चिज उहीँ हो, काम उहीँ हो, ओत दिने । घुम, सेउँ, पै कुसा, स्याखु, स्याङ्गो, झिम, आदि नामले बोलाउँदा रहेछन्,ठाउँ अनुसार । सेखुसँगको मेरो निकटता बाल्यकालदेखि नै थियो । सेखु ओढेरै विद्यालय पु¥याउँथिन् आमाले । मामाघर, फुपुघर वा साथीभाईका वर्षादमा पुग्दा सेखुले साथ दिन्थे, हामीलाई । सेखुसँगको प्रेम गहिरो छ । यसपालको असारे हिलोमा पनि सेखुकै राम्रो साथ थियो । अनि त्यहीँ यादको तलतल मेटाउन उक्ले सेखु ओढेरै पञ्चासे । त्यो पनि खाली खुट्टै ।
असारे मास । तल बेसीमा तरेली परेका खेतहरु लोभलाग्दा देखिन्थे । कोही खेतैमा रोपाइँमा व्यस्त थिए त कोही हिलो पखालि ओरी घरैमा । यता बादलसँग लुकामारी खेल्दै थियो भदौरे देउराली गाउँ । पारिपारि कास्कीकोट, नौडाँडा अनि सराङकोट कुहिरोभित्रै देखिन्थे । पानी मेस्मानी दर्किरहेको थियो । बादलहरु डाँडाकाडा छुने हुटहुटीले माथिमाथि उक्लदै थिए । अनि हामी पनि उनीहरुसँगै प्रतिस्पर्धा गर्दै उक्लदै थियौं पञ्चासे ।
शहर लकडाउनमा मस्त सुतिरहेको थियो । असारे रोपाइँका लागि गाउँ पसेको मान्छे ,म । गाउँमा के को लकडाउन, के को बन्दाबन्दी । उहीँ दैनिकी, उहीँ व्यस्तता । किनासहरुलाई घरभित्रै आरामसँग बसिरहन कहाँ पाइदो हो र ? कोदो अनि धान रोप्ने काम सकेसँगै केही फुर्सदको समय जो मिलेको थियो । अनि फु¥यो फरक योजना । सेखु ओढेरै वर्षातमा पञ्चासे उक्लने । मेरा हाइकिङ पार्टनर थिए, सुरेश भाई । जो नामी र कुशल फुटबल खेलाडी हुन् । प्रदेशस्तरीय र क्षेत्रीय धेरै खेलहरु खेलेको अनुभव बटुलेको मान्छे ऊ । घुम्नको सौखिन मान्छे भाई पनि ।
घरकै ठीक अगाडि देखिने डाँडा न हो पञ्चासे । यसो सिधैं कुदिए केही मिनेट मै पुगिएला झैं लाग्छ । झन् मन त केही पलमै पुगिहाल्दो हो । यता हिँडेरै त चार पाँच घण्टा कै बाटो । पञ्चासे जाँदा बाटो बिराइन्छ, चित्रे पुगिन्छ, आर्थर पुगिन्छ, यस्तै भन्थे सानामा घरकाले । खै के खालको गन्धे झार हुन्छ रे पञ्चासेमा, त्यसलाई छोए त त्यसै लठ्ठ परिन्छ, घरसम्म आउनै सकिन्न । मनमा डर भरिदिन्थे । झन् कौतुहलताको बाँध फुटेर आउँथ्यो । अनि चार वर्ष अघि एक्लै उक्लेथे पञ्चासे । सुरुसुरुमा त गन्थे, तेस्रो पटक, चौथो पटक । आजकल त गन्नै छाडे, हरेक पटक फरक स्वाद भेट्छु पञ्चासेमा ।
घरबाट निस्कदा पार्नी दर्किरहेको थियो । निधारमा सेखु अड्याएर निस्एिका थियौं हामी । हामीलाई भन्दा हतारो थियो होला जुकालाई, उक्लदै थिए हाम्रा पैताला हुँदै माथिमाथि । हाम्रो पाइलाहरुको चाल पाएसँगै सलबलाउथे जुकाहरु । माथि रुखका पातबाट टाउकामा खस्थे जुका । बाटो छेउछाउ टासिए त झन् जुका नै जुका । जुकाले शरीरमा साम्राज्य जमाएपछि त जुका टिपेर फाल्न पनि अल्छी लागेर आयो । फाल्नु पनि कति ? विदेशतिर जुका थेपारी भन्दा रहेछन्, यहाँ त प्राकृतिक नै । मनमनै चित्त बुझाउँदै सिँढीहरु उक्लिए ।
