
तनहुँ, ७ साउन– मंगलबार दिउँसो १ बजेतिर विरामी बोकेर एउटा एम्बुलेन्स पोखरातर्फ हुइँकिदै थियो । विरामीलाई चाँडो भन्दा चाँडो अस्पताल पु¥याउन तीव्र गतिमा हुइँकिएको म्याग्दे गाउँपालिकाको एम्बुलेन्स शुक्लागण्डकी नगरपालिका २ हलेदीस्थित पृथ्वी राजमार्गमै फस्यो । जलमग्न सडक, कालोपत्रे उप्किएर बनेको खाडल छल्न खोज्दा खोज्दै एम्बुलेन्स नालाको नजिक फसेको थियो ।
‘सडकमा जाम थियो । कुनापट्टीबाट जाम छलेर जान खोज्दा झनै फस्यो,’ एम्बुलेन्स चालक टेकनारायण श्रेष्ठले सुनाए । निकाल्न खोज्दा चालकको केही सिप नलाएर रोकिएको एम्बुलेन्स भित्र छट्पटाईरहेका बिरामीले भन्दै थिए, ‘मेरो जिन्दगी यही जाला जस्तो छ ।’ करिब १५ मिनेट रोकिएको एम्बुलेन्सलाई जेसिबी लगाएर निकालियो । नालीमा पसेको एम्बुलेन्स ननिकाल्दै त्यहींनेर भ्यानबीच बाटोमै फस्यो । यस्तो क्रम यहाँ चलिरहन्छ ।
कहिले बाइक पल्टन्छ । कहिले कार रोकिन्छ । कहिले स्थनीयले त कहिले यात्रुले नै धकलेर निकाल्छन् फसेका सवारी । दैनिक हजारौं गाडी गुड्ने राजमार्ग समयमै मर्मत हुनुपर्ने एम्बुलेन्स चालक श्रेष्ठ बताउँछन् । ‘यस्तो सडकमा एम्बुलेन्स गुडाउँदा विरामीलाई समयमै अस्पताल पु¥याउन सकिदैन्’, उनी भन्छन्, ‘गाडी पार्टपुर्जा पनि चाँडै बिग्रन्छ ।’
दुई पांग्रे देखी ठुला मालवाहक सवारीले बडो कष्टकरपुर्ण तरिकाले यो सडक पार गर्नु परेको छ । कष्टकरपुर्ण यात्रा गर्नुपर्दा धेरैले भन्छन्, ‘छ्या यस्तो पनि राजमार्ग हुन्छ र ? नेता मन्त्री कोही पनि यो बाटो हिँड्दैनन् कि क्या हो !’
संघिय राजधानी काठमाडौं र गण्डकी प्रदेश राजधानी पोखरा जोड्ने एक मात्र सडक हो पृथ्वी राजमार्ग । देशका धेरै भु–भागबाट पोखरा आउजाउ गर्न यही राजमार्ग प्रयोग हुन्छ । गण्डकी प्रदेशवासीको लाइफलाईनको रुपमा रहेको पृथ्वी राजमार्गको तनहुँ हलेदी–कोत्रे सडक खण्डको अवस्था कन्तविजोग छ । राजमार्गमा पासो थाप्ने खाडल छन् । त्यही खाडलमा पानी जमेर जलमग्न बन्छ । दैनिक हजारौँ सवारी गुड्ने देशकै एक प्रमुख राजमार्गको यात्रा हिउँद बर्खा सधैं कष्टकर बन्छ । बर्खामा खाडलमा पानी जमेर धान रोप्न मिल्ने जस्तो देखिन्छ ।
भत्किएको सडक बेलामै मर्मत नहुदाँ दुर्घटना बढेको स्थानीय सुरेन्द« तामाङ बताउँछन् । सडक मर्मतमा कसैको ध्यान नजाने उनको भनाइ छ । ‘सडक मर्मतका लागी सडक डिभिजन कार्यालय पुग्दा ४ लेनको बनाउन ठेक्का लाग्यो भन्छन्, ‘भत्किएपछि बेलामै बनाउन न स्थानीय सरकारको ध्यान जान्छ । न प्रदेश र संघको,’ उनले भने ।
विगतका बर्षमा सडक मर्मत गर्दा समेत बर्ष दिन पनि नटिक्ने समस्या रहेको तामाङले बताए । सडकमा दोहोरा नालाको आवश्यकता रहेको उनको भनाई छ । ‘दोहोरो नाला छैन् । मास्तिरबाट आएको पानीको निकास नभएर सडक जलमग्न हुन्छ र भत्कन थाल्छ । दुईतर्फी नाला बनाएर पानीको निकास भए यस्तो समस्या हुदैन्थ्यो’, उनले भने । यस ठाउँको भौगलिकतालाई ध्यान दिएर पानी नजम्नेगरी सडक अग्लो बनाउन उनको सुझाव छ ।
मंगलबारदेखि सडक मर्मत थालेको सडक डिभिजन कार्यालय तनहुँले जानकारी दिएको छ । ‘यातायात सञ्चालनमा सहज बनाउन स्थानीय म्याट्रियलले खाल्डो पुर्दैछौं। अस्थायी समाधान हुनेछ । बर्खाको बेला कालोपत्रे गर्ने सम्भावना हुदैन्’, कार्यालय प्रमुख अमितकुमार श्रेष्ठले भने ।
सडक ४ लेनको बनेपछि स्थायी समाधान हुने उनले जनाए । ४ लेनको सडक बनाउन सम्झौता भएर अबको १५ दिनभित्र काम सुरु हुने उनको भनाइ छ । उनी भन्छन्, ‘४ लेनको सडक बन्दा नयाँ संरचना बन्छ । स्थायी समाधान हुन्छ । ठेक्का लागिसक्यो । तत्कालै मर्मत बाहेक नयाँ काम गराउन पनि अफ्ठ्यारो भएको छ ।’
पानीको निकास हुन नपाउदा हलेदी–कोत्रे सडक बिग्रेको श्रेष्ठले बताए । नाली र कल्भर्ट पुरिएर सडक जलमग्न हुदाँ यो सडकखण्ड चाँडै भत्कने समस्या रहेको उनले जानकारी दिए ।





