ए बूढा ! उठ,मानो रोपेर मुरी फलाउने बेला यति अबेरसम्म सुतेर हुन्छ ? अरुका जहान मेलापात हिँडीसके, हाम्रा बूढालाई निदले छाडेको छैन, बेलुका घिच्नसम्म जाँड घिचेर सुत्ने, बिहान उज्यालो भएको थाहै छैन । भकारो स्याहार्ने, भैंसीलाई घाँसपात, दूध दुहुने काम गदिए नि मैले चुलोचौको लिपपोत, खाना पकाउनी काम गरिवरी चाँडै मेला जादो हुँ’, भन्दै बूढी गनगन गर्न लाएपछि पाखाथरे बूढा आँखा मिच्दै उठेर नित्यकर्म, भकारो सोरसार, घाँसपात गरीवरी भैंसीको दूध दुहेर आउँदा बूढीले सरसफाई सकेर चुलोमा भात बसालेकी थिइन् । एउटै ओदाने चुलो, भातको कसौंडी छेउतिर सारेर दूध तताउन कुंडे बसालेर बूढा बाहिर निस्कन लागे । बूढा रिसाएकी भन्ठानेर मायालु लवजमा ‘तात्तातो १ गिलास दूध पिएर घाँस काट्न खोलाखेत जानुहोला, म पनि तरकारी बसालेर आइपुग्छु ।’ बोल्दै गर्दा उनले बूढातिर हेरिन्,बूढा नाम्लो ठीक पार्दै, आँसी उदाएर खुर्पेटोमा भिर्दै थिए । चरेसको माने कचौरामा तातो दूध बाहिरै ल्याएर हातमा दिइन् । पुर्लुक्क बूढीको मुख हेरे अनि फु ..फु … गर्दै हतपत दूध पिएर प्लाष्टिक ओडेर घाँस काट्न हिंडे ।
बूढी पनि तरकारी चुलोमा बसालेर,आगो सानो बनाई आडिला दाउरा अगेनामा राखेर डोको, नाम्लो, आंसी लिई घास काट्न हिँडिन् । खेतमा पुग्दा बूढा त ढुंगामाथि बसेर खोलो हेरेर टोलाइराख्या । उर्लंदो खहरे खोलाले छेवैको खलेगरोसहित १ दिनको मेलो खेत बगाइसकेछ । बूढी पनि हेरेको हे¥यै भइन् । ‘खोलाले खेत खायो भनेर कामै नगरी बसेर हुँदैन, भएको घाँस काटेर जाऊँ जति चिन्ता गरेपनि खेत फर्कने होइन’, भन्दै बूढलाई सान्त्वना दिइन् । दुबैले घाँस काटीवरी भारी पु¥याए । घर फर्के । खाना खाएपछि ‘ए बूढी आजभोलि गैराघरे सांँइलाको रोपाइँ छ रे, बाउसे खेताली आइदिनु भन्याछन्,म जाँदै गर्छु, तिमी भाँडा माझेर आउनू’ भन्दै सेउ (स्याखु) ओडेर बाउसो समातेर बूढा हिँडे । बूढी चाहिँ जुठाभाँडा सफा गरेर झ्याल ढोका बन्द गरी धान रोप्न हिँड्दा भैंसीले आँइ… गर्दै थियो । उनी अडिइन । एक मुठो घाँस भैंसीलाई दिएर २ वटा पाठासहित बाख्री डोहो¥याउँदै स्याखु ओडेर जाँदाजाँदै अरु खेतालीले बीउ काडिसकेर रोप्न ठीक्क परेका रहेछन् । बाख्रालाई खेतको सिरानतिर छाडेर उनी पनि धान रोप्न थालिन् । स्याखु ओडेर काममा धसिएका मानिस हेर्दा पोखरीमा कछुवा झैं देखिन्थे ।
