बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

३० वर्षपछि ३ सय मिटरमात्रै कालोपत्रे !

३० वर्षपछि ३ सय मिटरमात्रै कालोपत्रे !


  • ढोरपाटन सम्वाददाता
  • साउन २ २०७८, शनिबार
शुक्लागण्डकी नगरपालिका–७ टुडाँमा कालोपत्रे गरिएको सहिद गीता मोटर मार्ग ।

तनहुँ, १ साउन– ट्रयाक खोलेको ३ दशकपछि सहिद गीता मोटर मार्ग कालोपत्रे गरिएको छ । शुक्लागण्डकी नगरपालिका–७ टुँडा खण्ड कालोपत्रे गरिएको हो, त्यो पनि ३ सय मिटर मात्र ।
स्थानीय हर्कबहादुर गुरुङका अनुसार ०४९ जेठ २ मा सडकको ट्रयाक खोलिएको थियो । ‘त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग ग¥यौं । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई २ दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्रयाक खोलिएको थियो’, उनी सम्झन्छन् ।
तत्कालीन समयमा भिमाद हुँदै तनहुँका दक्षिण क्षेत्र जाने मुख्य सडक नै यही थियो । अहिलेको तिमल्सिना चोकबाट टुँडा हुँदै शान्तिनगर ‐स्याउली बजार) झरेर भिमाद जाने सडक ट्रयाक खोलिएको थियो ।
केही वर्ष यही सडक चल्यो । पछि फराकिलो बनाउँदा यहाँका थुप्रै घर भत्काउनुपर्ने अवस्था आएपछि सडक भिमादचोकबाट भोटेपानी हुदै शान्तिनगर डाइभर्ट गरिएको उनले बताए । ट्रयाक फेरिएपछि स्थानीयको चासो नहुदाँ सडकको मुहार फेरिन निकै लामो समय लागेको गुरुङको भनाइ छ । खुसी हुँदै गुरुङले भने, ‘ढिलै भएपनि सडकको रुप फेरिएको छ ।’
गण्डकी प्रदेश, शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सडक कालोपत्रे गरेको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिए । ४० लाख ६० हजार ३ सय ४७ रुपैयाँ सडक कालोपत्रेका लागी लगानी भएको उनले बताए । शुक्लागण्डकी नगरपालिकाले १७ लाख ५० हजार रुपैयाँ र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पूर्वाधार विकास कार्यक्रम मार्फत ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएकी थिइन् । स्थानीय उपभोक्ताले १८ लाख १० हजार ३ सय ४७ रुपैयाँ लागत साझेदारी व्यहोरेका छन् ।
वडाध्यक्ष क्षेत्रीका अनुसार ३ सय मिटर सडक कालेपत्रेसँगै ६ सय मिटर पक्की नाला बनाइएको छ । वडाले उपभोक्तासंँगको साझेदारीमा सडक कालोपत्रेलाई प्राथमिकता दिएको उनले बताए ।
गत वर्षसम्म यो सडकको अवस्था बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो । ट्रयाक खोलेको २९ वर्षमा घर दैलोको सडक चिल्लो भएपछि स्थानीयले राहातको महसुस गरेका छन् । तर, टुँडाको प्रवेशद्वार खैरेनीटार साना सहरी खानेपानी आयोजनाको ट्यांकीबाट झण्डै ५ सय मिटर सडकको अवस्था कन्तविजोेग देखिन्छ । यो खण्ड पनि छिट्टै कालोपत्रे गर्न स्थानीयको माग छ । कालोपत्रे सडकको गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले उद्घाटन गरिन् । उनले विकासका लागी जनता एक हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->