‘सुनारले कमाउँदै नकमाउने । दमैले सिउँदै नसिउने । सार्कीले जुत्ता लाउनै नदिने । हामीले गरेको कामले तिमीलाई सजिलो हुने, हामीलाई तिम्ले पल्लो छेउ बार्ने ?’ २००३ सालतिर राणाकालीन समयमै उठेको दलित आन्दोलनका नारा हुन्, यी ।
त्यतिबेला सुनारले कमाएको भाँडा र हतियार अरुले प्रयोग गर्दथे । दमैले सिलाएको कपडा नलगाइ कसैको लाज छोपिन्थेन । सार्कीले सिलाएको जुत्ता लगाएर कथित ‘ठूला–बडा’ले भुइँमा टेक्थे । अहिले पनि दूरदराजका ग्रामिण बस्तीमा दैनिक प्रयोगका हतियार बनाउन सुनारले आरन चलाएका छन् । दमैले कपडा त सार्कीले जुत्ता सिइरहेका छन् । यी तीनै चिज कथित उपल्लो जातलाई दिन बन्द गराइदिएर उठेको दलित आन्दोलनले अझै त्यही प्रश्न सोधिरहेका छन्, ‘हामीले गरेको कामले तिमीलाई सजिलो हुने, हामीलाई तिम्ले पल्लो छेउ बार्ने ?’
बाग्लुङ नगरपालिका ७ गैरागाउँ (ठाडास्वाँरा)का भगत सर्वजित विश्वकर्मा सानै उमेरमा कामको खोजीमा भारत गए । १९५० चैत ११ गते जन्मिएका उनी साथीहरुसँग भारतको बनारश पुगेका उनलाई पढ्न मन लाग्यो । नेपालमा नेपालमा राणाका सन्तान र उच्च पदस्थका छोराछोरी मात्रै नेपालमा पढ्न पाउने भएकाले धेरै धेरै नेपाली पढ्न बनारश पुग्थे । राणाकालीन
बनारश पढ्न जानेहरु पनि अधिकांश ब्राह्मण परिवारका हुन्थे । दलितले पढ्ने भन्ने त त्यतिबेलाका समाजले कल्पनासमेत गरेका थिएन । राज्यले दलितलाई पढ्न दिने कुरै थिएन । जब भगत वनारशमा पढ्न थाले । वनारशमा हिन्दु धर्मका ग्रन्थहरु कण्ठस्थ पारेका भगत नेपाल फर्कन चाहे । नेपाल गएर केही गर्नुपर्छ भनेर उनले बनारशमै कटिबद्ध थिए । नभन्दै उनी नेपाल फर्किए । बागलुङ स्थित मुलपानी फर्केर उनले गाउँका पण्डितहरुसँग मुकाबिला गर्न चाहे ।
नेपाल फर्केर उनले नै गाउँका सारा विश्वकर्मालाई प्रशिक्षित पारे । छुवाछुत हिन्दु धर्मका कुनैपनि ग्रन्थमा नभएको सुनाए । गाउँलेहरु उनको तर्कमा सहमत भएर नै उल्लेखित अजेण्डा अघि सारेर आन्दोलनको शंखघोष गरे । जुन आन्दोलन गाउँका कथित उच्च जातीय अहंकार बोकेका व्यक्तिलाई सह्य भएन ।
भगवत सर्वजितसँगै आन्दोलनमा होमिएका रामशरण विश्वकर्मा अहिले ९८ वर्षका भए । उनका अनुसार त्यतिबेला भगतलाई उपल्लो जातका व्यक्तिले कुटपीट गर्नेदेखि प्रशासन लगाएर जेल हाल्ने घटना कयौं पटक भए । तर भगत सर्वजितले हार मानेनन्, समानताका आवाज जिवन पर्यन्त उठाइरहे ।