माथिल्लो गरामा जोतेर आली लाइसकेपछि काजीदाइले ‘हो.. हो.. उई..ई …’भनेर तिखेगोरुको पुच्छर निमोठ्दै गोरु कुँदाउँदा हिलो छ्यापिएर कोही खेताली हास्न लागे कोही रातोपिरो अनुहार लाउँदै ‘मातेको मोरो’ भन्दै सङ्लो पानीले आँङभरी लागेको हिलो पखाल्न लागे । त्यो गह्रो साएर सकेपछि बल्ल ढुक्कसित छुपुछुपु रोप्न लागे । नत्र, गोरू फर्काउनासाथ सम्माउन लागेको गराको हिलोले लुछ्प्रै पार्ने । काजी दाई पनि जोत्ने बेलाको थकाई मार्दै रमाइलो गर्न हिलै छ्यापिने गरी गोरू दगुराउँथ्यो । गैराघरे आमाले सेउले ढाकेर सोलीमा सेलरोटी, अचार र थर्मसमा चिया लिएर आइन् । ठूलोगह्रोसहित आधा मेलो सकेका खेतालाहरु भोकले टट्टु परेका, यताउता नहेरी आमाले राखि दिएको अर्नी ( खाजा) झ्वाम पारे । खाजा खाइसकेपछि मेलामा हिँड्ने बेला भैंसी कराएको संझिन् । ‘ओहो ! त्यो भैंसी कति करायो होला, घाँसपानी कसले दिने ?’ ‘टाउको दुख्यो, औषधि खाएर आउँछु’ भन्दै चराउन छाडेको बाख्रो र पाठा डोहो¥याउँदै घरतिर गइन् । मान्छे देखेपछि कराउन छाड्यो । हत्तपत्त एकमुठो घाँस टाट्नामा राखिन् । बाख्रो बाँधिन् । पाठाहरु डोकाले थुनिन् अनि ताउलाभरी चापट घोलेको कुँडोपानी मिलाएर भंैसीलाई दिइन् । सोचिन्,‘ आजकल गाउतिर नि वाईफाई हो कि के हो चलाएका छन्, छोराछोरीलाई घरै बोलाउन परो । गाडी चल्न छाडे, बाढीपहिरोले झन पिरलो ।’ भैसीले कुँडो खाँदै आफूलाई हेर्दै गर्दा ‘मलाई एक्लै छोडेर नजाऊ’ भनेजस्तो लाग्यो । फेरि एक मुठी घांस दिएर हिंडिन, अब औषधि किन खानु ?
दुनियाँभर कोरोनाले च्यापेका बेला टाउको दुख्यो भनेपछि यिनलाई नि भेट्यो कि भन्दै खासखुस गर्दै अरु खेताल्नी उनीदेखि अली परपर तर्किन लागे । यो क्रम बेलुका घर फिर्दासम्म रह्यो । दर्केको झरी, मास्क कसैले लगाएका थिएनन्, स्यानिटाइजर लगाउने कुरै भएन । कसैलाई रुघाखोकी, टाउको दुख्ने कुरा थाहा पाए तर्केर टाढा रहनुबाहेक उपाय थिएन । खेती लाउनै प¥यो । बीउ, मल वा अन्य सामान यताउता सारेर सहयोग गर्नैप¥यो । त्यो काम एक्लै सकिने कुरा होइन । ‘कोरोना स¥यो भने सबै मरिने भइयो, क्यार्नी हो ?’ भन्दै गुनगुनाउँदै काम गर्न बाध्य छन्,सबै । पहिले बाउसेको काम सकियो । पाखाथर बूढा हत्तपत्त हिँडे । नजिकै बारीमा पुगेर एकभारी घाँस काटे । घर पुगेपछि भंैसीलाई घाँस हालेर दुहुन बसे । बूढी आगो सल्काएर खाना बनाउन लागिन् । आज बूढो कतै गएनन्, सायद हिजोजस्तै धेरै पिएर सुतेपछि निन्द्रा नपुग्दै बिहानको झैँ बूढीको गनगन सुन्न नपरोस् भन्ठानेर होला ! ५ मुरी धान हुने १ दिनको मेलो रानोखेत खोलाले बगाएपछि पीर परेर पो हो कि ? बूढी अड्कल काट्दै थिइन् ।
खाना खाइवरी सुत्ने बेला ‘छोरालाई फोन गरेर भोलि नै घर बोलाउनू, अरुले गाउँमा वाइफाइ हो कि के राखेर केटाकेटीले घरबाटै अनलाइन÷सनलाइन पढ्दैछन् रे, हाम्रालाई किन बजाराँ बस्नु ?’
