फ्याट्ट योजना बुन्यो, हाइकिङ जाने । डाँडैडाँडा हिँड्ने । रुट थियो– सेदी, सराङकोट, कास्कीकोटहुँदै नौंडाँडा निस्कने । मनसुन हाइकिङमा प्रायः आकाश खुल्दैन, हिमाल खुल्दैनन् तर मन भने खुल्छ । बादल माथिमाथि हिँड्नु, कुद्नु र दौडिनुको मज्जा कहाँ अरु बेला चाख्न पाइन्छ र ? त्यहीँ फेवा, त्यही पोखरा अनि त्यही हिमालहरु कति नियाल्नु ! यसपालि हामीलाई नियाल्नु थियो, बादलै बादलको शहर । अनि हामी निस्कियौं हाइकिङमा । मेरा सहयात्रीहरु थिए, मित्र निर्मला र अमृत दाई ।
फेवा किनार सेदी बजारसम्म ट्याक्सीले ल्याइपु¥यायो । अनि त हाम्रा तीन जोडी खुट्टाहरु सलबलाए, माथि माथि उक्लन । पानी मिठो दर्किरहेको थियो, आकाशबाट । रोकिने त कुनै छाँटकाट कै थिएन । बादलले पोखरा र फेवा ड्याम्मै ढाकेको थियो । छाता र रेनकोटले शरीरको पानी तर्काइरहेको थियो । बाटैमा कतै आराम गरेर खाजा खाने सुरसारका साथ उक्लेका थियौं, हामी । तर, बाटामा कतै ओत लागेर चियासम्म पिउने ठाउँ थिएन । अनि जंगलको बीच बाटैमा सुरु भयो, बिहानको खाजा खाने कार्य । बिस्तारै बरालडाँडा आइपुग्दा आकाश केही खुलेको थियो । अनि सँगै खुलेका थिए, हाम्रा मन पनि ।
छिनछिनमा छ्याङ्ङ देखिने फेवा र पोखरा छिनभरमै बादलभित्र हराइजान्थ्यो । बादल र पोखराको लुकामारी कम्ता रमाइलो देखिएको थियो र ? बर्खा याम । त्यसमाथि फेवा मुहानको ड्याममा क्षति पुगेसँगै फेवाको पानी धमिलो देखिएको थियो । अलिक नसुहाउँदो खालको । करोडौंको योजना एकवर्षको बर्खालाई धान्न नसक्ने, खै बर्खालाई दोष दिने कि बनाउनेलाई ।
त्यहाँबाट सराङकोट एक घण्टाको बाटो । सधैं विदेशीहरुले भरिभराउ हुने सराङकोट यसपटक सुनसान थियो । २ वर्ष भयो पर्यटकहरु नआएका । मात्र कुकुरहरु लगातार भुकिरहेथे बाटैभरी । सबै होटलहरु ताल्चा लागेका थिए । समय र परिस्थितिले मानिसलाई कतिसम्म अफ्ठ्यारोमा पार्न सक्छ, कोभिडले देखायो । सराङकोटमा बन्दै गरेको पाँच तलाको भ्युटावर नियालेँ । गुनासो सबैको उहीँ न हो, सिंगो डाँडा नै भ्युटावर भइरहँदा किन खर्चिनु प¥यो करोडौंको बजेट टावर बनाउन ? आखिर यसैमा त फाइदा मिल्छ, कमिसन खान पाइन्छ । अनि त तम्सिन्छन् भ्यु टावर बनाउन डाँडाडाँडामा । बरु त्यसको सट्टा आकर्षक पार्कहरु, बाटाघाटा र अन्य आकर्षणका प्रोडक्टहरु थप्न खै किन सरोकारवालाहरु हिचकिचाउँछन् । आखिर हामीलाई विकास भन्या, त्यही घरघरमा मोटर बाटो र हरेक डाँडामा टावर न हो ।
सेदीदेखि सराङकोट, कास्कीकोट, भदौरे, पञ्चासेहुँदै स्तूपा भएर छोरेपाटन निस्कने नामी पदमात्राको अंश थियो, यो । लाग्छ, यो पदमार्ग पोखरा चियाउने आँखीझ्याल बन्न सक्छ तर जति विकास हुनु पर्ने थियो, त्यतिचाँहि पक्कै भएको छैन । पदमार्गको स्तरोन्नति, प्रचारप्रसारलगायत अन्य विविध पाटाहरुलाई अझै अपुग नै लाग्छ, हिँडिरहँदा लाग्छ ।
