कृषि शिक्षाले देशको कृषि क्रान्तिमा भोलिको दिनमा ठुलो भुमिका खेल्न सक्ने पढाईको रुपमा लिन सकिन्छ । कृषि पढाई एमबिबिएस पछिको विद्यार्थीको लागि दोस्रो अवसरको रुपमा लिँदै गरेको पाइन्छ । एमबिबिएसको कयौं प्रयास असफल भएपछि पनि विद्यार्थीहरु दोस्रो बिकल्प खोज्दै कृषितिर आउने प्रचलन चलिरहेको छ ।
वार्षिक २ हजारदेखि २५ सयसम्म विद्यार्थीहरुले कृषिविज्ञ बन्ने सपना बोकेर कृषि पढाईतिर अघि बढीरहेका छन् । एमबिबिएसपछि रोजाईमा रहेको कृषी पढाई र गराइले के देशको कृषि क्षेत्रलाई अघि बढाउन कस्तो भुमिका खेलिरहेको छ, यो सोच्न पर्ने विषय भएको छ ।
चार वर्षे कृषि स्नातक पढाईको लागि विद्यार्थीहरु २ लाखदेखि १० लाख रुपैयाँसम्म तिरेर पढिरहेका छन् । १० हजार विद्यार्थीहरुसंग प्रतिष्पर्धा गरेर पढ्नुपर्ने पढाई जति हामीले सोचिरहेका छौ त्यो भन्दा फरक देख्न र भोग्न सकिन्छ । टेक्नीकल पढाईभन्दा बितिकै छुट्टै तरिकाले नियाल्ने समयमा सिद्वान्तमा आधारित कृषि पढाई गरिरहँदा भोलिको दिनमा दक्ष जनशक्ति उत्पादन गरेर कृषिमा क्रान्ति ल्याउने सक्ने वाताबरण बन्न सक्ने अबस्था छ त ? यो सबै कृषि अध्यनरत बिद्यार्थीहरुको प्रश्न बन्न पुगेको छ ।
त्रिभुवन विद्यालयबाट मान्यता प्राप्त आंगिक क्याम्पसहरुमा पनि प्रयोगात्मक शिक्षाको लागि अनुकुल वाताबरण नमिल्नु कृषि बिद्यार्थी र क्याम्पसहरुको लागि लाजको बिषय बनेको छ भने अन्य निजी क्याम्पसहरुको हालत के होला सम्झेर मात्र आँकलन गर्न सकिन्छ ।
प्रयोगात्मक शिक्षामा आधारित भएर पढ्नुपर्ने कृषि पढाई विद्यार्थीहरुले आफ्नो शिक्षा सक्दासम्म पनि कोदो र तोरी छुट्टाउन नसक्ने पढाई भएर निस्किरहँदा हामी सबैलाई लाज को विषय हुन गएको छ र कृषि पढाईले हाम्रो देशलाई कुन बाटोमा डोराउला त भनेर सोच्नु पर्ने भएको छ । कृषि पढे–लेखेका दक्ष जनशक्ति मानिने यो पढाईलाई सम्झने हो भने कृषि विद्यार्थी आफै नै डिप्रेसनमा जान मात्र बाँकी रहेको बुझ्न सकिन्छ ।
चार कोठामा राखेर कृषि पढाईरहँदा केही सानो खेतमा कृषि गर्ने किसानको जत्तिको प्रयोगात्मक ज्ञान नहुनु लाजको बिषय नै हैन र ? कृषि पढे–लेखेकाले खेती नगर्नु र प्रयोगात्मक शिक्षामा पछि पर्नुका कारण नै हाम्रो देशको कृषि अघि नबढेको हो भन्न सकिन्छ कि !
यो पढाईले कृषि क्षेत्रमा प्रमुख भुमिका खेल्न भएकोले कृषि पढाईलाई आज राम्रो प्रयोगात्मक बनाउनमा सबै निकायले भुमिका खेल्नुपर्ने देखिन्छ हैन भने देशमा कृषिविज्ञ यति उत्पादन भइरहनु र कृषिमा केही उपलब्धि हुन नसक्नु भनेको विद्यार्थीलाई म कृषिविज्ञ भनेर फुर्ती लागाउन र देशमा कृषिविज्ञ उत्पादन भएका छन् भन्नलाई मात्र सिमित हुनेछ । त्यसैलै आउनुहोस् सबै जान आ–आफ्नो ठाँउबाट कृषि क्षेत्रलाई अघि बढाउन लागिपरौं । कृषिले नै अब देश विकासको लागि प्रमुख भुमिका खेल्ने छ ।
(लेखक शर्मा कृषिका विद्यार्थी हुन् ।)





