हाम्रो गाउँमा जुठे नाम गरेका व्यक्ति ७ जना छन् । परियार समुदाय भएको ठाउँमा सके त १०÷१५ जना जतिको नाम जुठे छ होला नत्र पनि २÷४ जनाको नाम जुठे छ । त्यो म आँखा चिम्म गरेर भन्न सक्छु । जुठेको अर्थ हुन्छ जुठो अर्थात् फालिएको । हाम्रो धार्मिक मान्यता र सँस्कृतिसंगै झांङ्गिएको जात व्यवस्थामा कथित सानो जात बनाइएका व्यक्तिले नामसम्म पनि राम्रो राख्न नपाइने अवस्था थियो । अहिले त नाम राख्न कसैलाई कसैले रोकतोक लगाउदैनन् तर पहिला राम, शिव, गणेश, लक्ष्मी, पार्वती जस्ता हिन्दु धर्मका देवी देवतामा नाम र बहादुरी जनाउने शब्द र राम्रा नाम दलितलाई लेख्न दिइदैनथ्यो । हालसालै पनि एकजना प्रशासनका अधिकारीले ढोरपाटन नगरपालिका बोबाङका कामी समुदायका दम्पतीलाई कुकुर कामी र कुकुर्नी कमिनी भनेर नागरिकता दिएर माथी उल्लेखित तितो सत्यलाई पुष्टि गरे । त्यी अधिकारीले कसरी दिन सके होलान् मान्छेलाई कुकुरको नाममा नागरिकता ! मान्छेको नाम कुकुर र कुकुर्नी राखेर नागरिकता दिने अधिकारी कथित खस समाजका पढेका युवा नै थिए ।
उनको चेतनाले मान्छेको नाम कुकुर बनाइदिन कसरी सके हाम्रो सोच र मान्यता केही समुह र जातप्रति किन कुरुप र घृणित बन्दै गयो ? किन हाम्रो समाजमा आज पनि जातिय उचनिचको मान्यताको सँस्कार र विकार गहिरो गरि गडेर बसेको छ ? यसको जरो के हो भनेर खोतल्नु आवश्यक छ ।
यो आलेखको मुख्य उद्देश्य पढेलेखेका कथित उच्च जातका युवा र शिक्षित समुह पनि किन कुप्रथा र घिनलाग्दो जातव्यवस्थाको पक्षमा उभिएका छन् ? सचेत युवाहरुलाई सबैखाले विभेदविरुद्व लाग्न समयसंगै सबै कुरा आफै हराएर जान्छ भन्नेहरु विभेदको पुस्तान्तरण गर्न कसरी टेवा दिएका छन् र विभेदको अन्त्यका लागि सचेत युवाको गलत भुमिकाले कस्तो असर गरेको छ र भविष्यमा यसको असर के रहन्छ भन्ने हो ।
कतिपय मान्छेहरु ठुलो भ्रममा छन् कि समयसंगै सबै कुुरा आफै नाँसिएर जान्छ । सबै आफै ठिक हुन्छ । समय बलवान छ, परिवर्तित पनि तर मान्छे प्रयास र जोडबल नगरे केही हुन्न । आफुले प्रयास नगर्ने तर सबैकुरा समयको जिम्मा लगाएर पन्छिनु सबैभन्दा घातक कुरा हुन्छ ।
‘तोरीमा तिलमा तेल छ आफै कहाँ झर्छ र ?