रामशरणका अनुसार भगत सर्वजितको छोरा जन्मिएपछि आफैं पण्डित बने । छोराको न्वारन गर्न लागे । आँगनमा जग्गे बनाइयो । वैदिक न्वारन गरेर भगतले शंख बजाए । दलितको घरमा शंखको धुन सुन्दा गैरदलितलाई सैह्य भएन । उनीहरु उर्लिएर भगत सर्वजितको घर पुगे । छोराको न्वारन गर्न बनाइएका जग्गे भत्काइयो । ‘दलितले शंख बजाउने ? हाम्रो मानहानी भयो भनेर उनीहरुले सबै भत्काइदिए’ रामशरण सम्झन्छन् ।
यही घटनापश्चात नै विश्वकर्माले आरन भाँच्ने, परियारले कपडा सिलाउने मेसिनको सियो भाँच्ने र सार्कीले जुत्ता सिलाउने सियो भाँच्ने आन्दोलन अघि बढेको रामशरणले बताए । त्यतिबेला गैरदलितले प्रहरी र राणाकालिन प्रशासनिक अड्डा लगाएर भगत सर्वजितलाई दण्ड दिएका थिए ।
घरमै शंख पुगेर भगत सर्वजितले उद्घोष गरेको आन्दोलनको छिटा छिमेकी जिल्लामा पुग्यो । ४ हजार पर्वत बागलुङ, म्याग्दी, पर्वतमा पनि आन्दोलनमा साथ दिन दलित जागरुक बने । बागलुङकै भालुमारे भन्ने ठाउँमा एउटा ठूलो चौर छ, जहाँ पहिलो पटक छिमेकी जिल्ला सहितका दलित अगुवा भेला भए । ४ थुमका मान्छेले आन्दोलन अघि बढाए ।
अरु मानिस जस्तै समान रुपमा बाच्न पाउनुपर्ने माग बोकेर भगत सर्वजितले त्यो भेला मार्फत १९९७ सालमा विश्व सर्वजन संघ नामक संगठन खोले । जुन संगठनको मुख्य उद्देश्य नै छुवाछुत र विभेदका विरुद्ध आन्दोलन गर्नु थियो । राणाकालीन दबदबामा पनि संगठनले आन्दोलन अघि बढाई छाड्यो ।
दलितले समानताको माग गर्नु त्यतिबेलाका सरकारलाई शोभनीय थिएन । आन्दोलन उठाएको आरोपमा भगत सर्वजित पक्राउ परे । बागलुङबाट भगतलाई थुन्न रातारात हिाँडाएर पाल्पा गौंडा पठाइयो । प्रहरीले मुखमा बुट बजाथ्र्यो । तैपनी भगत सर्वजितले आत्मसमर्पण गरेनन् । उल्टै शासकलाई प्रश्न गरिरहे ।
प्रहरीले पाल्पा पु¥याएपछि भगत सर्वजितलाई सोधियो, तँ को होस् ? उनले जवाफ दिए, म भगत सर्वजति विश्वकर्मा । त्यसपछि प्रहरीले तँ कामी होस् भनेर मुखमा बुटले हिर्काए । भगतको मुखबाट रगत बग्न थाल्यो । हात बाँधेका थिए । खुट्टामा ठेड्का लगाइदिएका थिए ।
प्रहरीको बुटले भगतको दाँत झ¥यो । तैपनि भगत डगमगाएनन् । यातनाबाट विचलित भएनन् । प्रहरीले उनको मुखभरि थुकिदिएको रामशरण सम्झन्छन् । ‘कामी’ भनेर कुन गीतामा, कुन बेदमा, कुन उपनिषदमा लेखिएको छ ? उनले प्रहरी अधिकारी र राणा शासकका स्थानीय प्रतिनिधिलाई घायल अवस्थामै चुनौती दिए– ‘छुवाछुत कहाँ छ ? सानो जात र ठुलो जात हिन्दु धर्मको कुन ग्रन्थमा छ ? नेपालका पण्डितसँग शास्त्रार्थ गर्न सकिन भने यहीं आत्महत्या गर्छु ।’
