम स्वभाविक ठान्छ, आवस्यक मान्छ । किनभने राजनीति शास्त्रको मान्यता अनुसार कुटनीति र सैन्यनीति राजनीतिशास्त्र अन्तर्गतकै हाँगा हुन् । राजनीति शास्त्रले भन्छपनि, ‘जहाँ कुटनीति असफल हुन्छ, त्यहाँ युद्ध सुरुवात हुन्छ । युद्धमा जब हार वा जीत हुन्छ, तब तब कुटनीतिको प्रारम्भ हुन थाल्छ ।’
एकातिर राजनीति शास्त्रले सैन्य (युद्ध) नीति र कुटनीतिलाई नेतृत्व प्रदान गरिरहेको हुन्छ । अर्कोतिर सैन्यनीति र कुटनीतिले राजनीति शास्त्रलाई सवल र सफल बनाउन सहयोग गरिरहेका हुन्छन् । सैन्यनीति र कुटनीतिले शक्तिको प्राप्ति र प्राप्त शक्तिको सुरक्षा सम्बन्धमा समेत राजनीति शास्त्रलाई अमूल्य सल्लाह प्रदान गरेर राजनीति शास्त्रको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
राजनीति शास्त्रले सैन्यनीति र कुटनीतिबाट पाएको सबैभन्दा व्यावहारिक र महत्वपूर्ण सल्लाह ‘बलियो शक्तिका विरुद्ध लड्न अलिक कमजोर शक्तिको साथ लिएर अघि बढ्नुपर्छ’ भन्ने हो । राजनीतिशास्त्रको यो शिक्षाको मनन जसले गम्भीरतापूर्वक गरेका छन्, तिनीहरु जटिल राजनीतिक अवस्थामा पनि सफल भएका छन् । जसले यति गम्भीर राजनीतिक शिक्षालाई रद्दीको टोकरीमा फालेका छन्, तिनीहरु आफैँ रद्दीको टोकरीमा मिल्किन पुगेका छन् ।
प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीको उदय राजनीति शास्त्रको यही शिक्षाका आधारमा भएको हो । २०७२ र २०७४ दुबै पटक उनी बलियो कांग्रेसका विरुद्ध तेस्रो शक्तिको रहेको माओवादीको साथ लिएर प्रधानमन्त्री बनेका हुन् । तर, उनका एक वर्ष यताका गतिविधिहरुले देखाउँछन्, राजनीति शास्त्रको त्यति गम्भीर पाठ र आफूले प्राप्त गरेको सफलतालाई उनले भुलेका छन्, लत्याएका पनि छन् । र, आफैँद्वारा सिर्जित अप्ठेराहरुको चेपमा फसेका छन् ।
सत्ता टिकाउन ओलीले जेजस्ता हर्कतहरु गरिरहेका छन्, त्यसबाट ‘ट्याक्टिस’ शब्दको ‘भ्रष्टीकरण’ हुन पुगेको छ । सामाजिक सञ्जालमा आजकल युवायुवतिहरुले ‘ओलिट्रिक्स’ शब्दको प्रयोग खुबै गर्छन् । कसैले नाजायज काम गरेर छक्याउन खोज्यो भने ‘यस्तो नगर् न यार, तेरो ओलिट्रिक्स म बुझ्दिन र’ भन्छन् ।
त्यो राजनीति शास्त्र
२००५ सालमा नेपाली कांग्रेसको स्थापना भएयता नेपालको राजनीतिमा मूलतः तीन शक्ति निर्णायक बन्न पुगे । दोस्रो र तेस्रो ठूलो शक्ति मिल्नासाथ सत्तामा रहेको पहिलो शक्ति पराजित हुने क्रम सुरु भयो । २०१७ को ‘कू’ अलिक फरक सन्दर्भ हो, नत्र २००७ मा राणा शासन, २०४६ मा पञ्चायत र २०६२–६३ मा राजतन्त्रको अन्त्य दुई ठूला शक्तिको गठबन्धनका कारण नै सम्भव भएको हो ।
दुई ठूला शक्ति एक ठाउँमा उभिँदा सबैभन्दा शक्तिशाली शक्ति पराजित हुनसक्छ भन्ने २०६४ यताका घटनाले पनि पुष्टि गर्छन् । २०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बन्यो, कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो ठूलो दल बने। प्रधानसेनापति प्रकरणमा कांग्रेस र एमाले एक ठाउँमा उभिँदा माओवादी सत्ताबाट हट्नुपर्ने स्थितिमात्र सिर्जना भएन, त्यसयताका निर्वाचनमा ऊ पहिलो दलसमेत बन्न सकेको छैन ।