जताततै हरियाली । मन त्यसै रमाइरहेको थियो । कलकल चिसो पानी बग्दै थिए खोलामा । बर्खे मुल भर्खर टुसाउँदै थिए । लोभलाग्दा फूलहरु हाम्रै स्वागतमा मुस्कुराइरहेझैं लाग्थ्यो । अनि चराहरुको उस्तै चिरबिर चिरबिर आवाज । कहिले कालिज फुत्त बाहिर निस्कन्थे त कहिले ढुकुर अनि अन्य चराहरु । प्रकृतिमा सुन्दरतामा हामी त हराइसकेका थियौं, विस्तारै विस्तारै ।
हिड्न सजिलो होस् भनेर पनि होला, ढुंगाका छपनी ओछ्याएर मिलाएर बनाइएका थिए चिटिक्क परेका सिढींहरु । ठाउँठाउँमा आराम गर्ने स्थलहरु बनेका थिए । आकाश खुल्दो हो त, आँखै अगाडि लमतन्न हिमालहरु देखिन्थे । धौलागिरीदेखि मनास्लुसम्मको रेन्ज । भनेको सुनेथे, सबैभन्दा हिमाल पञ्चासेबाटै देखिन्छ रे । फोटो नखिची मन कहाँ मान्दो हो र घुम्न आउनेहरुको । तर पनि मनसुनमा पञ्चासे यात्राले मन निराश भने तुल्याउँदैन । हरियाली सुन्दरताले मन त्यसै भरिन्छ ।
पञ्चासे ताल पुग्दा घडीले एघार बजाएको थियो । पाँच घण्टा लगाएछ पुराका पुरा । सुनसान थियो वातावरण । कञ्जन तालको पानी । अनि तालमै छ बाराही मन्दिर । सबै आफ्नै स्थिर चालमा थिए । छेवैमा छ ठाटी । अर्थात आराम स्थल । जहाँ टाढाटाढाबाट यात्रामा निस्कनेहरु रात पर्दा रात बिताउँदा हुन् । हामी त्यही ओत लाग्यौं । थकान अनि भोकले आक्रान्त पारिसकेको थियो । पञ्चासेमै सब चिज पकाएर खाने, त्यही अनुरुप उक्लेका थियौं हामी । ठाटीमा दाउरा भेटिएला, त्यही ओदान बनाइ चिया अनि खाजा बनाउँला, सपना बोकेर आएका हामी । दाउरा त भेटिए तर सबै चिसो । रातभर दर्केको पानीले सब रुजेछ । अनि परेन त फसाद । भोकै भइने डरले मनमा डेरा जमायो । अरु त के कुरा, कालो चिया उमाल्नै आधा घण्टा लाग्यो । कोदाको रोटी, चना अण्डा, अनि तरकारी पकाउन राम्रै समय लाग्यो । पुराका पुरा तीन घण्टा । त्यतिन्जेल भोक पनि हराइसकेको थियो ।
फरक स्वाद चाख्ने हाम्रो योजना थियो । सबै अर्गानिक अनि रैथाने तरिका । प्लेटका लागि निगारोको पातका टपरी गाँसेका थियौं । बासकै गिलास अनि बासैका पनियु र चम्माहरु । प्लास्टिक अनि कागजहरु कम प्रयोग होस् भन्ने हाम्रो चाहना थियो । वातावरणमैत्री पैदल यात्रा । अझ भनौं इको फ्रेन्डी हाइक । तालको मनोरम दृश्य नियाल्दै चियाको चुस्कीसँगै खाजा खानुको स्वाद नै बेग्लै ।