पेल्नै पर्छ मुखमा आई के नै पर्छ’ तेल निकाल्न तोरी पेल्नै पर्छ । चलिआएका मान्यता र गलत सँस्कार तोड्न फरक ढंगले गहिरिएर सोच्नै पर्छ । यस्तो ब्यवस्था उखेल्न तयार हुनैपर्छ ।
हामी मुख्य त राणाकालिन, राजाकालिन र कथित ब्राम्हणवादी चिन्तन र सिन्धुनदिबाट उग्रिएको हिन्दु विचारधाराबाट अभिप्रेरित छौ ।
नेपाल समाज हिजोदेखि हिन्दु धर्मको मुल मर्म भाग्यवाद र चाकडीवादको खाडलमा जाकिएको हो । आज हामीले पढेका छौ । विश्व भुराजनिति बुझेका छौं । विश्वमा विज्ञान, प्रविधी र विकासको प्रतिफल प्रयोग गरेका छौ तर हाम्रो मानसिकतामा गाँडिएको विभेदको किलो उखेलिन किन सकिएन ? यसका केहि कारण छन् ।
१. जात व्यवस्थामा आधारित शासन र शासकको माथिल्लो तहमा परेका अर्थात् शासक पक्षमा गनिने जातलाई यो व्यवस्थामा लुटै लुट छ, मालामाल छ । आफु सधै पवित्र र उच्च कोटिमा गनिन पाउने । अरुलाई दबाइ राख्न पाइन्छ । यहि व्यवस्थामा सबै गर्न छुट उनस्हरुलाई हुन्छ । रोजगारी र हरेक फाइदामा उनीहरुलाई सहजता हुने नै भो । आफ्ना आफन्त र नजिकका व्यक्तिसंगको भनसुनकै आधारमा जागिर पाइने भएपछि राम्रो कार्यसम्पादन नगरेपनि कारबाहस् भोग्नुपर्ने वा जागिरबाट निस्कनुपर्ने कुनै डर हुँदैन । चाकडी गरेर र नाताबादको मान्यताले पाएको जागिर फ्रिमा परेको लोट्री जस्तो हो जागिर गर्ने व्यक्ति ठग नै हुन्छ । यस्ता धेरै व्यक्ति सरकारी जागिरे हुन्छन् र देशको प्रशासनिक क्षेत्र सधै अधोगति हुन्छ । हाम्रो देशको अवस्था त्यस्तै छैन त ? कारण यहि हो ।
२. भर्खर खाएका व्यक्ति र भोकै भएका दुई व्यक्तिमा खाना खाने त ? भनेर सोध्दा भोकाएकाले खाउ भन्छ तर भर्खरै भुँडी भरेकोले हैन नखाऔ पछि खाउला भन्छ । यो कुरालाई विभेदसंग जोड्दा मेल खान्छ । जात व्यवस्थाबाट मालामाल भएका उच्च जातका व्यक्ति यहि व्यवस्था टिकाउन र यो व्यवस्थाले सधै थिचोमिचोमा परेका व्यक्ति, भोकै भएका व्यक्ति, दास बनाइएका समुह स्वभाविक रुपमा यो व्यवस्था फ्याक्न चाहन्छ ।
३. जात व्यवस्थाले साँस्कृतिक र धार्मिक रुपमा कसैलाई पवित्र र कसैलाई पापी ठान्छ र त्यहि अनुरुप व्यवहार गर्छ । जब भारतको गंगा मैदानबाट मुसलवानी आक्रमणबाट बच्न भागेर नेपाल प्रवेश गरेका ब्राम्हणहरु आफ्नो धर्म र सँस्कृति समेत ल्याएर आए । यहाँका बौद्व, पन्थ, धामी र प्रकृतिपुजक जनजातिलाई समेत आफ्नो काबुमा राखी हिन्दु धर्मलाई उठाउन सफल भए । पुराण, वेदहरु पाठ गर्दा निकै बुद्विजीवि र पवित्र ठहरिने एउटा मान्यता स्थापित भयो । ब्राम्हण विद्वान र यहि झुण्डका व्यक्तिले लेखेको इतिहास र मान्यताले नेपालका वास्तविक श्रमजीवि, समाज सञ्चालन गर्ने कर्मीमौरीहरूप्रति गलत व्यवहार स्थापित गरियो । उनीहरुप्रति शाषन गर्ने र उनीहरुमा समेत शासकले लाँदीदिएका श्रेणीगत तह र व्यवहार र भाग्यवादको पहाडले थिच्यो ।
राजनीति, शासन र प्राकृतिक स्रोत जति एउटा समुहले ओगट्यो अर्थात् कथित ब्राह्मण, क्षेत्री र नेवारका श्रेष्ठले ओगटे । आफ्नै पुर्नजन्मको कारण आफु तल्लो जात भएको, आफ्नो कर्मका कारणले अछुत भएको भन्ने मनगणन्ते र हास्यास्पद कुरालाई स्थापित गर्दै लगियो । ज्ञान, शिक्षाबाट बन्चित, धर्म र धार्मिक ज्ञान लिने सुन्ने अवसर नै दिइएन । राजनीति र रोजगारी लिने अवसरै दिईएन । तहगत जातव्यवस्था नमाने कारबाही भोगिने डरले उनीहरुमा समेत यो व्यवस्था मान्नुपर्ने अवस्था आयो ।
४. प्रशासन, धार्मिक रुपमा हुने फाइदा, सैन्यशक्ति जस्ता मुख्य अंगमा बाउन क्षेत्रीले हालीमुहाली गर्ने त्यहाँबाट आउने प्रतिफल पनि उनीहरू कै हुने भएपछि निरीह बनेको कथित अछुत समुह उनीहरुको दास बन्नुको विकल्प भएन । सम्पत्ति आर्जन गर्ने, स्वास्नी राख्ने र आफ्नो जिउधनमाथि पनि अधिकार समेत नपाएपछि यहाभन्दा ठुलो अन्याय के हुन्छ ? अब उनीहरुको अवस्था कस्तो हुने त ? यसै भन्न सकिदैन र ?