२०७० को संविधान सभा निर्वाचनपछि सिट संख्याका आधारमा दलहरुको हैसियत परिवर्तन भयो । तर, शक्ति संघर्षमा मूलतः कांग्रेस, एमाले र माओवादी केन्द्र नै निर्णायक रहे । संविधान निर्माणपछि कांग्रेस र एमालेमध्ये जसले माओवादीको समर्थन पाउँछन्, त्यसैले सरकार बनाउने परिस्थिति सिर्जना भयो । सुशील कोइरालालाई पराजित गर्दै संविधान जारी भएपछि केपी शर्मा ओली माओवादीकै समर्थन पाएर प्रधानमन्त्री बनेका हुन् ।
२०७४ को आम निर्वाचनमा यदि नेपाली कांग्रेसले माओवादी केन्द्रसँग चुनावी तालमेलमा सफलता पाएको भए नतिजा कांग्रेस–माओवादी गठबन्धनको पक्षमा जाने थियो । तर, भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेससँग तालमेल गर्दा प्रचण्डले छोरी रेणुको जीतका लागि बदनामी मात्र बेहोर्नु प¥यो । रोल्पा–रुकुम–सल्यान–जाजरकोट जस्ता माओवादी प्रभाव रहेका जिल्लामा कांग्रेस–एमालेले गठबन्धन गरे तर, भरतपुरका कारण ‘देशभरि कांग्रेस–माओवादी केन्द्रबीच चुनावी तालमेल भएको हो र यति हुँदापनि हामी पहिलो दल बन्यौँ’ भन्ने देशव्यापी ‘न्यारेटिभ’ सिर्जना गर्न एमाले सफल भयो ।
एकातिर तालमेल अनुसार कांग्रेस कार्यकर्ता पंक्तिबाट इमान्दारिता प्रदर्शन नगरिएको स्थिति, अर्कोतिर रोल्पा, रुकुम, सल्यान, जाजरकोट, कालिकोट लगायतका जिल्लामा कांग्रेस–एमालेबीच माओवादी विरुद्ध तालमेल र यसका बाबजुद एमालेले निर्माण गरेको उपरोक्त ‘न्यारेटिभ’– यी कारणले प्रचण्ड २०७४ को आम निर्वाचनमा बिकल्प खोज्नुपर्ने दबाबमा परे ।
कम्युनिष्ट आन्दोलनभित्र एमाले र माओवादी ‘एकै जंगलका दुई बाघ’ भएपनि २०७४ को आम निर्वाचनमा प्रचण्डले एमालेसँग एकताको हात अघि बढाउनुमा उपरोक्त परिस्थितिले भूमिका खेलेको थियो । राजनीति गर्ने हरेक चतुर व्यक्तिले आफ्नो ‘मुभ’ लाई राजनीतिक–सैद्धान्तिक जामा पहि¥याउन खोज्छ नै । प्रचण्डले पनि त्यही गरे, एमालेसँगको एकताका लागि ‘समाजवाद उन्मुख’ संविधानको कार्यान्वयनका लागि ‘कम्युनिष्ट एकता’ को राजनीतिक–सैद्धान्तिक जामा लगाउँदै एकताको हात अघि बढाए ।
२०७२ मा प्रचण्डलाई सहजरुपमा सत्ता छाड्न नमानेका ओलीले खासमा प्रचण्डबाट त्यस्तो प्रस्ताव आउला भन्ने कल्पना नै गरेका थिएनन् । प्रचण्ड भन्दा चतुर ओलीका लागि यो प्रस्ताव कानोले आँखा पाएजस्तै भयो, ओलीले तुरुन्तै मुन्टो हल्लाइदिए । ‘त्रिपक्षीय संघर्षमा बलियोका विरुद्ध कमजोरसँग गठजोड गर’– राजनीति शास्त्रको यो शिक्षाको प्रयोग ०७४ को आम निर्वाचनमा प्रयोग गर्न ओली यसरी सफल भएका हुन् । त्यसकै प्रतापमा विद्या भण्डारी राष्ट्रपति भइन्, ओली प्रधानमन्त्री बने । सुवास नेम्वाङलाई सभामुख बनाउन खोजियो, तर ओली सफल भएनन् ।