खालि खुट्टै किन ? धेरैले प्रश्न सोधे । ‘सन्तुष्टिका लागि,’ म जवाफ फर्काउथे । खालि खुट्टै यात्रामा निस्कदा कैयौं जुकाले टोक, काडाले कोपे अनि कोतारिए खुट्टाका औंलाहरु चुचा ढुंगाले । हो, हामीलाई यहीँ पीडा अनुभव गर्नु थियो । गाउँघरतिर वर्खा सर्खा केही नभनि सधैंभर घासँदाउरा अनि स्याउला बटुल्न जंगल पस्ने गाउँका भुइँमान्छेका दुखहरु अनुभूति गर्न मन थियो । बुझ्नु थियो उनीहरुका दुखका कथाहरु । पीडाका व्यथाहरु । ब्रान्डेड जुत्ता अनि चप्पल लगाएर ती सब कहाँ महसुस गर्न सकिँदो हो र ? गाउँमा दुःख छ । दुःख छ र त सुख छ । सुखै सुख हुने भए त त्यही सुख नि दुःख झै लाग्दो हो । दुःख र पीडामाझ नै रमाउन सक्ने गाउँलेहरुबाट हामीले कहिँले सिक्ने, यर्थाथ सुखबारे । आत्मीय सन्तुष्टि बारे ।
हामी ठूल्ठूला कुरामा सुख खोज्छौं । अरुका भन्दा बढी सम्पति, इज्जत अनि नाम कमाउने महत्वाकांक्षी सपना बोकेर दिनरात कुदिरहने हामी कहिल्यै खुसी हुन सक्दैनौं । किनकि लोभको घैटो कहिले पो भरिन्छ र ? अनि हामी ससाना खुसीलाई त खुसी नै ठान्न बिर्सिसकेका हुन्छौं । अर्को अर्थमा भन्दा हामी आफ्नै जीवन जिउन बिर्सिसकेका हुन्छौं । खालि खुट्टै सेखु ओढी पञ्चासे उक्लदा मनमा छुट्टै प्रकारको सन्तुष्टि जो मिलेको थियो । सायद कुनै पैसाले यो आनन्न कदापि किन्न सकिँदैनथ्यो ।
पञ्चासे तालदेखिको नाकै ठोकिने उकालो । वसन्त ऋतु हुँदो हो त ढकमक्क फूल्दा हुन् लालीगुँरासका फूल । बोटमा मात्र हैन्, बाटोमा पनि । मनमनै लाग्थ्यो, रेड कार्पेट हैन यहाँको राता लालीगुँरासकै कार्पेट बिछ्याइदिएकी हुन्थिन्, प्रकृतिले, घुम्न आउनेहरुको स्वागतका लागि । त्यसै त्यसै आल्हादित भइहाल्छ मन पनि फूलसँगै । अहिले भने हरियालीले मनै जितिहाल्छ । त्यसै खुसी दिल पनि ।
एक घण्टा मज्जाले उक्लिएपछि सुरुमै पुगिन्छ बाइसे चौबिसी राज्यका पालाका भग्नावशेषहरु । अनि छेवैमा छ बुद्धधर्मावलम्बीहरुको गुम्बा । बुद्ध पुर्णिमा अनि विभिन्न विशेष अवसरमा यहाँ अनुयायीहरु यहाँ आइपुग्छन् । त्यसपछि केही समयमै आइपुगिन्छ गुरुङ हिल । यहाँबाट देखिने मनोरस दृश्यलाई शब्दमा कहाँ वर्णन गर्न सकिन्छ र ? वर्णन गर्न खोज्नु पनि त मुर्खता हो ।
छेवैमा नवनिर्मित गोपाल गुरुङको स्मृति पार्क । गुरुङ, जसको अथक प्रयासले आज पञ्चासे क्षेत्र यस स्थानमा आइपुगेको हो । कुनै बेला पञ्चासेको उनले देखेको सपना सुनाउँदा सबैको खिसी गर्थे । हाँसोका पात्र बन्थे उनी । तर उनी थाकेनन् । अहोरात्र लागिरहे । र त फेरियो पञ्चासेको मुहार । हो, उनै पञ्चासेका परिकल्पनाकारका नाममा सुनखरी गोपाल गुरुङ स्मृति पार्कले यहाँको सोभा बढेको अनुभूति हुन्छ । गुरुङले बुनेका सपनाहरु साकार पार्ने जिम्मा हामी सबैको काँधमा थपिएको छ । नेपालकै सबैभन्दा धेरै प्रजातिका सुनखरी पाइने ठाउँ पञ्चासेलाई विद्यार्थीहरुका लागि अनुसन्धान केन्द्र र खोज एवं अध्ययन स्थल बनाउनुपर्छ भन्ने उनले देखेका सपना साकार होस्, यहीँ न कामना गर्ने हो हामीले ।
