तनहुँ, १८ असार– बुधबार रातिदेखि परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका २, तामुङका २ जनाको पहिरोले ज्यान लिएको हो ।
७२ वर्षीया हरिमाया सार्की र अन्दाजी ३२ वर्षीया सरस्वती थापाको मृत्यु भएको वडा सदस्य हर्कबहादुर थापाले बताए । दुबैको घटनास्थलमै मृत्यु भएको हो ।७२ वर्षीया हरिमाया घरमा एक्लै बस्दै आएकी थिइन् । उनको घरमाथि सडकबाट विहान ६ बजेतिर खसेको पहिरोले पुरिएर मृत्यु भएको हो । सरस्वतीको भने बिहान ३ बजे आसपासमा खसेको पहिरोले च्यापिएर मृत्यु भएको थापाले बताए । उनको परिवारका ३ जना घाइते छन् । मृतकका ससुरा ६६ वर्षीया दिलबहादुर थापा मगर, सासु ५८ वर्षीया दाउरीमाया र देवर २६ वर्षीय सुवास घाइते भएका छन् । घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य खतरामुक्त रहेको वडा सदस्य थापाले बताए । अर्कै घरमा सुतेका सुवासको श्रीमती र छोरा भने सकुशल छन् ।
घरमाथिबाट खसेको पहिरोले घर ढल्दा उनीहरु च्यापिएको अवस्थामा फेला परेको वडा सदस्य थापाको भनाई छ । ‘एक–दुईदिन अगाडी पनि माथिबाट पहिरो खसेर सडकमा थुप्रिएको थियो । राति त्यही थुप्रिएको पहिरोसहित सडक तलबाट खसेछ’, उनले भने । २ वर्ष अगाडीमात्रै यहाँको सडक चक्लाएर ८ मिटर फराकिलो बनाइएको थियो । सडककै कारण पहिरो खसेको उनको अनुमान छ । उनका अनुसार तामुङमा आधा दर्जन घर पहिरोको जोखिममा छन् ।
यता शुक्लागण्डकीमा पनि पहिरोमा परेर ३ जना घाइते भएका छन् । सबैको अवस्था सामान्य छ । शुक्लागण्डकी–१० सिम्लेमा चेतबहादुर भुजेलको घरमाथि सडकबाट पहिरो खस्दा उनकी श्रीमती ६० वर्षीया खगीमाया र नाती १४ वर्षका विज्ञान घाइते भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए । घाइते दुबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल)मा उपचार भइरहेको छ । यी दुबैको अवस्था सामान्य छ । पहिरो खस्दा खगीमाया भान्छामा र विज्ञान शौचालयमा रहेको स्थानीयले बताए । मुलघरमा रहेका अन्य ६ जना परिवारका सदस्य भने सकुशल छन् । घरमा भने क्षति पुगेको छ । भुजेलको गोठसमेत पहिरोले पुर्दा १० वटा बाख्रा मरेका छन् । यस्तै, सोही स्थानका टेकबहादुर महतको पनि पहिरोले १० वटा बाख्रा र १ भैसी पुरेको छ ।
शुक्लागण्डकी १०, खोरादीमा पहिरोले घर बगाएर ५४ वर्षका भविलाल विक घाइते भएका छन् । घर पहिरोले बगाउदा उनी पनि पहिरोसँगै बगेका थिए । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको वडा कार्यालयले जानकारी दिएको छ । उनको अवस्था सामान्य छ । शुक्लागण्डकीका विभिन्न स्थान डुबानमा परेका छन् ।
म्याग्दे गाउँपालिका ५ मा पहिरोले घर भत्काउदा दुईजना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले लागेर ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका छोरा २५ वर्षीय रोजन परियार घाइते भएका हुन् । दुबै जनाको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोले घरमा आंशिक क्षति पुगेको छ ।