प्रहरी अधिकारी र राणाका स्थानीय प्रतिनिधिले पाल्पाबाटै राणा शासकलाई खबर पु¥याएर भने, ‘ल हजु सकिएन । शास्त्रार्थ गर्नुपर्ने भयो ।’ तत्कालीन श्री ३ सरकारले भगत सर्वजितसँग शास्त्रार्थ गर्न काठमाडौंबाट पण्डित पठाए । पाल्पामा राणाका पण्डित र खुटमा ठेड्का, हातमा हतकडी र मुखबाट रगत बगाउँदै भगत शास्त्रार्थका लागि तयार भए । भागतले भने, ‘मलाई कामी भन्न पाइँदैन । म ‘बे्रन्ची’ उपाध्याय हुँ । तिमीहरु जस्तै म पनि ब्राह्मण हुँ । हामीले ३ सुत्रीय जनै लगाउन पाउनुपर्छ । विश्वकर्मा भनेको विश्वको पूजा गर्ने मान्छे हो । तल्लो जात भनेर कुन पुराणमा लेखेको छ, देखाउनुपर्छ ।’
भगत सर्वजितको प्रश्नका अगाडि राणाका पण्डित टिक्न सकेनन् । हार खाएर भगतलाई हिरासतमुक्त गरिदिए । भगतले राणा सरकारसँग पनि ३ सुत्रीय जनै लगाउन पाउनुपर्ने माग राखे । त्यतिबेला राणाका पण्डितले यो त पढेलेखेको विद्वान रहेछ भनेको रामशरण सम्झन्छन् । पाल्पाबाट छुटकारा पाउने भएपछि भगतलाई बागलुङ जाने कि भारत ? भनेर सोधियो । उनले भारत भने । जेलबाट छुटेर भगत सर्वजित फेरि बनारश लागे ।
बागलुङबाट पक्राउ परेर त्यतिबेला भगत सर्वजति १७ महिना जेल बसेको रामशरणले बताए । आन्दोलनमा लागेका उनीहरुलाई समेत प्रहरीले पक्राउ गर्न खोजेका थिए । मन्दिर बनाएको, जनै मन्तरेर लगाएको उनीहरुलाई आरोप थियो । त्यतिबेला गैरदलित र सरकारी अधिकारीले तिमीहरुले शंख बजायौ भने बौलाउँछौ भन्ने गरेको रामशरण सम्झन्छन् ।
राणा शासकका पण्डितसँग शास्त्रार्थ गरेर छुटकारा पाएका भगत सर्वजित फेरि अध्ययनलाई निरन्तरता दिए । भगत सर्वजितले बनारशबाट त्यतिबेलै आचार्य गरे । भारतबाटै गाउँमा पर्चा बनाएर पठाए । गाउँमा दलित आन्दोलन उठेकै थियो । वनारशबाटै नेतृत्व दिएका भगत फेरि गाउँ फर्किए ।
भगतलाई गाउँ फर्कन नदिन स्थानीय गैरदलितले अनेक मुद्धा हालेका थिए । गाउँमा कुटपिट गर्ने र यातना दिने घटना त दिनहुँ भइरन्थ्यो । भारतबाट आचार्य गरेर नेपाल फर्केपछि भगत काठमाडौं गए । गाउँमा हराइदिएका मुद्धा सर्वोच्च अदालत पुगेर जिते । श्री ३ को सरकारलाई ३ सूत्रीय जनै लगाउन पाउनुपर्छ भनेर माग राखे । सरकारले लालमोहर लगाएर उनको माग पूरा गरिदियो ।
गाउँमा धुँवाखोला पोखरीमा जनै मन्तर्ने गरिन्थ्यो । भगत सर्वजितले मलाई पनि जनै मन्तर्न दिनुपर्छ, मन्तर मलाई थाहा छ भने । स्थानीय पण्डितले मानेनन् । फेरि झगडा हुने नै भयो । पण्डितले नमानेपछि भगत सर्वजितले अहिले विश्वकर्मा मावि भएको ठाउँ भन्दा तलतिर खेतमा पोखरी बनाए । त्यहीं जनै मन्तरे । यसरी बागलुङका दलितले जनै लगाउन थाले । त्यो क्रम अहिले पनि जारी रहेको रामशरणका छोरा मनकाजीले बताए ।