५. राम्रो भनेको उच्च जात र नराम्रो खराब भनेको कथित तल्लो जात भन्ने मान्यता यहि गहिरोसम्म स्थापित भयो कि जसको कारण उनीहरुलाई मानसिक रुपमै कमजोर आत्मग्लानी भएर बाँच्ने अवस्था भयो । जात व्यवस्थामा आधारित सौन्दर्य दृष्टिले राम्रो कामी पनि बाहुन जस्तो र नराम्रो बाउन पनि कामि जस्तो भनेर होच्याउने, हेला गर्ने मान्यता आजसम्म स्थापित छ ।
बद्लिएको विभेदको स्वरुप
मानव जीवनको विकास र रुपान्तरण भएको छ । हिजो संगै बस्दा छिटो हाल्ने, दलितसंग छोएपछि जिब्रो डाम्ने अवस्था त अहिले छैन । तर घोरिएर कसैलाई गलत नजरले हेरे कानुन लाग्ने यो समयमन पनि मान्छेले मान्छेलाई अझै छुन नहुने, छुवाछुत गर्ने, हरेक क्षेत्रमा जात व्यवस्थाकै मान्यता र मनस्थिति कायम रहनु निकै लजास्पद कुरा हो ।
केही दिनअघि सचेत तथा शिक्षित सञ्चारकर्मी रुपा सुनारलाई श्रेष्ठ थरकी महिलाले जात कै कारण कोठा नदिएको बिषय, विभेद गर्ने महिलालाई उनकै जातका मन्त्रीले आफ्नै गाडीमा झण्डा हल्लाउदै छुटाएर लाने लगायतका आँखा विझाउने दृश्य देखियो । यो घटनामा नेपाल दुई समुहमा विभाजित भयो । एउटा सचेत र प्रगतिशिल समुह जातिय विभेदको विरुद्वमा अनि अर्काे समुह विभेदको पक्षमा ।
जब उत्पीडित दलित समुदायले आफु विभेदमा परेकोप्रति आवाज उठाउँछन् कथित उच्च जात भनिएका समुह फरक ढंगले उनीहरुको आवाज दबाउन खोज्छन् । अहिले पनि त्यहि भयो । जबसम्म दलितलाई कोटा दिइन्छ तबसम्म कोठा दिइन्न । सदियौदेखि दलनमा परेको एउटा समुह ठुलो त्याग, बलिदान र संघर्षबाट फाट्टफुट्ट राज्यका निकायमा खुट्टा टेकेका छन् । राजनीति र अन्य ठाउँमा प्रवेश हुन सुरु गरेका छन्, त्यो कुरा उनीहरुलाई पटम्कै मन परेको छैन जसले ३ हजार बर्षदेखि यो देशको ह्याकुला चपाएको छ ।
जसलाई यो राज्यको जागिर र फाइदा आफ्नो जात र नजिककाले बाहेक अरुले खानुहुन्न भन्ने मान्यता राख्छ । यहि संकुचित र हास्यास्पद तर्क अघि सारेर बुद्विमा बिर्काे लागेकाले त हँसाए हँसाए पढेका, डिग्री गरेकाले पनि यहि कुरालाई जोडतोडले उठाएपछि उनीहरुको डिग्री र पिएचडीलाई समेत जातव्यवस्थाले कसरी भुमरी खेलाएको रहेछ भन्ने प्रस्ट हुन्छ ।