सराङकोट देखिको अर्को स्टेशन पोइन्ट हो, कास्कीकोट दरबार । पैदल यात्रा समय करिब दुई घण्टा । डाँडैडाँडा ढुंगाले छापेर पदमार्ग बनाउनुको सट्टा मोटर कुद्न मिल्ने रोड बनाइदिएको छ । यस पछाडिको रणनीति हो, डाँडाडाँडा सडक पु¥याउने, अनि डाँडाहरुमा रिसोर्ट र होटलहरु बनाउने । पूर्वाधारहरु बनाउनु ठीक हो तर पदमार्गहरु नै माँसेर सडक बनाउनु त्यति उचित कदम पक्कै हैन । यसमा ठूल्ठूला व्यापारीहरु, साहुहरुको पनि साठगाँठ छ, भन्नेमा कुनै दुई मत छैन । विकास गर तर विकासका नाममा पदमार्गहरुको विनाश नगर ।
२ वर्षअघि मात्र न हो, पोखराका मेयरले यही ठाउँमा कास्कीकोटसम्मको करिब ५ किमीको साइकल ट्रेल उद्घाटन गरेको । ५ मिटर चौडाइको मोटरेबल बाटो कसरी साइकल टे«ल बन्न सक्छ ? खै बुझेका सरोकारवालाहरुले । डाँडाकाडाको मूल्य बढाएर रिसोर्ट बनाउन पल्केकाहरुलाई यो राम्रो अवसर सावित बनेको पक्कै हो । सडकै सडक पदमात्रा गर्न कसलाई रहर होला र ? यो यहाँको मात्र बिडम्बना भने हैन, विश्वकै नामी पर्दमार्गहरु, जुन नेपालमा पर्छन्, जस्तै राउन्ड अन्नपूर्ण, मनास्लु, से फोक्सुन्डो पदमार्गहरु सडक बिस्तारको चपेटामा परेका छन् । यसले नेपालको पर्यटन धरासायी बन्ने नै छ, साथै कोभिडले थला परेको नेपालको पर्यटन उकास्न थप चुनौति थपिनेछ ।
मनसुन यामको यात्रा । जुकाको बिगबिगी नै अर्को विशेषता हो । हामीलाई डाँडा उक्लन जति हतारो थियो,त्यो भन्दा हतारो थियो जुकालाई, हामीमाथि उक्लन । फालेर नसकिने जुकाहरु । हुन त विदेशतिर विभिन्न रोगहरु उपचारका लागि जुका थेरापी गर्ने चलन नै रहेको छ । हामी भने सित्तैमा यसको उपयोग गर्दै थियौं ।
कास्कीकोट दरबार उक्लन मज्जाले पसिना चुहाउनु पर्ने । आकाश खुल्दो हो त, तलको कास्कीकोट, त्यहीँ रहेको कश्यप ताल अनि फेवातालसँगैको पोखरा देख्न सकिन्थ्यो । जताततै बादलकै साम्राज्य खडा भएको थियो । कास्कीकोट दरबार केवल दरबार मात्र हैन, नेपालको शाह वंशको उद्गम स्थल पनि हो । नेपालको लामो इतिहास बोकेको छ, यसले । कश्यप ऋषिले तपस्या गरेको ठाउँ नजिकै छ, अनि अलि तल छ, कश्यप ताल । भनिन्छ, उनै ऋषिको नामबाट कास्कीको नामकरण गरिएको थियो ।
कास्कीका पहिलो शाह राजा थिए, कुलमण्डन खाण्ड शाह । पछि उनै राजाका कैयौं पुस्तापछिका सन्तान थिए– पृथ्वीनारायण शाह । उनैले नेपालको एकीकरण गरे, अहिलेको नेपाल बनाए । त्यसैले पनि कास्कीकोट दरबारलाई शाह वंशले लामो समयसम्म सम्झिरहन्थे । दसैंमा कोत पूजा हुँदासमेत पछिल्लो केही वर्षअघिसम्म पूर्व राजपरिवारका सदस्यहरु यहाँ आउँथे भन्ने सुनिन्छ ।
कास्कीकोट दरबारलाई बहत्तर सालको भूकम्पले केही क्षति पु¥याएको थियो । त्यसैले २ वर्ष यसको पुनः निमार्ण कार्य सुरु गरेको थियो । अहिले पुरानै शैली र कलालाई जीवन्त राख्ने हिसाबले नयाँ दरबार निमार्ण गरिएको छ । यतिमात्र हैन, यहाँबाट देखिने मनोरम दृश्य नियाल्दा को मन्त्रमुग्ध हुँदैनन् र ?