व्यास नगरपालिकामा छाब्दी खोलामा आएको बाढीले पक्की पुल नै बगाइदिएको छ । बाढीले बुद्धसिंह मोटरमार्गमा पर्ने व्यास–१ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बगाएको हो । पुल बगाएसँगै बुद्धसिंह मार्ग, केशवटार मार्गमा आवतजावतमा समस्या भएको छ ।
जिल्लामा पर्ने पृथ्वीराजमार्गको ठाउँ–ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । प्रहरीले सडक दिनभर प्रयास ग¥यो । केही घण्टा एकतर्फी खुलेको सडक साँझपख छिर्कनमा गएको पहिरोले फेरि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पृथ्वीराजमार्गको दुलेगांैडा खैरेनीटार सडकखण्ड जलमग्न बनेको छ । भारी बर्षाले जलमग्न सडकमा सवारी हुईकाउँदा दुर्घटनाको जोखिम बढेको छ । बन्दीपुरको डुम्रे बजारमा पनि सडक जलमग्न बन्यो । जिल्लाका धेरै जसो स्थानमा पहिरोले ग्रामीण सडक अवरुद्ध बनेका छन् ।
सयौँ घर जोखिममा छन् । हजारौँ हेक्टरमा जमिनमा लगाएको धानवालीमा बाढीले क्षति पु¥याएको छ । तनहुँ हुदै बग्ने सेती, कालीगण्डकी, मादी, मस्र्याङदी नदीमा पानीको वहाब बढेको छ । साना खहरे खोलामा बाढी आएको छ । बाढी पहिरोले कति परिवार विस्थापित भएका छन् तनहुँ प्रशासनसँग यकिन तथ्याङ्कै छैन् । ‘भानुतिर धेरै क्षेत्र डुबानमा छ । बन्दीपुरमा पहिरो गएको छ’, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने ।
लमजुङको राइनासमा घर बगायो
बर्षापछि आएको पहिरोले लमजुङको राइनास ७, गरमबेसीकी विष्णुमाया गुरुङको धनसार बगाएको छ । उनको घरमा लेदो पसेपछि परिवार विचल्लीमा परेका छन् । त्यहाँका अन्य ३ घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । लमजुङकै मध्यनेपाल ४, तिलाहार बस्ने अमृता विकको घर पनि पहिरोले भत्काइदिएको छ । घर पछाडिबाट आएको पहिरालेले अन्नपात र भाँडावर्तनमा क्षति पु¥याएको छ ।
नवलपुरमा सडक अवरुद्ध
बाढीले गैंडाकोट ९, थुम्सी स्थित पूर्व–पश्चिमा राजमार्गमा बनाइएको डाइभर्सन भत्कँदा राजमार्ग अवरुद्ध भएको छ । यसअघिको बाढीले पुल बगाएपछि त्यहाँ डाइभर्सन बनाइएको थियो ।
गोरखाका घर जोखिममा
बाढीले गोरखाको पालुङटार ९, बिर्दीमा रहेको खारखोलाले वरपरका बस्ती खतरामा पारेको छ । सो ठाउँबाट ८ जनालाई उद्धारपछि सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ ।
नदीपुरमा घरमा क्षति
अविरल बर्षाले पोखरा ३, नदीपुरमा २ घरमा क्षति पु¥याएको छ । ढल निर्माणको क्रममा स्थानीय जयराम पाण्डे र देओबहादुर पुनको यही असार १३ गते राति आएको बर्षादको कारण घरको भित्ताहरुरु चर्किएका छन् । वडा कार्यालयबाट ९५ मिटर स्ल्यापसहित दोहोरो नाला निर्माणकै चरणमा झरी पर्दा ती घरमा क्षति पुगेको स्थानीयले बताए । गण्डकी प्रदेश सभा सांसद रामजीप्रसाद बरालले वर्षाको समयमा हुने पूर्वाधार निर्माणले कमजोर भूभाग भएको क्षेत्रमा थप क्षति निम्त्याउन सक्नेतर्फ सचेत रहन आग्रह गरे ।





