तनहुँ, ११ असार– तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता उपलब्ध गराउने जनाएको छ । संघिय सरकारले एकल महिलालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । एकल महिलाले मासिक ३ हजार रुपैयाँ भत्ता बुझ्छन् । एकल पुरुषले सरकारबाट एक सुको पाउदैनन् ।
ऋषिङले भने आगामी आर्थिक बर्षबाट एकल पुरुषलाई पनि भत्ता दिने घोषणा गरेको छ । विहीबार नवौ गाउँ सभामा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने, ‘गरिब तथा विपन्न एकल पुरुषलाई एकल पुरुष भत्ता उपलब्ध गराईनेछ ।’
गाउँपालिकाले सासु ससुराको राम्रो स्याहार सुसार गर्ने असल बुहारीलाई सम्मान गर्ने निती समेत अवलम्बन गर्ने जनाएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘ऋषिङ गाउँपालिकामा आमा समुहको कार्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘आमासंग जनप्रतिनिधी कार्यक्रम’ सञ्चालन गरिनेछ । यस कार्यक्रम अन्तर्गत वृद्ध अशक्त आमावुबा तथा सासु ससुरालाई राम्रो स्याहार सुसार गर्ने उत्कृष्ट बुहारीलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।’ यो कार्यक्रमले पारिवारीक सम्बन्धलाई अझ प्रगाढ बनाउन सघाउने उनको विश्लेषण छ ।
यस्तै, गाउँपालिकाले अपांगता भएका व्यक्तिको जिवनयापनलाई सहज र सरल बनाउन सरकारले सामाजिक सुरक्षा भत्ता नदिने ‘ग’ र ‘घ’ वर्गको अपंगता परिचयपत्र भएकालाई बार्षिक एक मुष्ठ भत्ता उपलब्ध गराउने निती बनाएको छ । एक घर ः एक धारा, खरको छानो मुक्त घर, प्राविधिक विद्यालय सञ्चालन, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, सहारा विहिनलाई घर बनाउने जस्ता आकर्षक नीति गाउँपालिकाले लिएको छ । कृषीमा आर्कषण बढाउन बाँझो जग्गामा खेती गर्न चाहाने कृषकलाई प्रोत्साहन गर्दै अनुदान उपलब्ध गराउने गाउँपालिकाको योजना छ । गाउँपालिकाको केन्द्रबाट सबै वडामा पुग्ने सडकलाई कालोपत्रे गराउने समेत जनाईएको छ ।
ऋषिङले विहीबार नवौ गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ५२ करोड रुपैयाँको अनुमानित बजेट गाउँ सभामा पेश गरेको छ । गाउँपालिकालाई संघिय सरकारबाट समानीकरण अनुदानमा १० करोड रुपैयाँ, राजश्व बाँडफाँडमा ८ करोड ५४ लाख ३० हजार रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदानमा १ करोड १९ लाख ५३ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट ६४ लाख रुपैयाँ र संघिय सरकारको सशर्त अनुदानमा २१ करोड ८६ लाख आम्दानी हुने बजेटमा उल्लेख गरिएको छ ।





