बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘मैरिंमो’ टिभीमै हेर्न पाइने

‘मैरिंमो’ टिभीमै हेर्न पाइने


  • ढोरपाटन सम्वाददाता
  • साउन १ २०७८, शुक्रबार

पोखरा, १ साउन– पहिलो पटक गुरुङ भाषाको फिल्म टिभी च्यानलबाट प्रदर्शन हुने भएको छ । गुरुङ भाषाको फिल्म ‘मैंरिमो’ साउन १ गतेदेखि डिजिटल टिभीको च्यानलबाट प्रदर्शनमा आउन लागेको हो ।
कोरोना लकडाउनले चलचित्र क्षेत्रलाई प्रभावित बनाइरहेको र हलहरुसमेत नखुलेको अवस्थामा आफूहरुले ‘डिजिटल प्लेटफर्म’ प्रयोग गर्दै फिल्म प्रदर्शन गर्न लागेको फिल्मका निर्देशक भोजबहादुर गुरुङले जानकारी दिए । ‘महामारीमा दर्शकसँगको साथ नछुटाउन पनि यो माध्यम उपयुक्त हो,’ उनले भने, ‘यसबाट गुरुङ चलचित्र क्षेत्रमा नयाँ फड्को मार्ने कोशिस गरेका छौं ।’
म्याक्स डिजिटल टिभीको सिनेमा हल च्यानलबाट दिनको ४ पटक फिल्म प्रदर्शन निर्देशक गुरुङले जानकारी दिए । साउनको पहिलो दिनदेखि दिउँसो १२ बजे, ३ बजे, ६ बजे र साँझ ९ बजे प्रदर्शन हुने उनले बताए । ‘यो पहिलो प्रयोग भएकाले फलामको च्युरा चपाएजस्तै गाह्रो कुरा हो । तर, सकभर सबैसँग जोडिने प्रयास गर्दैछौं,’ उनले भने ।
निर्देशक भोजबहादु।र गुरुङद्वारा निर्देशित उक्त फिल्मका निर्माता प्रेम गुरुङ र सपना गुरुङ हुन् । केयरसिंहले लेखेको कथामा रोशन गुरुङले पटकथाकारको जिम्मेवारी वहन गरेका छन् । फिल्मका गीत तेजेन्द्र गुरुङले संगीत दिएका हुन् भने छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गरेका हुन् । बालकाशी गुरुङ निर्माण नियन्त्रकका रुपमा काम गरेको उक्त फिल्ममा गमन घले, सपना गुरुङ, प्रेम गुरुङ र गनेन्द्र गुरुङले मुख्य भूमिका निभाएका छन् ।
सिनेमा हलमा उक्त फिल्म कम्तिमा एक हप्ता प्रदर्शन गरिने र त्यसपछि दर्शकको प्रतिक्रियाअनुसार निर्णय लिइने उनले जानकारी दिए । फिल्म हेर्न ई–सेवा माध्यमबाट ३ सय २५ रुपैयाँ तिनुपर्ने हुन्छ । मैरिंमोपछि गोरे गुरुङको हेर्बै च्ह र मनोज गुरुङको गेटपास प्रदर्शन गर्ने तयारी रहेको म्याक्स टिभीले जनाएको छ ।
‘कोभिडले धेरै नेपाली सिनेकर्मीहरु पलायन भइसके । फिल्महलहरुसमेत खर्च धान्नै नसकेर धमाधम बन्द हुँदैछन्,’ म्याक्स टिभीका मनोज गुरुङले भने, ‘गुरुङ फिल्मकर्मी पलायन नहुन् भनेर सानो प्रयास गरेका हौं । यो एउटा सुरुआत हो ।’ उनले चाँडै नै मोबाइलबाट पनि गुरुङ फिल्म प्रदर्शन गर्ने गरी तयारी गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->