तनहुँ, १७ असार– अविरल बर्षाले तनहुँमा वितण्डा मच्याएको छ । विभिन्न स्थानमा बाढी पहिरो गएको छ । ठुलो धनजनको क्षति भएको छ । जिल्लाभर २ जनाको मृत्यु र ६ जना घाईते भएका छन् । केही घर पहिरोले पुरेको छ । सयौँ घर पहिरोको जोखिममा छन् ।
तनहुँको ५ स्थानमा गरिएको मौसम मापनमा खैरेनीटारमा सबभन्दा धेरै बर्षा भएको देखिन्छ । जल तथा मौसम विभागका सहायक मौसम विज्ञ सरोज अधिकारीले दिएको जानकारी अनुसार खैरेनीटारमा १९०.५ मिलीलिटर बर्षा भएको छ । यो पछिल्लो २४ घण्टाको रेकर्ड हो ।
मुग्लिनको साँखरमा १६५.६ मिलीलिटर, बन्दीपुरमा १५०.३ मिलीलिटर, श्याम्घामा ९९ मिलीलिटर बर्षा मापन गरिएको छ । दमौलीमा रहेको मापन केन्द्रले पछिल्लो २४ घण्टामा ७७ मिलीलिटर बर्षा भएको रेकर्ड गरेको अधिकारीले जानकारी दिए । ५० मिलीलिटर भन्दा माथी भएको बर्षालाई खतरा मान्नुपर्ने उनले बताए । ‘तनहुँमा भारी बर्षा चाही भएको छ । तर, अहिलेसम्मका कुनैपनि रेकर्ड ब्रेक भएको छैन्’, उनले भने ।
गत बर्ष श्याम्घा मापन केन्द्रमा झन्डै २०० मिलिलिटर मापन भएको थियो । यो पछिल्ला बर्ष तनहुँमा भएको सबैभन्दा भारी बर्षाको मापन हो । अधिकांश स्थानमा बर्षा भएकाले खोलाको वहाव बढेको उनले बताए । तनहुँको बन्दीपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा भारी बर्षा भएको देखिन्छ । यहाँको स्थानियले बाढी, पहिरो र डुबानको सामना गर्नुपरेको छ ।
शनिबारसम्म बर्षा नरोकिने मौसमविद् राजु प्रधाङ्गले जानकारी दिए । ‘मनसुन अहिले सक्रिय अवस्थामा छ । मनुसुनको न्युनचापिय रेखा नेपाल नजिकै छ’, उनले भने । यसैको प्रभावले गण्डकी र लुम्बिनीको पुर्वी पहाडी भुभाग, बाग्मती, प्रदेश १ र प्रदेश २ बढी प्रभावित हुने उनले बताए । मौसमविद् प्रधाङ्गले बाढी पहिरो जाने गरी भारी बर्षा हुन सक्ने बताए ।





