काठमाण्डौ, १० साउन– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् ।
यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो । शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो । शपथ समारोह राष्ट्रपति कार्यालयमै हुँदा पनि राज्यमन्त्रीलाई शपथ भने प्रधानमन्त्रीले नै गराउने प्रचलन थियो । तर कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नु नपर्ने भनी उल्लेख गरेको थियो । यसअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए ।
सपथ ग्रहण कार्यक्रममा मन्त्रीहरुसमेतको उपस्थिति थियो । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले श्रेष्ठलाई आजै राज्यमन्त्रीमा नियुक्त गरेकी छिन् ।