त्यतिबेला दलित जातिका बेहुला–बेहुली डोली चढ्न पाउँथेनन् । सोली बोक्न पाउँथेनन् । भगत सर्वजितको आन्दोलनले नै हामी सबै सरावरी भन्दै पानीको छोइछिटो हाल्न नपाउने व्यवस्था गरे । सोली बोक्न नपाउने डोली चढ्न नपाउने व्यवहार खारेज गरिदिए ।
त्यतिबेला बागलुङका दलितले जंगलमा कोइला बनाउनुपथ्र्यो, कोइला बोकेर गुल्मीको टक्सारमा पु¥याउनुपथ्र्यो । राणा शासकले नै उनीहरुलाई यस्तो उर्दी जारी गरेका थिए । गुल्मीको टक्सारमा भाँडा बनाउन दलितले लगेका कोइला प्रयोग हुन्थे । भगत सर्वजितले नै यसरी निःशुल्क कोइला बनाउने र बोक्न बन्द गरिदिए ।
अहिले दलित समुदायले लेख्ने थर दमैले परियार, कामीले विश्वकर्मा वा सुनार, सार्कीले किसान जस्ता थर लेख्न पनि भगत सर्वजितले माग राखेको र यसका लागि मुद्धा लड्नुपरेको मनकाजीले बताए ।
विश्वकर्मा माविको जन्म
दलितलाई तल्लो जातमा राखेर अमानवीय व्यवहार भइरहेको दृष्टि दिन बालबालिकालाई पढाउनुपर्ने भगतलाई लाग्यो । गाउँभरीका दलित छोराछोरी शिक्षाको उज्यालोबाट बञ्चित हुन नदिन भगतले आन्दोलनकै कार्यक्रमका रुपमा स्कुल खोज्ने निर्णय लिए । दलितले नपढ्दासम्म कुनै पनि किसिमको शास्त्रार्थ गर्न सकिँदैन भनेर उनले गाउँलेलाई बताए । गाउँले मिलेर स्कुल चलाउन थाले ।
स्कुल चलाउन त्यतिबेला भवन थिएन । दलितलाई पढाउने सरकारी नीति पनि थिएन । गाउँ नजिकै हिलियापानीमा एउटा चौतारो थियो । चौतारा नजिकै पोखरी । त्यही चौतारीमा दलित केटाकेटी जम्मा गरेर भगत सर्वजितले पढाउन थाले । स्कुलको नाम राखे, विश्वकर्मा प्राइमरी स्कुल ।
दलितले पढ्न थालेको देखेर गैरदलित इश्र्याले जले । यो खबर भुसको आगो झैं फैलियो, चारैतिर खैलाबैला भयो । गैरदलितले जिल्लाका प्रमुखलाई खबर गरिदिए । त्यतिबेलाका जिल्ला प्रमुख चौतारीमा आए । रामशरणका अनुसार त्यतिबेलाका जिल्ला प्रमुखले उनीहरुलाई सहयोग नै गरे । तत्काल स्कुल खोल्ने स्विकृति मागे । जिल्ला प्रमुखले स्विकृति दिए ।
राणाशासनको आखिरीतिर हो यो । प्रजातन्त्र स्थापनाको पहिलो उपहार गाउँलेले स्कुल पाएका थिए, केटाकेटीले शिक्षाको उज्यालो । तत्कालीन जिल्ला प्रमुखले भगत सर्वजितको टिमलाई स्कुल खोल्न स्विकृति मात्र दिएनन्, स्कुललाई आर्थिक सहायता भनेर ५ सय रुपैयाँ पनि दिए ।
२ कोठे स्कुल भवन बनाउन सारा दलित गाउँले उठेका थिए । चन्दा दिने होस् या दिन नसक्नेलाई पनि श्रमदान गर्न पुगेका थिए । दलितले स्कुल बनाउँदै गरेको गैरदलितलाई फेरी सैह्य भएन । स्थानीय डोलिन्द्र नाम गरेका व्यक्तीले दलित समुदायकै अर्को तप्कालाई उकास्यो ।