‘बिरालोले श्राद्द गर्दा छोइदेला भन्ने मान्यता राख्ने बाउले बिरालो बानेको देखेको बच्चाले डिग्री र डाक्टरी फूली पाएपछि पनि बिरालो बाँध्नुको कारण नबुझी घरमा नभएपनि गाउँमा खोजेर भएपनि बिरालो बाँधेर बाउको श्राद्द गर्ने घटना यसको एउटा दरिलो उदाहरण हो ।
यो देशको ९० प्रतिशत कोटा कथित उच्च र पवित्र क्षेत्रीले भाग्यवाद, नातावाद र चाप्लुसेवादले २०० बर्षदेखि ओगटेका छन् । त्यतिमात्र होइन उनीहरुले नै शाषित यो देश विश्वको सबैभन्दा गरिव र निरीह, भ्रष्ट पनि त उनीहरु कै कारणले बनेको होइन र ? यसको जिम्मा लिने कि नलिने ?
कानुन, संविधानले अहिले विभेदलाई अपराध मान्छ । कानुन निर्माण गर्नेदेखि लागु गर्ने ठाउँमा पनि जात व्यवस्था मान्नेहरु हुँदा विभेदको अपराध गर्नेलाई कारबाही हुन्न । बरु उनीहरुले विभेदमा पर्नेलाई हप्काएर विषय अन्त मोड्ने गरेको पाइन्छ । अहिले सिधै नभने पनि आधुनिक र फरक शैलीले विभेद गर्ने, संरक्षण गर्ने गरिएको छ । जातियता आधारमा कोटा दिने भने उफ्रनेहरुलाई यो लाग्दैन कि आज पनि एउटा दलितले दुध बेच्न पाउने अवस्था छैन, होटल खोलेर खाने अवस्था छैन र त्यो अवस्था यहिं जात व्यवस्थाले निम्त्याएको भन्ने । सचेत धेरै तप्का यो व्यवस्था फाल्न तयार भएपनि अधिकांस कथित उच्च जातका व्यक्तिलाई यो व्यवस्था टिकाएरै अघि बढ्नु पढाउने जोडबल छ । दलित गैर केटाकेटीले प्रेम गर्न मनाही छ, विवाह गरे बालबिबाह मुद्दा, बलात्कार मुद्दा लगाउने मात्र होइन, धेरैको ज्यान नै लिने गरेका छन् । जसको एउटा तस्विर रुकुम काण्ड नै काफी छ ।
राजनीति, प्रशासनिक र निजी तथा सामाजिक संघसंस्थामा अझै पनि सहभागि बनाउने, अघि बढाउने कुरामा धेरैतिर अवरोध गरिन्छ । सार्वजनिक र निजी ठाउँमा पनि दिनहुँ विभेद अपमान भईरहेको छ । त्यसैले यो कुहेको व्यवस्था फाल्न सबैभन्दा बढि सचेत गैरदलित र त्यसमा पनि सचेत युवाले पहल गर्नैपर्छ । दुईदिन कोरोनाका कारण समुदाय, परिवारबाट पर बस्दा कति पिडा भयो, सदियौदेखि अन्धविश्वासका कारण हाम्रै होनाहार श्रमजीवी र समाजका खम्बाहरुलाई गरेको विभेदलाई अझै पनि मनन् नगर्ने ?
जात व्यवस्थामा कोही सधै प्रहार गर्ने खुकुरी र कोही सधै पिडा सहने अचानो बनिरहने कहिलेसम्म । यो कुहेको व्यवस्था फाल्न अब ढिला भयो । यहि कारण हाम्रो शिर निहुँरियो र समाज पछाडि धकेलियो । अब त अन्धबिश्वासको चिरनिद्राबाट ब्युझ ।





