युवा जगतमा एकातिर आफ्ना भाईबहिनी तथा बालबालिकाको पालनपोषण, शिक्षादिक्षा, स्वास्थोपचारका साथै अग्रज वृद्ववृद्वा बाबुआमाको स्याहार–सुसार, खानपान, औषधोपचार लगायतका अत्यावश्यक मानविय कार्यका साथै आफ्नो सुन्दर भविष्यका सपना साकार पार्न आयआर्जन, बचत तथा लगानी व्यवस्थापन गर्दै जानुपर्ने अवस्था छ भने अर्कोतिर समय अनुकुल प्रविधिको उपयोग तथा सुविधाको वृद्वि गर्दै आफुलाई समाजमा अब्बल रुपमा प्रस्तुत गर्नुपर्ने चुनौती । यस्तैमा आज १५ जुलाई २०२१ विश्व युवा दक्षता दिवसको सन्दर्भमा चर्चा गरौं ।
‘हुने बिरुवाको चिल्ला पात’ भन्ने उखान तिक्ष्ण वुद्वि भएका, सम्पन्न वर्ग तथा आफन्तको सहयोग पाईरहने केही भाग्यमानीहरुका लागि बाहेक गरिब, अशिक्षित, उत्पीडित, असहाय र कमजोर शारीरिक तथा मानसिक स्थिति भएकालाई कहिल्यै मेल खांदैन, जो कठोर मौसम र प्रतिकुल वातावरणका कारण पात, मुन्टा, हाँगाबिंगा मात्र होईन बेला बेला जरैसित उखेलेर फालिने बिरुवा जस्तो नियती भोगिरहेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोग नियोग, आईएनजिओ र राष्ट्रिय आयोजनाहरु, एनजिओ र समाजसेवाका क्षेत्रमा प्रतिष्ठित डलर तथा नेपाली रुपैयाँ खेती गरिरहेका आयोजनाका कार्यक्षेत्र र जिम्मेवारीमा पनि अटाउन नसकेर आफु, आफ्नो परिवार, समाज र राष्ट्रलाई सक्रिय योगदान गर्न सक्ने उमेरका युवाहरुमध्ये कोही नशालु पदार्थ तथा लागुऔषध जस्तो घातक दुव्र्यसनको लतमा फसिरहेका छन् त कोही बिभिन्न अबैध तस्करको मतियार र भरिया बन्दै जेलमा सजाय भोगिरहेका छन् ।
वेरोजगारी तथा न्युन पारिश्रमिक सुविधा युवा दक्षता अभिवृद्विमा नकारात्मक प्रभाव पार्ने यथार्थता हो । हामीकहाँ उच्च शिक्षा आर्जन गरेकाहरु पनि बेरोजगार भेरहेकाहरुको आत्मबृतान्त केलाउनै सकिदैन भने देख्ने मध्येका अधिकांशले पढेर के काम भन्ने गरेको पाइन्छ । यदी काम पाईहाले पनि केही हजार मासिक पारिश्रमिकमा घोटाएर आफ्नो शैक्षिक संस्था, स्वास्थ्य संस्था, निर्माण, परिवहन र व्यापारलगायतमा लगानीकर्ताहरु धनी बन्दै जाँदा श्रमिकहरु न्यनतम ज्यालादर प्राप्तीका लागि आन्दोलन नै गरिरहनुपरेको छ । अर्कोतर्फ, सामान्य योग्यता, सिप र विशेष योग्यता वा दक्षता भएका निश्चित उमेर समुहका युवाहरु छनौट गरेर काममा लगाई प्रगति गर्ने विदेशीहरुले व्यक्तिगत प्रगतीदेखि कम्पनी र राष्ट्रलाई नै विकसित गराईसकेका छन् । आफ्नो देशमा सेवा गरेर जुन स्वाभिमान र प्रतिष्ठा आर्जन भैरहेको छ र वैदेशिक रोजगारीबाट जुन पारिश्रमिक र रेमिट्यान्स प्राप्त भैरहेको छ यसका लागि सबैको सम्मान गर्नुपर्छ । तर, केही क्षेत्रलाई छाडेर देशको समग्र अवस्थाको कारण यहाँ उच्च शिक्षा तथा दक्षता हासिल गरेकाहरु रोजगारहरुसंग वैदेशिक रोजगारीमा कार्यरत सामान्य व्यक्तिको पारिश्रमिक र आम्दानीको तुलना गर्दा जुन आसमान धर्तिको फरक पाईन्छ भने अधिकांशलाई आफ्नो योग्यता तथा दक्षता बिकास गर्नमा नैराश्यता उत्पन्न भएको सुनिन्छ ।
