मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आन्तरिक कलह साम्य पार्न लागौं

आन्तरिक कलह साम्य पार्न लागौं


  • दुर्गा भण्डारी
  • साउन ७ २०७८, बिहिबार

मुलुक अहिले महामारीको चपेटामा छ । महामारीका बीच नेपालमा ठूला–ठूला राजनीतिक घटनाहरु घटित भएका छन् । विकसित घटनाक्रमले विगतको सर्वाधिक लोकप्रिय पार्टी नेकपा एमाले अहिले ओरोलो लागेको मृगजस्तै भएको छ । भनिन्छ ‘ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ’ अहिले एमालेलाई हैसियत नै नभएकाहरुले पनि खेदिरहेका छन् । नेकपा एमाले अहिले रक्षात्मक अवस्थामा छ । एमालेमाथि आफ्नै पार्टी भित्र र बाहिरबाट प्रहार सुरु भएको छ । घर भित्रको झगडा अन्तर्राष्ट्रियकरण भएको छ । ‘भाई फुटे गवार लुटे’ भने झैं एमाले भित्रको आन्तरिक कलहले गर्दा तेस्रो पक्षले फाइदा उठाइरहेको छ । एमालेको इतिहासमा पहिलो पटक पार्टी तहसनहस हुन पुगेको छ । एमाले यो अवस्थामा पुग्नुको भनेको मुलुक र जनताको लागि पनि नोक्सान हो । व्यवस्थित र अनुशाशित पार्टी कार्यकर्ता भएको नेकपा एमाले यो हालतमा पुग्नुको मुख्य कारण सत्ताको लागि आन्तरिक र बाह्य चलखेल नै हो । एमालेभित्र तहस नहस र कलहको सुरुवात बिन्दु नै माओवादीसँगको गठबन्धन बन्नपुग्यो । सो गठबन्धनबाट एमालेको नेतृत्वमा सरकार बने पनि अन्ततोगत्वा अहिले छरपस्ट हुन पुगेको छ । एमालेमा माओवादी भित्रिएपछि नेकपाभित्र अनुशासन हराउँदै गयो । स्वयं एमालेकै कार्यकर्ता पनि नेतृत्वविरुद्ध तल्लोस्तरमा उत्रिने गरेको पाइयो । राम्रो उदेश्यले होस् वा विभिन्न स्वार्थवश होस् एमाले माओवादी गठबन्धनको सत्ता साजेदारीभित्र धेरै असतुष्टिहरु देखा प¥यो । सत्ताका आकांक्षीहरु धेरै भए भाग भने थरै । सबैलाई भाग पु¥याउन सक्ने अवस्था रहेन । ठूलादेखि साना (जुनियर) सम्मको महत्वाकांक्षा बढ्दै गयो । जसको चरम विकृत रुप अहिले उजागर भएको छ । नेपालको बिडम्बना नै भन्नुपर्छ, विगतदेखि नै कुनै पनि पार्टीले पूरा कार्यकाल चलाएको इतिहास छैन । केपी ओली नेतृत्वको सरकारले नेपालको गुमेको भूभाग नक्सामा समेट्न र भारतसँगको कायम रहेको पारवहनको एकाधिकार तोड्न पनि सफल भयो । केपी ओली नेतृत्वको सरकारले नेपालको चुच्चे नक्सा जारी गर्ने, सडक, पुल, खानेपानी, पानी जहाज रेल सुरुङमार्ग, द्रुतमार्ग, एयरपोर्टलगायतका विकास आक्रामक ढंगबाट गरिरहेको थियो । केपी ओलीको राष्ट्रियता र विकासको भावनाविरुद्ध सरकार गिराउने षड्यन्त्र बढ्दै गयो । एमाले अध्यक्ष केपी ओली एकातिर अरु सबै गठबन्धन एकातिर भए । सरकार र सत्ताको कलह जे भए पनि एमालेभित्रको कलह मिलाउन सक्नुपथ्र्याे । यही तरल अवस्थाको फाइदा विभिन्न स्वार्थ समूहहरुले उठाइरहेका छन् । दुःखको कुरा त के भने एउटै पार्टीमा बसेर माधव नेपालले एमालेको सरकार ढालेर विपक्षी पार्टीको सर्मथन गरेका छन् । जुन कुरा कुनै पनि पाटी भित्र पाच्य हुन सक्दैन ।
एमालेको एकता भन्दा कांग्रेस सभापति देउवाको सरकार टिकाउनका लागि प्राथमिकतामा पार्ने नेता नेपाल एकातिर एकता भन्दै सर्तहरु राख्दै जाने र अर्कोतर्फ देउवालाई सत्तामा पु¥याउने प्रवृत्तिले गर्दा पार्टीभित्र धमिरा लागेको हो । माधव समूहकाहरूको दोहोरो चाल देखिएको छ । विगत देखिको नजिर नेतृत्वबीच उत्पन्न संकटले पार्टी जीवनलाई अर्को मोडतर्फ लैजाने संकेत देखापर्दा पनि दोस्रो तहका नेताहरूले परिणामुखी काम गर्न सकेनन् । माधव नेपाल पक्षको २३ मतको बलले देउवा सर्वोच्च अदालतको परमादेशबाट ठाडै प्रधानमन्त्री बने । त्यपछि एमालेभित्रको परिस्थिति झनै गम्भीर बनेको छ । बिपक्षीको लागि मतदान गर्ने नेपाल समूह र ओली समूहकै सांसदहरुलाई एमालेले अनुशासनको कारवाही नगरी हुँदैन ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको आधारभूत मान्यतालाई अतिक्रमण गरेको छ । यति हँुदा पनि नेपाल पक्षका सांसदहरू देउवालाई विश्वासको मत दिएर र सरकारमा सहभागी हुन ठिक्क परेका छन् । सर्वोच्च अदालतको परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल धेरै हतारिएका थिए । आफ्नै पार्टीको सरकारलाई ढालेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता नेपाल नै हुन् । ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धा गरेर नेतृत्व हात पारे । भारतद्वारा गरिएको नाकाबन्दीको प्रतिकारको नेतृत्व गरेका कारण ओलीको उचाइ बढ्दै गयो । ओलीको नेतृवमा एमाले एक्लै निर्वाचनमा जाँदा स्थानीय चुनावमा पहिलो पार्टी बन्यो । २०७४ को आम निर्वाचनमा ओलीकै नेतृत्वमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर नेपालमा कम्युनिष्ट शक्ति झण्डै दुईतिहाइ नजिक पुग्यो। २०७४ फागुन ३ मा ओली नेतृत्वमा २ तिहाइ नजिकको सरकार बन्यो । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकीकरण गरी नेकपा बन्यो ।
केपी ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण पछि नेपाल र दाहालबीच हदै सम्मको षडयन्त्र गर्न थाले । नेकपाभित्रै ओलीविरुद्ध नेपाल, दाहालसहितको गठबन्धन बन्यो। लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक भएर देशभर खुसीयाली भइरहदा दाहाल–नेपाल गठबन्धनले केपी ओलीको राजीनामा मागेका थिए । यो हर्कतले नेपालसँगको तिक्तता बढ्नु स्वभाविक नै हो । त्यसपछि पुनः नेकपा जिवित हुदा केपी ओलीविरुद्ध १९ बुँद्धे आरोपपत्र दाहालले ल्याएका थिए । त्यसमा आफ्नो पनि समर्थन भएको भन्दै ओलीविरुद्ध नेपाल पनि लागेका थिए । २०७७ पुस ४ मा केपी ओली सरकारविरुद्ध दाहाल–नेपाल गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी ग¥यो। त्यो थाहा पाएर ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरे । पहिलो पटकको विघटनपछि ओली र नेपालबीचको तिक्तता सडकसम्म पुग्यो । संसद विघटन भए पछि नेपाल–दाहाल समह बनाएर प्रतिगमन भन्दै केपी ओलीको विरुद्ध सडक उत्रिएका थिए । देशव्यापी प्रदर्शन गरेर उनीहरूले सडकबाटै ४ पटक केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । सडकबाटै माधव नेपाललाई पार्टीको अध्यक्ष घोषणा गरेका थिए । दुबै नेताहरु एकअर्का विरुद्ध तुच्छस्तरका गालीगलौजमा उत्रिएका छन् । यस्तो स्वभावले नेतृत्वको गरिमा मर्यादा घटेको छ । लामो समयदेखि माधव नेपाल पक्षले एमाले भित्र समान्तर गतिविधि गरिरहेको छ । नेपाल निरन्तर विपक्षी गठबन्धनसँग मिलेर केपी ओलीलाई सत्ताच्युत गर्न लागिरहेका थिए । सरर्वोच्चको परमादेशपछि उनको चाहना पूरा भएको छ । नेपालले विपक्षी गठबन्धनसँग मिलेर ओली नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिइरहेका थिए । दोस्रो तहको नेताको प्रयासमा एकताको कार्यदल बनेर काम अघि बढाउँदा पनि दुई नेताहरूबीचको सम्बन्धमा सौहार्दता कायम भएन । पुनःस्र्थापना र देउवा प्रधानमन्त्री बनाउन दिएको परमादेशको नेपालले स्वागत मात्रै गरेनन्, आफ्नै निवास नजिक विपक्षी गठबन्धनको बैठक पनि बोलाए । माधव नेपालको एक मात्र उदेश्य केपी ओलीलाई सत्ताच्युत गर्ने थियो त्यो पूरा भएको छ । एमालेविरुद्ध पार्टीभित्रै बसेर प्वाल पार्न खोज्ने नेतृत्वलाई अपदस्त गर्ने नेपालको शैलीलाई एमालेले कहिल्यै क्षमा गर्ने छैन ।
अझै पनि पार्टीलाई सैद्धान्तिक, वैचारिक, व्यवहारीक रुपमा मजबुत र अनुशासित बनाउन ढिला भएको छैन । विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर सत्तामा पुग्नु मात्रै ठूलो होइन । एमालेको क्रेज जनता माझ अझै बाँकी छ । आन्तरिक कलहमा फसेको एमालेलाई मिलाउन नेताहरुले ठूलो छाती देखाउनै पर्छ । अहिलेको अवस्था हेर्दा एमाले सग्लै मिलाउन सक्ने अवस्थामा नभएको देखिन्छ । क्षति न्यूनिकरण गरेर जोगाउनु पर्छ । मूलधारको एमालेले अब नयाँ सिराबाट पार्टीको सुदृढीकरण गर्न सकेमा मात्रै अस्तित्व जोगाउन सक्छ । त्यसका लागि पार्टी भित्र अनुशासन कायम गर्दै बिना पूर्वाग्रह, सबै कार्यकर्तालाई स्थान दिनु पर्छ । नेतृत्वको वरीपरी बसेर उत्तेजित बन्न उक्साउने अवसरवादी समूहलाई मूलधारको एमाले नेतृत्वले चिन्न सक्नुपर्छ । आफ्नै नजिकैको बनेर पार्टी र नेतालाई सिध्याउने प्रवृत्तिलाई टाढाबाटै टाटा बाई बाई गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->