०७४ को आम निर्वाचनको सफलता वामगठबन्धनका कारण होइन, आफ्नै ‘करिष्मा’ का बलमा प्राप्त भएको हो भन्ने दम्भ बिगत दुई वर्षयता ओलीमा पलाएको छ । उनले ‘राजनीति शास्त्र’ लाई आफ्नो ‘मनमौजी ताल’ ले विस्थापित गर्न खोजेका छन् ।
यो ओलीशास्त्र
खासमा कार्यनीति अर्थात् ‘ट्याक्टिस’ राजनीति शास्त्रले सैन्यशास्त्रबाट सापटी लिएको शब्दावली हो । रणनीति (स्ट्राटेजी) को सफल कार्यान्वयनमा यसको भूमिका हुने भएकाले सैन्यशास्त्र र राजनीतिशास्त्रमा कार्यनीति (ट्याक्टिस) को स्थान महत्वपूर्ण छ । व्यावहारिक जीवनमा समेत यसको व्यापक प्रयोग हुन थालेको छ । सैन्यशास्त्र र राजनीति शास्त्र नपढेका गाउँघरका सामान्य मानिसले समेत त्यसैले यो अंग्रेजी शब्दको उच्चारण सहजै गर्छन्, यो शब्दको प्रयोग कहाँनिर गर्ने भन्ने पनि जानेका छन् ।
विकासे (रासायनिक) मल लिन जाँदा लाइन लामो छ, तर लाइनमै नबसी भनसुन गरेर मल ल्याए भने किसानहरु ‘ट्याक्टिस मिलाएर ल्याएँ’ भन्छन् । अलिक अप्ठेरा खालका हलगोरुलाई जुवाभित्र राम्रोसँग हुल्न असफल हुँदा लमजुङ–तनहुँतिर ‘गोरु नार्ने’ भनिन्छ । अनपढ हलीले पनि ‘गोरु नार्न ट्याक्टिसै मिलाउन सकिनँ’ भन्छ । गाउँलेहरुले ‘ट्याक्टिस’ जस्तो सैन्य र राजनीतिक शब्दावलीको प्रयोग जसरी गरिरहेका छन्, त्यसले यो शब्दको ओज घटाएको छैन, बढाएकै छ ।
तर, सत्ता टिकाउन ओलीले जेजस्ता हर्कतहरु गरिरहेका छन्, त्यसबाट ‘ट्याक्टिस’ शब्दको ‘भ्रष्टीकरण’ हुन पुगेको छ । सामाजिक सञ्जालमा आजकल युवायुवतिहरुले ‘ओलिट्रिक्स’ शब्दको प्रयोग खुबै गर्छन् । कसैले नाजायज काम गरेर छक्याउन खोज्यो भने ‘यस्तो नगर् न यार, तेरो ओलिट्रिक्स म बुझ्दिन र’ भन्छन् । छरछिमेकीले कसैको आम्दानीमा शंका लाग्यो भने ‘राम्रो गरेर होइन, पक्कै ओलिट्रिक्स लगाएर कमाएको हो’ भन्न थालेका छन् ।
‘ट्याक्टिस’ जालझेल होइन, रणनीतिक उद्देश्य प्राप्तिका लागि अपनाइने नैतिक मूल्य–मान्यताभित्रै पर्ने कला हो। ओलीका हर्कतमा ‘कला’ को अंश छैन,जालझेल र जबर्जस्ती छ। त्यसैले, उनले जे गरिरहेका छन्, राजनीति शास्त्रलाई त्यो मान्य छैन ।
त्यसैले, ओली ‘नयाँ विश्वविद्यालय’ को योजनामा छन्, जहाँ आफूले विकसित गरेका ओलीशास्त्र (ओलिटिकल साइन्स) का सिद्धान्तहरुको पढाई होस् । यस अन्तर्गत ‘कोर्स बुक’ को निर्माण उनका गतिविधि र व्यवहारका आधारमा धमाधम भइरहेको छ । र, त्यसलाई उनका अनुयायी राष्ट्रपति, मुख्यमन्त्री, नेता र ‘सेना–मेना’ हरुले ‘इनपुट’ दिइरहेका छन् ।
‘आफ्नो बहुमत नभएका पार्टी कमिटीको बैठक नबोलाऊ, आफ्नो बहुमत नभएको संसद विघटन गरिदेऊ ।’ पार्टी र राज्य सञ्चालनका लागि ओलीशास्त्रले निर्माण गरेको सिद्धान्त यही हो । यसको सफल र व्यावहारिक कार्यान्वयन ओली पक्षधर प्रदेश–१ र वागमति प्रदेशका मुख्यमन्त्रीले पनि नेकपाको औपचारिक विभाजन अघि गरे । यही सिद्धान्तको सफल प्रयोग गरेर उनीहरु सत्तामा निरन्तर छन् ।