‘बाढीपहिरोले खेतसेत खाइसक्यो । गाडी चल्न छोडे । चामल–तरकारी पठाउन संभव छैन’ भन्न नपाउँदै बूढाले बजारमा डेरा लिएर बसेको छोरालाई फोन गरी हाले । ‘बिहानै हाम्रो सहकारीमा गएर वाईफाई र गाडी भाडा लाग्ने पैसा निकाल्नू र बेलुका गाडी नचले हिँडेरै भएपनि बहिनीलाई लिएर घर आउनू अब घरमै बसेर अनलाइन पढे हुन्न बाबु ?’ छोराको ‘हुन्छ बुबा’ भन्ने जवाफले बूढाबूढी फुरुङ्ग भए । दिउसो मेलामा जाँदा–आउँदा भैंसी कराएको, घरमा कोही नहुँदा चोरी हुने डर भएको र छोराछोरी घरमा हुँदा काममा हातको हतेरो भएपनि धेरै सुख हन्छ अब त भन्ने सोचेर बूढाबूढी आनन्दले सुते । बिहान उठ्दा फेरि उस्तै दर्केझरी । ‘ए भगवान ! के भएको हो ? असार नलाग्दै यस्तो झरी लाएको थाहा थिएन, के हुने हो अब ?.’चुहेको पिंडीमा टुक्कुक्क बसेका दुबैजना गुनगुनाउन लागे । गोठमा भैंसी भोकले टाट्नो बजाउँदै थियो । बूढा गोठतिर लागे । बूढी लिपपोत, चुलोचौको गरी खाना पकाउन तयारीमा । केटाकेटी कतिबेला आउने हुन् ? भोकाएर आउलान्, मकै भुटेर थालमा राख्दिम् र काममा जाऔं भन्दै घासपात गरी गैराघरेको मेलामा लागे । आज अली चाँडै रोपाइँ सकियो, भोलि आफ्नै खेतमा रोपाइँ छ, खोलाले खाएर बचेको खेत बाँझै राख्न पनि भएन, ब्याडमा बाढी पसेर आधा बीउ नाश भएको छ । कुलोको मुहान मर्मत गरेर बूढाले एकभारी घाँस पनि काटे । छोराछोरी निथ्रुक्क भिजेर हिँड्दै आइपुगे ।
‘पानीमा रुझेरै भएपनि छोराछोरी आइपुगे, बाटोमा अलपत्र पर्छन् कि भन्ने पीर थियो, बेलैमा आयौ, लुगा फेर, हातखुट्टा सफा गर’ रोपाइँ सकेर भर्खरै आएकी बुढीले खुसी हुँदै भनिन् । पानीले भिजेका लुगा फेरेर बिहानै राखेका मकै र चिया टकारिन् । चिया पिउँदै हालचाल सोधनी भयो । बाटो पहिराले बगाएर गाडी चल्न त के हिँड्न नि मुस्किल, बल्लबल्ल आएको जानकारीसँगै ‘भोलि बिहान वाईफाई जोड्न प्राबिधिक आउँछ कि आउँदैन’ भन्ने छोराको कुरा सुनेर बूढाबूढी खुसी भए ।