कोभिड–१९ को कारण अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदन अनुसार, सन् २०२० मा कोभिड–१९ का कारण विश्वको ८.७ प्रतिशत युवा संलग्न रोजगारी घटेको छ । रुपमा उत्पादन, निर्माण, यातायात, व्यापार, सेवा तथा शिक्षको क्षेत्रमा पर्न गएको प्रभावले एकातिर लगानीकर्ता समस्यामा पर्दै गैरहेका छन्भने अर्कातर्फ वेरोजगारीको वृद्वि भैरहेको छ । सामान्य अवस्थामा दक्ष÷अदक्ष जुनसुकै स्तरका श्रमिकलाई पनि काममा लगाउन सक्ने लगानीकर्ताहरु हाल दक्ष तथा प्राबिधिक क्षमता भएका कामदारलाई मात्र काममा लगाएर बाँकी सामान्य÷अदक्ष कामदारलाई हटाउन बाध्य छन् । हामीकहाँ विदेशको सपना देखेर लाहुरे बन्ने सपना साँचिरहेका युवाहरुमा सामान्य योग्यताबाहेक आफ्नै घरमा झाडु लगाउन पनि नजान्ने अवस्थामा हुँदा कहींकतै रोजगारी पाउन सक्ने अवस्था पनि रहेन । सीपयुक्त वेरोजगार युवा होईनन् कि सिपयुक्त युवाको अभावको अवस्था हो यो । युवाहरु आफैले पनि चासो दिएर आवश्यक शिक्षा आर्जन तथा सिपमुलक कुनै पेशा व्यवसायमा आफुलाई दक्ष बनाउँदै लग्न आवश्यक छ । पुर्खाको सम्पत्ति लगानी वा आफन्तको सहयोगमा निर्भर भैरहनु नपरोस् । नेपाल सरकारले आफ्नो सर्टिफिकेट धितोमा राखेर ऋण उपलव्ध गराउने कार्यक्रम नै घोषणा गरिरहेको छ । योग्य तथा दक्ष कर्मचारी एवं कामदार, व्यवस्थापक, प्राबिधिकलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा निश्चित सुबिधासहितको माग भैरहने हुँदा आफुलाई योग्य तथा दक्ष रुपमा प्रस्तुत गर्ने कोशिश गर्नेहरुका पंक्तिमा आफुलाई अब्बल प्रतिष्पर्धिको रुपमा प्रस्तुत गर्नु युवाहरुको दायित्व हो ।
तसर्थ, हामी जो जहाँ र जुन अवस्थामा रहे पनि शैक्षिक योग्यता हासिल गर्नुका साथै क्षमता अनुसारको सीप÷दक्षता अभिवृद्वि गर्नु गराउनु र आगामी दिनहरुमा कुनै पनि युवा निश्चित योग्यता र दक्षता अभावको कारण वेरोजगार हुन नपरोस् भन्ने स्पष्ट उद्देश्यसहित सरकारी तथा गैरसरकारी नीति तथा कार्यक्रम उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै जान सरोकारवाला निकायलाई अनुरोध छ । सरकारी स्तरमा लागु गरिने युवा दक्षता अभिवृद्वि कार्यक्रमलाई कुनै अमुक राजनितिक पार्टी विशेषको कार्यक्रमको रुपमा घोषणा नगरियोस् जसले सम्पुर्ण युवाहरुलाई पनि समेटेर राष्ट्र निर्माणमा योगदान गर्न सक्षम बनाउन सकियोस् न कि फरक राजनीतिक दलीय प्रभावका कारण युवाहरुको असहयोग र असहभागिताले युवा दक्षता कार्यक्रम असफल मात्र होईन आफ्ना कार्यकर्ता केन्द्रित वितरणमुखी बजेट खर्च भैरहोस् । अन्तर्राष्ट्रिय श्रम संगठनले २१ औं शताव्दीलाई ‘जिवन र कामका लागि दक्षता’का अतिरिक्त सबैका लागि व्यक्तिगत तथा पेशागत विकास प्रवर्धन’ कार्यक्रम नै घोषणा गरिसकेको छ । विश्व युवा दक्षता दिवस सफलताको शुभकामना ।