प्रदेश–५ मा एक महिनाअघि विपक्षीहरु बहुमत सहित सरकारको दावी गर्न गए । तर, प्रदेश प्रमुखलाई आफ्नै निवासमा बोलाएर शंकर पोखरेल आफैँले मुख्यमन्त्री पदको शपथ लिए । बहुमत गुम्दा समेत प्रदेश प्रमुखलाई साथ लिएर कसरी सत्ताको निरन्तरतामा सफलता पाउन सकिन्छ, पोखरेलले यो शिक्षा दिएर ‘ओलीशास्त्र’ अझ समृद्ध पारिदिए । शेरबहादुर देउवा बहुमत सांसद सहित प्रधानमन्त्रीको दावी गर्दा जसले राष्ट्रपति भण्डारीले ओलीलाई नै निरन्तरता दिने तारतम्य मिलाइन्, यो पाठ ओलीशास्त्रले जबजका ब्याख्याता लुम्बिनीका मुख्यमन्त्रीबाट पाएको हो ।
‘सत्ता–हथ्कण्डा’ का सन्दर्भमा ‘ओलीशास्त्र’ ले विकसित गरेका कोर्समा अन्य विषयवस्तु पनि छन् । आफ्ना गलत क्रियाकलापको विरोध गर्न नसक्ने बनाउन सुरक्षा अंगका प्रमुखहरुको घाँटीमा कारबाहीको तरवार झुण्ड्याऊ । निर्वाचन आयोग, अख्तियार जस्ता संवैधानिक निकायहरुको प्रयोग विपक्षीहरुलाई ठेगानमा राख्नका लागि गर । आसेपासेहरुको नियुक्तिमार्फत् कर्मचारीतन्त्र र राज्यका अंगहरु आफ्नो स्वार्थ अनुकूल सञ्चालन हुने बनाऊ ।
जतिसक्छौ, विपक्षी दललाई विभाजन गर । लोभलालच देखाएर उनीहरुलाई आफ्नो साथमा राख। कथं सत्ता गुम्न लाग्यो भने राष्ट्रवादको धुवाँदार तोप जोडदार रुपले पड्काइदेऊ, तोपको आवाज र धुँवाले जनता कुहिरो कागजस्तो बनेको मौका छोपेर विदेशीसँग मोलमोलाइ गर र सत्तामा टिकिरहने प्रबन्ध मिलाऊ । साइबर सेनामार्फत् विपक्षीहरुको हुर्मत लेऊ । आफ्नो स्वार्थका लागि बचन दिए हुन्छ । तर, स्वार्थ पूरा भएपछि त्यसलाई थाङ्ग्नामा सुताइदिनु नै राजनीतिको सफलता हो । ओलीशास्त्रको आर्थिक दर्शन चाहिँ पशुपति शर्माले दुई वर्षअघि गीतमा भनेजस्तै ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपाल्मै हो छुट्’ हो । सत्तामा निरन्तरताका लागि ओलीशास्त्रले प्रतिपादन गरेका सिद्धान्त यिनै हुन् ।
अन्यत्रपनि राजनीतिमा यस्ता घृणित खेलहरु नहुने होइनन् । तर, ओलीशास्त्रले भने सीमा नाघेको छ । त्यसैले, एमाले नेता घनश्याम भुसालले केही दिन अघि प्राज्ञिक भाषा प्रयोग गरेर ओलीलाई चेतावनी दिए, ‘तपाईं (ओली) ले सत्ता टिकाउन गरेका जालझेल र छक्कापञ्जाले राजनीतिमा मान्यता पाउने भए विश्वभरका विश्वविद्यालयहरुमा राजनीति शास्त्र अन्तर्गत यस्तै छक्कापञ्जा र जालझेलहरु पढाइन्थ्यो होला । तर, विश्वमा कहीँपनि राजनीतिशास्त्र अन्तर्गत यस्ता हर्कतहरुको पढाई हुँदैन । किनभने, यसरी प्राप्त भएका सत्ता कहीँपनि टिकाउ भएका छैनन्, तिनले जनताको पक्षमा परिणाम दिएका छैनन् ।’
नयाँ शिक्षक÷प्राध्यापकको आकर्षण जुन विश्वविद्यालयमा पनि हुन्छ नै । बालुवाटारलाई पनि ‘ओलीशास्त्र’ पढाइदिने नयाँ प्राध्यापकहरुको जरुरत यतिबेला छ। सुनिन्छ, घनश्याम भुसालको विश्वविद्यालयबाट केही ‘स्मार्ट’ प्राध्यापकहरु ‘हन्टिङ’ गर्ने प्रयासमा बालुवाटार लागेको छ । हेरौँ, ती ‘स्मार्ट’ प्राध्यापकहरु घनश्याम भुसालकै विश्वविद्यालयमा राजनीतिशास्त्रको अध्यापनमा लागिरहन्छन् वा ‘ओलीशास्त्र’ पढाउने गरी नयाँ विश्वविद्यालयमा भर्ती हुन्छन् ! –नेपालखबरबाट