सिद्ध मन्दिर, पञ्चासे बाबाजीको कुटी, गुफा आदि पञ्चासेका थप विशेषताहरु हुन् । धीतमरुन्जेल नियाल्यौं हामीले । पञ्चासे सबैका लागि खुला पुस्तकालय हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक अनि जैविक विविधताले भरिपूर्ण यस्तो ठाउँ सायद बिरलै भेटिन्छन् । त्यसैले यस क्षेत्रको फरक किसिमको हाइक अनि ट्रेकको ब्रान्डिङ गराउनुपर्ने देखिन्छ । इको हाइक, कल्चर ट्रेक आदि भिन्न स्वादहरु पाहुनालाई पस्काउन सके अझ पञ्चासेको चर्चा चुलिने छ । आधुनिकताका नाममा मौलिकता र रैथाने स्वाद बिर्सिसकेको हामीलाई फरक पञ्चासे यात्राले केही राहत दिन सक्छ ।
पञ्चासे कहिले उक्लने ? धेरैले प्रश्न गर्छन् । जहिले फुर्सद हुन्छ, त्यही बेला उक्लनुस्, म जवाफ फर्काउछु । हुन् पनि हरेक याम, हरेक ऋतुमा फरकफरक स्वाद मिल्छ पञ्चासेमा । वर्षामा रुझ्दै पञ्चासे उक्लनुको आनन्द, जाडो याममा हिउँले ढाकिएको पञ्चासे, वसन्तमा फुलेको लालीगुराँस अनि शरद ऋतुको सुखानुभूति सबै बेग्लैबेग्लै स्वादका छन् । यहीँ फरकपन पञ्चासेमा मिल्छ ।
हर्पन चौताराबाट देखिने सिदाने गाउँ, तल बेसींका धानका खेतहरु अनि फेवाको मुहान अधेरी खोला हुँदै फेवासम्म पुगेको नागबेली आकारको खोला । अनि कुहिरोभित्र रुमलिरहेको फेवाताल अनि पोखरा सेरोफेरो, उस्तै लोभलाग्दो देखिन्थ्यो । कति क्यामरामा त कति हृदयको अन्तरकुनामा कैद ग¥यौं हामीले ।
जति पञ्चासेले मार्केट लिनु पर्ने थियो, त्यति प्रसिद्ध भएन पैदलयात्राका लागि यो क्षेत्र । प्रचारप्रसारको कमी भनौं वा त्यहाँका सुविधाहरुको स्तरोन्नतिको कमी । अहिले त आध्यात्मिक, ध्यान, योग अनि मेडिटेशनका लागि हब बन्दै छ पञ्चासे । हरेक कोणबाट सुशोभित यस क्षेत्रलाई ब्रान्डिङ गराउन सक्नुपर्छ, मनमा यस्तै कुराहरु खेलिरहे ।
दिनभर खालि खुट्टै कुदेको ज्यानले खुला चौर भेट्यो कि आनन्दको सास फेरेको थियो । मनमा एक प्रकारको सन्तुष्टि मेटियो । गन्तव्य पुग्नु मात्र यात्रा हैन, यात्रा अवधिभर हरेक चुस्कीसँगै रम्न र खुसी हुन जान्नु पर्छ, सिक्नु पर्छ । समग्रमा यसपालको पञ्चासे यात्रा पृथक अनि विशेष रह्यो । फेरि पनि उक्लनु छ, पञ्चासे । पञ्चासेले हरेकपल्ट फरक स्वाद दिलाउँछ ।
जय पर्यटन । जय पञ्चासे ।





