पोखरा, ३ साउन– पोखरा महानगरले ५५ वर्षमाथिका उमेर समूहलाई ‘जनसन एन्ड जनसन’ नामक कोभिडविरुद्धको खोप लगाउने भन्दै सूचना जारी गरियो । सूचनाअनुसार साउन १ र २ गते विभिन्न खोप केन्द्र तोकेर ती उमेर समूहका नागरिकलाई बोलाइयो ।
तर, जब ती लक्षित समूहका व्यक्ति खोप केन्द्रमा पुगे । त्यहाँ सूचनामा भनिएको जनसन होइन, भेरोसेल खोप नै थियो । कारण थियो, नेपाल सरकारले जनसन भ्याक्सिन ४ गतेदेखिमात्रै लगाउने निर्णय गरेकोमा महानगरले भने १ गतेबाटै लगाउने भन्दै जारी गरेको सूचना ।
पहिले जनसन कास्कीमा आइपुगेको र सोही अनुसार प्रदेश सरकारले १ गतेदेखि नै अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । तर, पछि फेरि केन्द्रमा जनसन खोप सुरु नभई प्रदेशमा नलगाउने अर्को निर्णय भएपछि रोकिएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्य बताउँछन् ।
‘जनसन हामीकहाँ आइसकेको छ । सुरुमा मन्त्रालयबाट खोप सञ्चालन गर्न अनुमति दिइयो । तर, पछि कारणवश नहुने भएपछि रोकिएको हो,’ अधिकृत आचार्यले भने, ‘त्यसपछि भेरोसेल खोप नै चलाएका हौं ।’
एक डोजमात्रै लगाए पुग्ने जनसन भ्याक्सिन अेमरिकी सरकारले उपलब्ध गराएको हो । उक्त खोप सरकारले ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने बताएको थियो । तर, महानगरले भने यसअघि छुट भएका ५५ वर्षमाथिका उमेर समूहलाई तोकेको थियो ।
जनसन सरकारले ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने बताएको थियो । तर, महानगरले भने यसअघि छुट भएका ५५ वर्षमाथिका उमेर समूहलाई तोकेको छ ।
पोखरा १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहले भेरोसेल खोप नै नै लगाएको जानकारी दिए । शनिबार रोकिएको खोप कार्यक्रम आइतबारदेखि फेरि सुरु गरिने बताइएको छ ।
खोप केन्द्रमा भिडैभिड, आफ्ना मान्छे पहिले !
सरकारले ५५ वर्षमाथिका जेष्ठ नागरिकका साथै शिक्षकशिक्षिक, सार्वजनिक गाडीका चालक सहचालक, अत्यावश्यक सेवाका कर्मचारीलगायतलाई कोरोनाविरुद्धको खोप दिने व्यवस्था मिलाएको थियो ।
योजना बमोजिम पोखरा महानगर स्वास्थ्य महाशाखाले विभिन्न केन्द्र तोकेर खोप लगाउने व्यवस्था मिलाएको थियो । तर, खोप केन्द्रको अवस्था भने अस्तव्यस्त बनेको थियो । लक्षित वर्ग नै लामो समय लाइन बसेर पनि खोप नपाउने स्थिति बनेको थियो । जनप्रतिनिधिका आफ्ना मान्छे ‘चिट’ बोकेर पहिल्यै खोप केन्द्र धाइरहेका थिए ।
अनावश्यक भिड र लक्षित वर्गभन्दा बाहिरका लागि खोप दिनुपर्ने बाध्यताले पनि चाँडै खोप सकिएको महानगर स्वास्थ्य महाशाखाका एक स्वास्थ्यकर्मी बताउँछन् । उनले एउटा स्वास्थ्यकर्मीले दिनमा बढीमा १२५ जनालाईमात्रै खोप लगाउने नियम भएपनि ४/५ जनासम्म लगाउनु परेको सुनाए ।
‘हाम्रो काम खोपको स्वास्थ्कर्मी मिलाउने हो । भिड नियन्त्रण गर्ने र आएकासँग बाँझ्दै बस्ने कुरा भएन,’ ती स्वास्थ्यकर्मीले भने, ‘प्रशासनलाई भिड नियन्त्रण गर्न जनशक्ति खटाइदिनु प¥यो भनेर पनि भन्यौं । भएको भए सजिलो हुने थियो ।’
प्रशासनले आवश्यक जनशक्ति खटाउन अरुचि देखाएपछि सम्बन्धित वडाकै स्थानीयलाई खटाउनुपर्ने बाध्यता आएको र उनीहरुबाटै घुसपेठ सुरु भएको महाशाखाको भनाइ छ । कतिपय वडामा ६२ देखि माथिका उमेर समूहका लागि आएको खोपसमेत २०÷२२ उमेर समूहले लगाएको सार्वजनिक नै भइसकेको छ ।
‘खोप लगाउन खटिएका स्वास्थ्यकर्मी एकैछिन फुर्सद पनि नपाउने स्थिति छ । त्यहाँ खटाएका जनशक्तिले आफ्ना मान्छे घुसाउने नै भए,’ अधिकृत आचार्यले भने, ‘कार्ड बनाएको मान्छेलाई स्वास्थ्यकर्मीले रोक्ने कुरा पनि भएन । हाम्रो बलबुँताले नभ्याउने स्थिति आइसकेको छ ।’ खोप केन्द्रमा आवश्यकताभन्दा बढी भिड र मनोमानी हुँदा पनि आफूहरु मुकदर्शक बन्नु परेको आचार्यले बताए ।