‘डोलिन्द्रले ४, ५ जना लिएर आए, हामीले बनाएको चौतारो र पोखरा मास्न पाउन्नौ भनेर स्कुलको गाह्रो भत्काइदिए’, रामशरणले भने, ‘हामीले १ हात मात्र गाह्रो लगाएका थिएम्, सार्की समुदायलाई उचालेर ल्याएर गाह्रो भत्काएका थिए ।’
विश्वकर्मा समुदायले बनाउन लागेको स्कुल भत्काउन गैरदलितले सार्की समुदायलाई प्रयोग गरेका थिए । रामशरणका छोरा मनकाजी विश्वकर्माले भने, ‘इतिहासदेखि नै दलितका आवाज दबाउन गैरदलितले समुदायले इतिहासदेखि नै दलित समुदायलाई नै प्रयोग गर्दै आयो ।’ दलितका विरुद्ध दलितलाई नै उक्साउने गैरदलितको यस्तो टिकडम धेरै समय चलेन । भगत सर्वजितले स्थानीय सार्की समुदायलाई पनि आह्वान गरे– ‘यो स्कुल हाम्रो लागि मात्रै होइन, तिमीहरुका लागि पनि हो । तिमीहरु र हामी सबैको एउटै समस्या हो, छुवाछुत ।’
स्कुल बनाउन अब भने सार्की समुदायले पनि सहयोग गर्न थाले । स्कुल भत्काएका डोलिन्द्रको मुद्धा जिल्ला पुग्यो । उनलाई ५ सय जरिवाना लगाइयो । अब स्कुल खोल्न कसैले रोक्न नसक्ने स्थिति बन्यो । गैरदलितले अर्को खेल खेल्न थाले । स्कुलको नाम परिवर्तन ।
तालिम चलिरहँदा होस् वा बाहिर । उनीहरुलाई स्कुलको नाम फेर्न सरकारी अधिकारी र अरु स्कुलका शिक्षकले सुझाव दिए । रामशरणले भने, ‘तिमेरुको नाम पनि विश्वकर्मा, स्कुलको नाम पनि विश्वकर्मा । यो त भएन । बरु विश्व प्राइमरी स्कुल भन । हामीले मान्दै मानेनम् ।’
यसरी खोलिएको विश्वकर्मा प्राविमा पढाउन शिक्षक पनि दलित समुदायबाटै खोजियो । त्यतिबेला भारतीय सेनामा कार्यरत हिक्मत सिँह अवकाश लिएर घर आएका थिए । रामशरणका ज्वाँइ थिए, हिक्मतसिँह । पञ्जाबमा कार्यरत रहँदा उनी शिख धर्मप्रति आकर्षित भएका थिए । सेनामै रहँदा उनले पञ्जाबबाट मेट्रिक पास गरेका थिए ।
उनै हिक्मत स्कुल स्थापना भएपछि विश्वकर्मा प्राइमरी स्कुलका पहिलो प्रध्यानाध्यापक भए । विश्वकर्मा माविमा दलित मात्रै होइन, गैरदलितका छोराछोरी पनि पढ्न आउन थाले । उनीहरुले सबै विद्यार्थीलाई बिना भेदभाव स्वागत गरे ।
विश्वकर्मा प्राविको २ कोठे भवन । ढुङ्गाले छाएको छाना देखेर गैरदलित इश्र्याले जले । उनीहरुले विश्वकर्मा प्रावि भन्दा २ किलोमिटर पर मुलपानीमा अर्को स्कुल खोले– कालीमाटी प्राइमरी स्कुल । खरको छानो हालेर ब्राह्मण लगायत गैरदलितका छोराछोरी त्यहीं पढ्न थाले ।