कोभिडको समय, हामी चाहन्छौं स्थानीयसँग धेरै घुलमिल नहोऔं । त्यसैले खाजा, नास्ता, चियापानी हामी सबै बोकेर गएका थियौं । सबै पकाएका परिकारहरु, नो जंक फुड । हामी चाहन्छौं कम फोहोर निस्कियोस् यात्रामा । कटुसको टपरी, कागजकै कप आदि साथमा लगेका थियौं,हामीले । ठाउँठाउँमा पानीका बोतल, चाउचाउ र बिस्कुटका खोलहरु देख्दा हामी नेपालीहरु कति असभ्य छौं, प्रष्ट बुझिन्थ्यो ।
हरेक याम कास्कीकोट पुग्दा फरक स्वाद मिल्दछ । आकाश खुल्दा, बाघकै आकारमा माछापुच्छ«े देखिन्छ । चारैतिरका गाउँठाउँ मज्जाले कैद गर्न सकिन्छ मनमा अनि क्यामरामा । कास्कीकोटबाट निगालोको घारी हुँदै देउराली पुग्दा आनन्द नै बेग्लै । तपतप पानी बर्सिरहेको, चराहरुको चिरबिर आवाज अनि चिप्लो बाटो, यात्राका हरेक पलहरुको मज्जा लिइरहेका थियौं हामी । कति ठाउँमा लड्यौं त कति ठाउँमा चिप्लियौं पनि । मनसुनको विशेषता यहीँ न हो ।
देउरालीबाट नौडाँडासम्मको पदमार्ग भने ए लेबलको बन्दै छ । अपांगमैत्री, पुरै ढुंगाले छापेका बाटाहरु । ठाउँठाउँमा बिसौनीहरु बन्दै छन् । यसैमा साइकल ट्रयाक थप्ने पनि कुरा भइरहेको थियो । यसरी फरक आयामहरु जोड्दै जानुपर्दछ । हिमाल, ताल अनि पोखरा यहीँ रुट हुँदै ह्वीलचियरमै बसेर रमाउन पाउने अधिकार उनीहरुसँग पनि छ । सम्भव भएसम्म सबै गन्तव्यहरुमा यस्तै अवधारणाको प्रयोग गरिनुपर्नेछ ।
बिहान ८ बजे हिँडेको पैतालाले ६ बजे नौडाँडा पु¥यायो । गलेका खुट्टाहरु बसमा चडेसँगै आराम पाए । यो एक सम्झनालायक हाइक बन्यो । पोखरामा हरेक वर्ष आउने पर्यटकहरुको बसाई घट्दै गइरहेको छ । लाग्छ, यस्तै हाइकिङ गन्तव्यहरुको खोज, प्रचारप्रसार र प्रवद्धन गरिनुपर्नेछ । घुम्नु केवल डुल्नु र बरालिनु मात्र हैन, सिक्नु, बुझ्नु र जान्नु पनि हो । त्यसैले फुर्सदमा डाँडाकाडा उक्लनु राम्रो । झन् मनसुनको स्वाद नै बेग्लै ।
मनसुनमा हाइक गर्दा चाहिँ धेरै कुरामा ध्यान दिनु आवश्यक पर्दछ । छाता वा रेनकोट साथैमा बोक्नुपर्छ । पिउने शुद्ध पानी साथैमा बोकेको राम्रो । यात्रामा सानो मेडिकल किट बोक्नु बुद्धिमानी हो । कोभिड अझै सामान्य बनिसकेको छैन । सबै ठाउँका होटल, रेष्टुराहरु पूनः सञ्चालनमा नआएका हुन सक्छन् । साथैमा खाजा, चिया अनि नास्ता बोकेको राम्रो । वर्खाको झरीमा रुझ्दै प्रकृतिको सुन्दरतामा हराउनु छ भने मनसुनमा हाइकिङ नछुटाउनुस् है ।