यता, विश्वकर्मा प्राविलाई स्थायित्व गर्न रामशरण र हिक्मतसिँह लगायत लागि परे । प्रजातन्त्र स्थापना भइसकेको थियो । सरकारले स्थायी स्विकृति दियो । त्यतिबेलाका सरकारी अधिकारी पनि दलितलाई माया गर्ने भएकोले विश्वकर्मा स्कलले स्विकृति पाउन सजिलो भएको रामशरणका छोरा मनकाजी विश्वकर्मा बताउँछन् । उनै सरकारी अधिकारीले विश्वकर्मा प्रावि लेख्न नछाड्न भन्दै साथ दिएको उनले बताए ।
दलितको विश्वकर्मा प्रावि र अर्को कालिमाटी स्कुल भयो । २००९ सालमा यी दुबै स्कुल गाभ्ने सरकारले निर्णय लियो । हुन पनि २ किलोमिटरको फरकमा छुट्टा–छुट्टै सरकारी स्कुल आवश्यक थिएन, फेरी यहाँनिर दलित समुदाय लड्नुपर्ने भयो ।
दलित र गैरदलितका स्कुल गाभ्ने निर्णय गर्दा स्कुलको नाम के राख्ने विवाद उत्पन्न भयो । गैरदलितले स्कुल खोलेको ठाँ कालीमाटीमा नै स्कुल रहने भयो । नाम भने विश्वकर्मा मावि नै राख्न दलित अगुवाले जोड दिए । अन्ततः स्कुलको नाम विश्वकर्मा प्रावि नै रहन गयो । अहिले कालान्तरमा यो स्कुल विश्वकर्मा मावि बनेको छ । जहाँ कक्षा १२ सम्म पढाइ हुन्छ ।
विश्वकर्मा प्रावि स्थापना २००७ सालमा भएपनि अहिले स्कुलको स्थापना २००९ साल भनिएको छ । दलित र गैरदलितका २ वटा विद्यालय गाभिएको मिति राखेर स्कुलको स्थापना मिति राखिएको छ । जुन अहिले पनि दलित समुदायको चित्त बुझेको छैन । विश्वकर्मा प्रावि स्थापना गर्दा दलित समुदायले गरेको संघर्ष उक्त मिति राख्दा मेटिने स्थानीय अगुवाको चिन्ता छ ।
गाउँमा समानताका आन्दोलन उठाएका भगवत सर्वजित भारतको वनारशमा ६० बर्षको उमेरमा निधन भएको मनकाजीले बताए । भगतका सन्तानका नाममा एक जना छोरा छन् । उनलाई पनि भगतले भारत नै लगे । भगतका छोरासँग गाउँमा कसैको सम्पर्कमा नरहेको मनकाजीले बताए ।
गाउँमा आन्दोलनको आगो बालेर शिक्षाको उज्यालो छरेका भगतका अहिले गाउँमा कोही पनि छैनन्, छन् त केवल उनका अनुयायी मात्र ।
भगत सर्वजितले पहिलो पटक समानताका लागि दलित आन्दोलन उठाएको ७५ वर्ष कट्यो । राणाकालमा उठेको आन्दोलन अहिले लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा पनि मुद्धा परिवर्तन नभएको मनकाजीले बताए ।
भगत सर्वजितको शेषपश्चात उनीहरुले पनि बेलाबेला आन्दोलन उठाउनुपरेको छ । अहिले पनि भित्रभित्रै भाँडा मजाउने, छोइछिटो गर्ने चलन हट्न नसकेको मनकाजीले बताए । उनले भने, ‘दलित आन्दोलनका लागि उहाँले जति योगदान अहिलेसम्म कसैले गरेका छैनन् । भगत सर्वजित विश्वकर्माले राणाकालमा उठाएको छुवाछुत विरुद्धको मुद्धा गणतन्त्रमा पनि सम्बोधन भएन ।’





